संविधान दिवस खजुरा गाउँपालिकाले बिहीबार गुलरिया नेपालगन्ज सडक खण्डको खजुरा क्षेत्रको अलपत्र १८ सय मिटर सडक आफ्नै स्रोतसाधनले मर्मत तथा बजार क्षेत्रमा सरसफाइ गरेर मनाएको थियो । पेडारी नालाको पुल र अलपत्र सडक बन्ने ग्यारेन्टी छिट्टै नभए आन्दोलनमा जाने खजुराका जनप्रतिनिधिले सोही कार्यक्रमबाटै गरेका छन् ।तिलक गाउँले । खजुरा ।
विभिन्न कार्यक्रमहरू गरी बाँकेको खजुरा गाउँपालिकाले बिहीबार संविधान दिवस मनाएको छ । संघीय सरकार अन्तर्गतको सडक मर्मत र सरसफाइ गर्दै खजुरा गाउँपालिकाले संविधान दिवस मनाएको हो ।
खजुरा १ नम्बरबाट सडकको बीच भागको घाँस काट्दै निस्केका पालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, स्थानीयबासीसहितको ¥यालीले खजुरा धनौलीसम्मको सरसफाइ गरेको थियो ।
सोही क्रममा पालिकाको साधनस्रोत परिचालन गरी वर्षाले ध्वस्त बनाएको जीर्ण पुल वारिपारिको सडकको खाल्डो मर्मत गरिएको थियो । सो अवसरमा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले संघीय सरकारअन्तर्गतको सडक मर्मत पनि आन्दोलतको संकेत भएको बताएका थिए ।
उनले पुल बनेको ५३ वर्ष पुग्दा पनि संघीय सरकारले खजुराको जीर्ण पुल निर्माण र ठेकेदारले अलपत्र पारेको १ हजार ८ सय मिटर सडक बनाउने विषयमा बजेट सुनिश्चितता गर्न र ठेक्का लगाउन बेवास्ता गरेको भन्दै जनपरिचालनसहित सडकमा आउन आफूहरूलाई बाध्य नपार्न सरकारलाई चेतावनी दिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानालगायतले संविधान दिवसरको अवसरमा शुभकामना व्यक्त गरेका थिए । उपस्थित अधिकांशले जीर्ण पुल र सडकका कारण दुर्घटना भए त्यसको जिम्मा संघीय सरकारले लिनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्