राजनीतिक स्थायित्वका लागि ठूला दल मिल्यौँ : महासचिव पोख्रेल



शिवु खनाल । दाङ ।

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले मुख्य दुई दल मिलेर सरकार बनाएपछि केही दलहरूले सरकारलाई घेराबन्दी गर्ने प्रयास गरिरहेको बताएका छन् । दाङको लमहीमा नेकपा एमालेको लमही नगर अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले आफू सरकारमा हुँदा मनपरी गरेकाहरूले अहिले सरकार बाहिर भएपछि सरकारको विरोध गर्ने र अराजकता सिर्जना गर्ने काम गरिरहेको आरोप लगाए ।

‘हामी ठूला दलहरू मिलेपछि जनतामा देखिएको निराशा र कुण्ठा अन्त्य भएको छ, अर्थतन्त्रमा सकारात्मक परिवर्तन देखिन थालेका छन् । यस्तो बेला केहीले मन पराएका छैनन्,’ महासचिव पोखरेलले भने ।

पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्रीसमेत रहेका एमाले महासचिव पोख्रेलले राजनीतिक अस्थिरता अन्त्य गर्न आवश्यकताअनुसार संविधान संशोधन गर्ने योजनाका साथ ठूला दलहरू मिलेर सरकार बनाएको प्रस्ट पारे । आफूहरू मिल्नुको अर्थ मुलुकको उज्यालो यात्राका लागि रहेको उनको भनाइ थियो ।

‘यो मलुकमा नीतिको बहस आवश्यक छ,’ उनले भने, ‘संविधानसभाबाट संविधान जारी भएपछि नेपालको राजनीतिमा नीतिको बहस हुनै छोड्यो ।’ पछिल्लो समय स्वार्थमा आधारित क्रियाकलापहरू अगाडि बढ्न थालेको उनको भनाइ छ । कुनै पनि देशको विकासमा नीतिगत नेतृत्वको आवश्यकता पर्ने उनले बताए ।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विश्वले मानेको दाबी गर्दै पोख्रेलले नेपालमा वर्तमान प्रधानमन्त्रीको आलोचना गर्दा नाम कमाउन सकिन्छ भन्ने धारणाको विकास भएको बताए । ‘हाम्रा अध्यक्ष प्रधानमन्त्रीलाई विश्वका ठूला—ठूला विश्वविद्यालयले छलफल र अन्तक्र्रिया गर्न खोजिरहेका छन्, विश्वले मानेको छ,’ महासचिव पोखरेलले भने, ‘तर हाम्रो नेपालमा भर्खरै राजनीति सिक्न थालेकाहरूले आफूले चर्चा कमाउनका लागि विरोध गर्ने गलत परम्परा चलेको छ ।’

अबको चुनौती भनेको राजनीतिक अराजकताको चुनौती रहेको भन्दै महासचिव पोखरेलले छिमेकी मुलुकबाट राजनीतिक परिवर्तन र स्थायित्व र विकासको नमुना अभ्यास सिकेर लाग्नुपर्ने तर्क गरे ।

महासचिव पोख्रेलले नेता कार्यकर्तालाई गत स्थानिय तहको निर्वाचनमा दाङको लमही नगरपालिकामा शुन्य अवस्थामा रहनु लज्जाको विषय भएकाले आगामी निर्वाचनमा प्रभावसाली नतिजा ल्याउनेगरी काममा खट्न निर्देशन दिए ।

प्रकाशित मिति : २०८१ असोज ८ गते मंगलबार