भारतमा मजदुरी गरेर दसैँ तिहारलगायतका चाडबाड मनाउन घर फर्किरहेका नेपालीहरू सीमामा रिक्सा चालकहरूबाट समेत ठगिरहेका छन् । रिक्सा चालकहरूले घर फर्किरहेका नेपालीहरूबाट तीन/चार गुणा बढीसम्म भाडा असुल गरिरहेका छन् । जमुनाहा नाकाबाट नेपालगन्ज बसपार्क र रुपैडिहाको बसपार्कबाट जमुनाहा नाकासम्म आउँदा नेपालीहरू रिक्सा चालकबाट ठगिन्छन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
जाजरकोटको नलगाड नगरपालिकाका धर्मराज परियार नौ वर्षकी छोरी र पाँच वर्षका छोरालाई काखमा च्यापेर जमुनाहा नाका हुँदै सोमबार स्वदेश फर्किए । तीन वर्षदेखि श्रीमतिसँगै भारतको लद्धाखमा घर बनाउने काममा मजदुरी गर्दै आएका धर्मराजले यस वर्ष दसैँ मनाउन घर फर्किने योजना बनाएका थिए । धर्मराजका अनुसार घर आउनु केही महिनाअघि उनकी श्रीमतीले उनलाई छोडेर अर्कैसँग हिडिन् । घरमा एक छोरा र आमासँगै दसैँ मनाउन उनी साथमा भएका छोराछोरीसहित घर फर्किएका हुन् ।
घर फर्किँदा नाकाकै रिक्सा चालकबाट ठगिएको उनले बताए । उनका अनुसार भारतबाट चढिआएको बसका कर्मचारीले नै नेपालको सीमासम्म पु¥याइदिने बताएका थिए । उनले भने, ‘तर, सीमामा आएपछि १ सय ६० रुपैयाँ तिर्न लगाएर रिक्सामा चढाए । धेरै टाढा पु¥याउने होला भन्ने लागेको थियो । हिँडेरै १० मिनेटमा पुग्न सकिने ठाउँ रहेछ । सँगै आएर अगाडि पुगेका साथीहरूले ५० रुपैयाँ मात्रै लाग्छ भने ।’
भारतमा रोजगारीमा लागि गएका नेपालीहरू दसैँ नजिकिएसँगै स्वदेश फर्किने क्रम सुरु भएको छ । अहिले भारतको कालापहाडमा मौसमी रोजगारीका लागि गएकाहरू अहिले धमाधम फर्किइरहेका छन् । जमुनाहास्थित प्रहरीका अनुसार अहिले भारतीय बजारमा किनमेल, उपचार गर्न गएका र रोजगारीबाट फर्किएका समेत गरेर दैनिक सात हजारभन्दा बढी मानिसहरू नेपाल भित्रने गरेका छन् । नाकाबाट बाहिरिनेहरू ६ हजार आसपास रहेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
अंग्रेजी क्यालेन्डरको चालु महिना सकिएसँगै पारिश्रमिक लिएर आउने नेपालीहरूको सङ्ख्या झनै बढ्ने छ । आवागमन बढेसँगै मानिसहरू ठगिने र समस्यामा पर्ने सम्भावना हुने भएकाले सुरक्षा निकायबाट आवश्यक सहायताको व्यवस्था गर्नुपर्ने देखिएको छ । नेपालतिर भन्दा बढी भारतीय क्षेत्रमा नागरिकहरू ठगिने जोखिम भएकाले त्यसलाई रोक्न आवश्यक व्यवस्था गर्नुपर्ने नाकामा भेटिएका नागरिकहरूले बताए ।
भारतको लखनउ गएर फर्किँदै गरेका अमृत पुनले रुपैडिहामा आफू रिक्सा चालकबाट ठगिएको बताए ।
उनका अनुसार चढ्दा ५० रुपैयाँ भाडा लाग्ने भनेका रिक्सा चालकले झर्दा दुई सय रुपैयाँ असुलेका थिए । अमृतले भने, ‘रुपैडिहा बसपार्कबाट एसएसबीको जाँच गर्ने ठाउँसम्म ५० रुपैयाँमा पु¥याइदिन्छु भन्यो । तर चढिसकेपछि ८ सय रुपैयाँ लाग्छ । भन्सारमा बुझाउनुपर्छ भनेर माग्न थाल्यो । विरोध गरेपछि अन्त्यमा दुई सय रुपैयाँ लिएरै छाड्यो ।’
यता नेपाल प्रवेश गरिसकेपछि नेपालगन्जका होटल व्यवसायी, भारतमा चल्ने बस व्यवसायी र रिक्सा चालकहरू मिलेर महँगो भाडा लिने गरेको पाइएको छ । होटल व्यवसायीहरूका एजेन्टहरू नाकामै पुगेका हुन्छन् । बस व्यवसायीले आफ्नो गाडीमा आएका यात्रुहरूलाई होटलसम्मै पु¥याइदिने भन्दै आफ्नो सम्पर्कमा रहेका रिक्सा चालकहरूको जिम्मा लगाउने र रिक्सा चालकहरूले यात्रुहरूबाट महँगो भाडा असुल्ने गरेका नाकामा यात्रु कुरिरहेका रिक्सा चालकहरूले बताए ।
केही यात्रुहरूले जमुनाहदेखि बसपार्कसम्म पु¥याएको १ सय ५० रुपैयाँसम्म तिरेको बताए । जबकि, जमुनाहादेखि बसपार्कसम्मको भाडा ५० रुपैयाँ प्रत्तिव्यक्ति रहेको छ । अहिले प्रहरीले नाकामा सोमबारदेखि एउटा डेस्क राखेको छ । जहाँ भारतबाट झोला र झिटीगुन्टासहित आउने मानिसहरूलाई सुरक्षाकर्मीले रोकेर झोला चेकजाँच गर्छन् । बाटोमा समस्या भए नभएको सोध्छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्की उक्त डेक्स नागरिकहरूलाई कुनै समस्या भए जानकारी लिने र समाधान गर्नकै लागि राखिएको बताउँछन् । समस्यामा परेका नागरिकहरूले जानकारी दिएमा भारततर्फको प्रहरीसँग पनि समन्वय गरेर समस्याको समाधान गरिने इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले बताए ।
अहिलेसम्म रिक्सा भाडामा ठगिएकोबारे गुनासो नआएको उनको भनाइ छ । उनले नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीसहितको संयन्त्र नाकामा खटिएको बताउँदै उनले रिक्सा भाडाका विषयमा पनि नागरिकहरूलाई हेल्प डेस्कबाट सचेत गराइने बताए ।
स्वदेशमा रोजगारीको अवसर नभएपछि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाका अधिकांश परिवारबाट कम्तिमा एक जना भारत पुग्ने गरेका छन् । भारतमा ज्याला मजदुरीदेखि चौकीदारी गरेर मानिसहरू दसैँ मनाउन घर फर्किने गरेका छन् । यसका साथै उत्तराखण्ड र सिम्ला जस्ता ठाउँमा स्याउ टिप्ने सिजनमा नेपालबाट मानिसहरू काम गर्न पुग्ने गरेका छन् ।
गड्डाचौकीमा अझै छैन चहलपहल
नेपालगन्ज सीमा नाका हुँदै भारतबाट फर्किने नेपालीहरूको सङ्ख्या बढिरहेको बेला सुदूरपश्चिमको प्रमुख नाका गड्डाचौकीमा भने खासै चहलपहल छैन ।
भारतमा रोजगारीमा गएकाहरू फर्किने मुख्य नाका गड्डाचौकी भए पनि अहिले खासै चहलपहल नदेखिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशीले जानकारी दिए । उनका अनुसार हाल गड्डाचौकी नाकाबाट साढे दुई सयदेखि तीन सय जना मानिसहरू दैनिकरूपमा नेपाल भित्रिरहेका छन् ।
उनले भारतबाट भित्रनेहरूको सङ्ख्या अहिले नै उल्लेखनीय रूपमा नबढेको बताए । यद्धपि चाडबाड नजिकिन लागेसँगै चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्न लागेको डिएसपी जोशीले जानकारी दिए । ‘केही दिनमै चाडपर्वलक्षित सुरक्षा योजनाअनुसार यात्रु सहायता कक्ष, नागरिक सहायता कक्ष स्थापना गर्छाैँ,’ उनले सोमबार मिसन टुडेसँग भने ।
तीन स्थानमा यात्रु सहायता कक्ष
चाडबाड नजिकिएसँगै प्रहरीले बाँकेका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । यात्रुहरूको सुरक्षालाई ध्यान राखेर तीन स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार यात्रुहरूको सुरक्षालाई नै ध्यानमा राखेर जमुनाहा नाका, नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष राखिएको छ । ती कक्षमा नागरिकका गुनासा तथा जाहेरीहरू सहजरूपमा लिने र सचेतीकरणका काम हुने उनले बताए । समस्यामा परेका नागरिकहरूलाई यथाशीघ्र प्रहरीलाई जानकारी गराउन समेत सबैलाई एसपी कार्कीले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्