दिनहुँजसो हिंस्रक जङ्गली जनावरले भिन्न–भिन्न स्थानमा घरपालुवा जनावरमाथि आक्रमण गर्ने गरेको छ । गाउँघरमै दैनिक सो जनावर देखिने र घरपालुवा जनावरमाथि आक्रमणको क्रम नरोकिएपछि बाँसगढीबासीमा त्रास बढेको छ । दैनिकजसो गाउँमै पसेर घरपालुवा जनावरमाथि निरन्तर आक्रमण गर्ने सो जनावर बाघ हो वा चितुवा भन्ने नै पहिचान हुन सकेको छैन । पहिचान नभएकैले बर्दिया राष्ट्रिय निकुञ्जले यसप्रति खासै चासो दिएको छैन ।
सनत सापकोटा । कोहलपुर ।
बाँसगढी नगरपालिकाभित्र बाघको त्रास कायमै छ । नगरपालिकाभित्र दिनहुँजसो हिंस्रक जङ्गली जनावरले भिन्न–भिन्न स्थानमा घरपालुवा जनावरमाथि आक्रमण गर्ने गरेको छ । गाउँघरमै दैनिक सो जनावर देखिने र घरपालुवा जनावरमाथि आक्रमणको क्रम नरोकिएपछि बाँसगढीबासीमा त्रास बढेको छ ।
गते जेठ १० गते बाँसगढी नगरपालिका–४ स्थित जनचेतना सामुदायिक वनमा बाघको आक्रमणबाट बाँके बैजनाथ गाउँपालिका–८ हस्नापुरकी ३५ वर्षीया मनीषा रोकायको मृत्यु भएपछि सो क्षेत्रमा निरन्तर बाघ देखिने गरेको स्थानीयबासीको भनाइ छ ।
सो जङ्गली जनावर बाघ हो वा चितुवा भन्ने स्पष्ट पहिचान नभए पनि करिब दुई महिनाअघि बाघले नै मानिस आक्रमण गरेकाले सो जनावर बाघ नै हुनसक्ने स्थानीयबासीको आँकलन छ भने कसैले सो जनावर चितुवा भएको बताउने गरेका छन् । तर सो जनावर नियन्त्रणमा लिने कुरा त पर जाओस् बाघ हो वा चितुवा भनेर पहिचान गर्ने कुरामा पनि सरोकारवाला निकायले तत्परता देखाएका छैनन् ।
पछिल्लो समय त प्रत्येक दिन सो जनावरले घरपालुवा जनावरमाथि आक्रमण गरिरहेको छ । एक साताभित्र मात्रै सो जनावरले किसानका घरगोठमै पसेर आधा दर्जनजति घरपालुवा जनावर मारिसकेको छ । दिउँसो पनि कहिले कुन वनमा त कहिले कुन वनमा बाघ देखिने गरेको स्थानीयबासी बताउँछन् । केही साताअघि वनभन्दा निकै टाढा राजमार्गछेउमै रहेको बाँसगढी नगरपालिका–४ स्थित मटेरिया गाउँमै पसेर राति बाघले खोरबाट सुंगुर मारेको थियो ।
एक सातायता सो जनावरले नियमित घरपालुवा जनावरमाथि आक्रमण गरिरहेको पाइएको छ । भदौ २७ गते राति साढे ११ बजेतिर बाँसगढी नगरपालिका–५ विद्युत् कार्यालयपछाडि हाइवेबाट करिब सय मिटरभित्र शीतलनगर टोलको एक घरमा बाघले बाख्रालाई घाइते बनाएको थियो ।
त्यस्तै, सोही दिन बाँसगढी नगरपालिका–४ नेवादाका चन्द्रबहादुर चौधरीको गोठबाट बाघले गाईको बाच्छो खाएको थियो । सो बाघ २६ गते दिउँसो पनि सोही जंगलमा देखापरेको स्थानीयबासीले बताएका छन् ।
भदौ २८ गते बाँसगढी नगरपालिका–३ उत्तरभकारीमा राति करिब साढे ११ बजेतिर तुलसीप्रसाद देवकोटाको खोरबाट बाघले खसी लिएर गएको थियो । त्यस्तै, सोही दिन राति उत्तर भकारीस्थित चमकपुर टोलमा रामप्यारे थारूको गोठबाट करिब २० केजीको सुंगुरको पाठो लिएर गएको स्थानीयको भनाइ छ ।
भदौ २९ गते सोही टोलमा चन्नाह भनिने गोपाल थारूको करिब २५ केजीको सुंगुरको पाठो बाघले लगेको थियो । घिसारेको ठाउँ हेर्दै सुंगुर खोज्न जाने क्रममा नजिकको जङ्गलमा लिएर सिकार खाइरहेको अवस्थामा बाघ देखिएको र सो बाघले मानिसलाई समेत आक्रमण गर्न खोजेको स्थानीयबासीले बताएका छन् । मानिसको बाक्लो उपस्थिति देखेपछि बाघ सिकार छाडेर भागेको उनीहरूको भनाइ छ ।
त्यस्तै, भदौ २९ गते राति करिब १२ बजेको समयमा बाँसगढी नगरपालिका–४ पहाडीपुर गाँउमा निमबहादुर कुँवरको बाख्राको खोरमा पसी बाघले बाख्रा घाइते बनाएको थियो भने एउटा भेडा मारेर खाएको थियो ।
यसरी बाघ निरन्तर गाउँ पसेर बबन्डर मच्चाइरहेको छ तर सोको पहिचान वा नियन्त्रणबारे कसैले चासो दिने गरेको छैन । दैनिक बाघ आक्रमणका घटना बाहिरिइरहँदा वनछेउका बासिन्दा भने त्रसित छन् ।
भदौ २९ गते बाँसगढी नगरपालिका–३ स्थित सिजी चाउचाउ उद्योगको सिसी क्यामेरामा सो बाघ कैद भएको बताइएको छ । तर सो जनावर बाघ हो वा चितुवा भन्ने अझै पनि पहिचान भएको छैन । सिसी क्यामेरामा बाघ कैद भएको समाचारबारे आफू अनभिज्ञ भएको सब–डिभिजन वन कार्यालय बाँसगढीका वन अधिकृत राम गणेश साहले बताए । उनले सो जनावर बाघ हो वा चितुवा भन्ने नै स्पष्ट हुन नसक्दा नियन्त्रणमा कठिनाइ भइरहेको बताए ।
‘केही समय हामीले ठाउँ–ठाउँमा क्यामेरा पनि लगायौँ तर क्यामेरामा पनि देखिएन,’ उनले भने, ‘सो जनावर बाघ हो वा चितुवा भन्ने नै स्पष्ट भएन ।’ स्थानीयबासीका भनाइका आधारमा सो जनावर चितुवा नै हुन सक्ने र कतिबेला कहाँ जान्छ भन्ने स्पष्ट नभएकाले चितुवा नियन्त्रण गर्न कठिनाइ हुने गरेको उनले बताए । पहिचान हुन नसकेकैले निकुञ्जले पनि चासो नदिएको र आफूहरूसँग स्रोत साधन नभएकाले केही गर्न नसकिएको उनको भनाइ छ ।
वन अधिकृत साहले पछिल्लो समय खोरबाटै घरपालुवा जनावर हराउने र मार्ने कार्यमा बाघ वा चितुवाको आक्रमण नै हो भन्ने कुुरामा पनि आशङ्का व्यक्त गरे । चोरी वा बदामासी गर्ने समूहले पनि ती कतिपय घटना घटाएको हुन सक्ने उनको तर्क छ । ‘यी सबै घटना बाघ वा चितुवाले नै गरे भन्ने पनि स्पष्ट छैन,’ उनले भने, ‘यसमा अन्यत्र पनि शङ्का गर्ने आधार देखिन्छ ।’
इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक रुपेश साहले पछिल्लो समय दैनिकजसो बाघले जनावर लग्यो भन्दै स्थानीयको फोन आउने गरेको बताए । खबर पाएपछि आफूहरू गएर सम्बन्धित निकायलाई खबर गरिदिने गरेको तर आफूहरूले पनि त्यसमा थप केही गर्न सक्ने अवस्था नरहेको उनले बताए । ‘हामीले पनि गर्नसक्ने केही हुँदैन,’ उनले भने, ‘सम्बन्धित निकायमा खबर गरिदिने मात्र हो ।’
बाघ वा चितुवा भन्ने बारेमा पनि स्थानीयका फरक–फरक धारणा आउने गरेको उनले बताए । ‘जे भए पनि भोलि मानवीय क्षति नहोस् भनेर हामीले स्थानीयबासीलाई सचेत गराउने गरेका छौँ,’ प्रहरी निरीक्षक साहले भने ।
सो जनावर चाँडो नियन्त्रणमा लिइदिन स्थानीयले सरोकारवाला निकायसँग आग्रह गरे पनि त्यसको सुनुवाइ भएको छैन । बाघको त्रासले साँझबिहान वनको बाटो भएर हिँड्न पनि डर लाग्ने गरेकोे स्थानीयबासीको भनाइ छ ।
‘दिनदिनै बाघ गाउँघरमै पसेर भकाभक घरपालुवा जनावरमाथि आक्रमण गरिरहँदा पनि किन कसैले चासो नदिएका होलान्,’ एक स्थानीयले मिसन टुडेसँग भने, ‘यस्तै हो भने भोलि फेरि मान्छेमाथि नै आक्रमण हुन पनि के बेर !’ सो बाघ खोजी वा नियन्त्रणबारे स्थानीय वडा कार्यालय, वन कार्यालय तथा राष्ट्रिय निकुञ्ज कसैले पनि वास्ता नगरेको उनले आरोप लगाए । बाघ खोजी गर्ने नाममा सरोकारवाला निकायले मात्र झारा टार्ने काम गरिरहेको उनको भनाइ छ ।
दैनिकजसो गाउँमै पसेर घरपालुवा जनावरमाथि आक्रमण गर्ने सो जनावार बाघ हो वा चितुवा भन्ने नै पहिचान हुन सकेको छैन । पहिचान नभएकैले राष्ट्रिय निकुञ्जले यसप्रति खासै चासो नदिएको बताइन्छ ।
पछिल्लो समय वनआसपासका गाउँमा बाघ आक्रमणको घटना बढेको छ । जिल्लास्थित अधिकांश सामुदायिक वनमा बाघ देखिन थालेकाले सर्वसाधारण त्रसित छन् । वनसँग जोडिएको चल्ती बाटो हिँड्नसमेत सर्वसाधारण डराइरहेको अवस्था छ ।
हिंस्रक जनावरलाई नियन्त्रणमा लिन माग
लामो समयसम्म नियन्त्रणबारे कसैले चासो नलिएपछि सो जनावर पहिचान तथा नियन्त्रणका गर्न माग गर्दै बाँसगढीका युवाहरूले बाँसगढी नगरपालिका कार्यालय र सब–डिभिजन वन कार्यालय बाँसगढीमा मंगलबार ज्ञापनपत्र बुझाएका छन् । राष्ट्रिय युवा संघ नेपाल बाँसगढी नगर कमिटीका अध्यक्ष निशान चन्दको नेतृत्वमा गएको युवाहरूको टोलीले नगर प्रमुख खड्कबहादुर खड्का र वन अधिकृत राम गणेश साहलाई सो ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले तत्काल बाघ नियन्त्रणमा लिन माग गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै नगर प्रमुख खड्काले नियन्त्रणका लागि वन कार्यालयसँग आग्रह गरिने जनाएका थिए । ‘हामीले भन्ने वन कार्यालयलाई नै हो, हामी भन्छौँ,’ ज्ञापनपत्र बुझ्दै नगर प्रमुख खड्काले भने, ‘स्थानीयबासीका तर्फबाट तपाईंले पनि निरन्तर दबाब दिनुप¥यो ।’
गत आइतबार मात्र बाँके जिल्लाको खजुरा गाउँपालिका सिमलघारीमा एक अढाई वर्षीया बालिकालाई पनि बाघले लगेको आशङ्का गरिएको छ । मंगलबार ती बालिकाको टाउको र एउटा खुट्टा घरदेखि १ किलोमिटर टाढा रहेको वनमा भेटिएको छ ।
घटनाक्रमहरूले बाघ वा चितुवाले नै बालिका लगेको सबैको अनुमान छ । पछिल्लो समय मानखोला हुँदै बाघ बर्दियाबाट बाँके आउजाउ गर्ने गरेको पनि कतिपयले बताउने गरेका छन् ।
‘बाँसगढीमा पनि भोलि यो अवस्था नआउला भन्न सकिन्न,’ एक स्थानीयबासीले भने, ‘त्यसैले जतिसक्दो चाँडो सो बाघ वा चितुवा नियन्त्रणमा लिइयोस् ।’ यसरी गाउँघरमै नियमित बाघ देखिन र घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि वन कार्यालयमा यस विषयमा जानकारी दिइएको र बाघ खोजी तथा नियन्त्रणका लागि अनुरोध गरिएको बाँसगढी नगरपालिका–५ का वडाध्यक्ष दहवा थारू बताउँछन् ।
‘केही समयअघि वन कर्मचारीहरूद्वारा केही स्थानमा क्यामेरा राखेर बाघ पहिचान गर्ने प्रयास पनि भएको हो,’ उनले भने, ‘तर क्यामेरामा बाघ कतै देखिएन ।’
प्रतिक्रिया दिनुहोस्