नेपालगन्जमा सुपथ मूल्य पसल सञ्चालन हुँदै



नेपालगन्ज ।

चाडबाडमा आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने सरकारको योजना छ । कतिपय स्थानमा बिहीबारबाट नै त्यस्ता पसलहरू सञ्चालनमा आएका छन् ।

तर, नेपालगन्जमा असोज ७ गते आइतबारबाट मात्र सुपथ मूल्य पसल सञ्चालनमा आउने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका शाखा प्रमुख रामशरण लामिछानेले जानकारी दिए । उनका अनुसार उक्त सुपथ मूल्य पसलमा चामल मात्रै बिक्रीमा रहनेछ ।

जबकि सुर्खेत र काठमाडौँलगायतका स्थानमा सञ्चालनमा आउने सुपथ मूल्य पसलमा चामलसहित दाल, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी÷गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा र जुम्ली मार्सीलगायतका उत्पादनहरू राखिन्छन् ।

शाखा प्रमुख लामिछानेका अनुसार नेपालगन्जमा यी उत्पादन पनि राख्नुपर्ने माग आफूले माथिल्लो तहमा गरे पनि त्यसको व्यवस्था हुन नसकेको बताए । उनले नेपालगन्जमा यस्ता उत्पादनहरूको बजार नरहेको बुझाइ रहेकोे पनि बताए ।

उनले भने, ‘नेपालगन्जमा चिनी, दाल लगायतका वस्तुहरू खरिद गर्न मानिसहरू सीमापारि जाने गरेका कारण बिक्री हुँदैन कि भन्ने बुझाइ छ । तर हामीले यी उत्पादनहरू पनि राख्नुपर्छ भनेर माग गरेका हौँ । त्यसका लागि आदेश भएको छैन ।’

धेरै नेपालीले मनाउने दसैँ, तिहार र छठ जस्ता चाडहरूमा दैनिक उपभोग्य वस्तुको माग अत्यधिक हुने र सो समयमा गुणस्तरीय वस्तु उचित मूल्यमा उपलब्ध गराउने वातावरण तयार गर्ने उद्देश्यले सरकारले हरेक वर्ष सहुलियत पसल नाम दिएर वस्तुहरू बिक्री गर्न कम्पनीलाई जिम्मा दिँदै आएको छ ।

काठमाडौँलगायतका स्थानका सहुलियत पसलमा उपभोक्ताले विभिन्न प्रकारका चामल तथा दालमा प्रतिकिलो पाँच रुपैयाँ, तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटी, कर्णाली सिमी÷गेडागुडी, फापर दाना, चिनो, कागुनोलगायतका उत्पादनमा प्रतिकिलो सात रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २०८१ असोज ४ गते शुक्रबार