काठमाडौँ ।
हितेन्द्रदेव शाक्यले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेको एक सय दिन पूरा भएको छ । उनले मंगलबार पत्रकार सम्मेलन गरेर १०० दिनमा गरेका गतिविधिहरू सार्वजनिक गरेका छन् । शाक्यले प्राधिकरणको वर्तमान अवस्था र भविष्यको मार्गचित देखाउने श्वेतपत्र जारी गरेको बताए ।
उक्त श्वेतपत्रमा मुख्य गरी ऊर्जा सुरक्षा, विश्वसनीय विद्युत, नवीनतम उपायहरूबाट वित्तीय व्यवस्थापन, विश्वसनीय र पारदर्शी तथ्याक र मानवस्रोत व्यवस्थापनलाई प्राथमिकतामा राखेको बताए । ऊर्जा सुरक्षाका लागि कुलेखानी सिस्नेरी १०० मेगावाट पम्प स्टोरेज आयोजनाको पूर्वसम्भाव्यता अध्ययन सकेर सम्भाव्यता लाइसेन्स आवेदन गरिएको बताए ।
त्यस्तैगरी, हुलिङटार–दुम्किम ४९४ मेगावाट पम्प स्टोरेज आयोजनाको पूर्वसम्भाव्यता अध्ययन सकेर सम्भाव्यता अध्ययनका लागि लाइसेन्स आवेदन गरिएको बताए । ब्याट्री इनर्जी स्टोरेज सिस्टम अध्ययन तथा निर्माण सहयोगका लागि पहल सुरू गरिएको पनि उनले सय दिने उपलब्धि उल्लेख गरेका छन् ।
त्यस्तै उत्तरगंगा जलविद्युत् आयोजना र अपर अरूण जलविद्युत् आयोजनाको लाइसेन्स प्रक्रिया अगाडि बढाइएको कार्यकारी निर्देशक शाक्यले बताए । औद्योगिक क्षेत्रमा विद्युत् खपत वृद्धि र विश्वासको वातावरण सिर्जना गरिएको उनको दाबी छ । ‘उच्चतम विद्युत् खपत र नियमित महसुल भुक्तानीका आधारमा केन्द्रियस्तरमा १० सर्वाधिक महत्वपूर्ण उपभोक्ता र प्रादेशिक स्तरमा प्रत्येक प्रदेशका १० अत्यन्त महत्वपूर्ण उपभोक्ताको नामावली सार्वजनिक गरी कोशी तथा मधेश प्रदेशका त्यस्ता ग्राहकहरूलाई सम्मान गरिएको छ,’ उनले भने ।
डेडिकेटेड र ट्रंक लाइन विद्युत् महसुलसम्बन्धी विवाद लामो समयको अन्यौल पछि समाधानको बाटोमा रहेको उनले बताए । त्यसका लागि सञ्चालक समितिबाट पुनरावलोकनको म्यादसहित पुनरावलोकन धरौटी रकममा संशोधन गरिएको उनले बताए । यसबारे समस्या निश्चित अवधिभित्र समाधान हुने उनले बताए ।
शाक्यले चार्जिङ स्टेशन पूर्वाधार निर्माण गर्नका लागि एक करोडभन्दा धेरै थप बजेट उपलब्ध गराइएको बताए । ४३ एमभिए क्षमताका चार वटा ३३.११ केभी सबस्टेसन निर्माण सकेर सञ्चालनमा ल्याइएको बताए । विभिन्न सामुदायिक संस्थाका करिब सात हजार ३१५ ग्राहकहरूलाई प्राधिकरणको ग्राहकमा रूपान्तरण गरी भरपर्दो र गुणस्तरिय सेवा प्रदान गरिएको उल्लेख छ ।
‘करिब ९०० गरिब तथा विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गरिएको छ,’ उनले भने, ’ग्राहकहरूलाई विश्वसनीय विद्युत् सेवाको सुनिश्चितताको लागि प्रसारण र वितरण सञ्जाल सुदृढीकरणमा जोड दिएका छौँ । छिनछिनमा बिजुली जाने ट्रिपिङ समस्या समाधानको काम गरिरहेका छौँ ।’
काठमाडौँ उपत्यकाभित्र नियमित भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिको व्यवस्था मिलाउनका लागि उपत्यकाभित्र रहेका विभिन्न १७ वटा स्विचिङ तथा सवस्टेसनहरूमा जडान भएका फिडरहरूको सञ्चालन अवस्था स्युचाटारमा रहेको डिस्ट्रिब्युसन कन्ट्रोल सेन्टरबाट २४ सै घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको उनले बताए ।
प्रसारण लाइन (क्षमता अभिवृद्धि सहित) तथा सबस्टेसन निर्माणतर्फ क्रमशः १०४ सर्किट किलोमिटर र ५८६.५ एमभिए वृद्धि भई हालसम्म कुल ६७६९ सर्किट किलोमिटर प्रसारण प्रणाली तथा १४३४९.५ एमभिए क्षमताको सवस्टेसन निर्माण सकिएको उल्लेख गरिएको छ । विभिन्न ८ वटा जलविद्युत् तथा सोलार आयोजनाहरू ७७.९७ मेगावाटको व्यवसायिक उत्पादन सुरू गरिएको पनि उनले बताए ।









प्रतिक्रिया दिनुहोस्