खानेपानीको चुनावमा दलहरूकै दबदबा



बाँसगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको असोज ५ गते (भोलि) हुन गइरहेको निर्वाचनका लागि तीव्र दलीय प्रतिस्पर्धा हुँदै छ । आ–आफ्ना प्यानल बनाएर दलहरू निर्वाचनमा होमिएका छन् । कुनै दल गठबन्धन गरेर चुनावमा उत्रिएका छन् भने कुनै एक्लै प्रतिस्पर्धा गर्दै छन् । आम जनतामा दलहरूप्रति तीव्र वितृष्णा फैलिरहेका बेला खानेपानी जस्ता संस्थामा समेत दलीय प्रतिनिधित्वलाई आम उपभोक्ताले रुचाएका छैनन् ।

कोहलपुर ।

दलीय प्रभाव हाम्रो समाजमा यसरी परेको छ कि हरेक स्थानमा दलीय प्रतिनिधित्वबाटै नेतृत्व छनोट हुने गरेको छ । आम चुनाव वा स्थानीय चुनावमा दलीय प्रतिनिधित्व हुनुलाई खासै अस्वाभाविक मान्न नसकिए पनि हरेक धार्मिक, सामाजिक, सांस्कृतिक संघसंस्था वा उपभोक्ता समितिहरूमा पनि दलीय प्रभाव देखिनुलाई आम उपभोक्ताले रुचाउने गरेका छैनन् ।

‘हरेक ठाउँमा राजनीति, हरेक समयमा राजनीति,’ बाँसगढीका एक स्थानीयबासी भन्छन्, ‘यो राजनीतिले पनि वाक्कदिक्क बनाइसक्यो ।’ पछिल्लो समय आम चुनाव होस् वा स्थानीय चुनावमा ठाउँ–ठाउँबाट स्वतन्त्र उम्मेदवारहरूले विजय प्राप्त गर्नुले पनि आम जनतामा दलीय राजनीतिप्रति वितृष्णा तीव्र हुँदै गएको स्पष्ट गर्दछ ।

विद्यालय व्यवस्थापन समिति होस् वा वन उपभोक्ता समिति, रेडक्रस सोसाइटी होस् वा खानेपानी उपभोक्ता समिति सबैमा राजनीतिक प्रतिनिधित्वका आधारमा नेतृत्व चयन हुने गरेको छ । त्यसमा पनि भागबन्डा गरेर अर्थात गठबन्धन गरेर चुनावमा भाग लिने परिपाटी विकास हुँदै गएको छ ।

बाँसगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा पनि ठीक यही अवस्था देखिएको छ । असोज ५ गते (भोलि) हुने खानेपानी उपभोक्ता समितिको निर्वाचनका लागि तीव्र दलीय प्रतिस्पर्धा हुँदै छ । आ–आफ्ना प्यानल बनाएर दलहरू निर्वाचनमा होमिएका छन् । कुनै दल गठबन्धन गरेर चुनावमा उत्रिएका छन् भने कुनै एक्लै प्रतिस्पर्धा गर्दै छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको एउटा गठबन्धन बनेको छ । नेकपा एमालेले एक्लै सो चुनावमा भाग लिएको छ भने नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना तर्फबाट छुट्टै उम्मेदवार अगाडि सारेका छन् ।
दलीय प्रतिनिधित्वका आधारमा दलहरूबाट अध्यक्षका लागि आ–आफ्नो प्यानलसहित तीन जनाले उम्मेदवारी दिएका छन् भने स्वतन्त्र उम्मेदवारका रूपमा हरिप्रसाद लामिछाने (सूर्य)ले उम्मेदवारी दिएका छन् ।

एमालेका तर्फबाट नवराज रेग्मी अध्यक्ष पदका उम्मेदवार बनेका छन् । त्यसैगरी माओवादी र समाजवादीसहितको संयुक्त उम्मेदवारका रूपमा कांग्रेसका राजुप्रसाद शर्मा अध्यक्षका लागि उभिएका छन् । नागरिक उन्मुक्ति, राप्रपा र रास्वपाको साझा उम्मेदवारका रूपमा डिलबहादुर डाँगी अध्यक्ष पदको उम्मेदवार बनेका छन् ।

स्वतन्त्रका लामिछानेबाहेक तीनै जना उम्मेदवारले आ–आफ्नो प्यानल खडा गरेका छन् जसमा शर्माको प्यानलबाट उपाध्यक्षमा ऐनबहादुर बुढा, सचिवमा जोहन पी अधिकारी र कोषाध्यक्षमा छविलाल रिजाल शर्मा छन् ।

त्यसैगरी, रेग्मीको प्यानलबाट उपाध्यक्षका लागि अर्जुन लामिछाने, सचिवका लागि रामकृष्ण पौडेल र कोषाध्यक्षका लागि गंगा बरालले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, डाँगी प्यानलबाट भने उपाध्यक्षमा लक्ष्मीदेवी त्रिपाठी, सचिवमा जग्गुप्रसाद थारू र कोषाध्यक्षमा विद्याप्रसाद थारूले उम्मेदवारी दिएका छन् । ११ सदस्यीय समितिमा अनिवार्य दुई महिला सदस्यसहित सात सदस्य रहने व्यवस्था छ । समितिको चार बर्से कार्यकालका लागि नयाँ समिति निर्माण हुन लागेको हो ।

यसअघि नेपाली कांग्रेसका लोहारी थारू सो समितिको अध्यक्ष थिए । हरेक स्थानमा दलीय राजनीतिको प्रभावबाट वाक्कदिक्क भएका उपभोक्ता भने उपयुक्त स्वतन्त्र उम्मेदवार रोज्ने तरखरमा देखिन्छन् ।

आम जनतामा दलहरूप्रति तीव्र वितृष्णा फैलिरहेका बेला खानेपानी जस्ता संस्थामा समेत दलीय प्रतिनिधित्वलाई आम उपभोक्ताले रुचाएका छैनन् । ‘त्यसमा पनि दलहरूले योग्य र इमान्दार उम्मेदवार दिनुभन्दा पनि नेताका नजिकका मान्छे छान्ने गरेका छन्,’ एक उपभोक्ता भन्छन्, ‘त्यसैले यस्तो दलीय सिन्डिकेट तोड्नका लागि पनि धेरैको रोजाइमा स्वतन्त्र उम्मेदवारहरू पर्ने गरेका छन् ।’

‘पार्टीको मान्छे भन्दैमा जस्तो उम्मेदवार उठाइदिए पनि हुन्छ ?’ खानेपानीका उपभोक्तासमेत रहेका एमालेका एक जना कार्यकर्ता आफ्नो नाम उल्लेख नगर्ने सर्तमा प्रश्न गर्दै भन्छन्, ‘दलका नाममा उठेका त्यस्ता उम्मेदवारलाई भोट दिनुपर्छ भन्नका लागि हामी दलकै कार्यकर्ता पनि बाध्य छैनौँ ।’ उपयुक्त उम्मेवार छानेर आफूले भोट हाल्ने पनि उनले दाबी गरे ।

२०५२ सालमा सर्वे भएर २०६३ सालदेखि सञ्चालनमा आएको सो संस्थामा हालमा हाल ९ सय ११ जना उपभोक्ता रहेका छन् । ८० प्रतिशत सरकार तथा २० प्रतिशत पब्लिकको लगानी रहेको सो खानेपानी योजना २ करोड रुपैयाँको लागतमा निर्माण भएको सो संस्थाका पूर्व सचिवसमेत रहिसकेका अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद लामिछाने (सूर्य)ले जानकारी दिए ।

२०६३ सालमा समुदायमा हस्तान्तरण भएपछि उपभोक्ता समिति निर्माण गरेर सञ्चालन हुँदै आएको छ । संस्थाले तीन सिफ्ट गरेर हाल दैनिक ६ लाख ७५ हजार लिटर पानी वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१ असोज ४ गते शुक्रबार