कोहलपुर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना



कोहलपुर ।

इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेको साझेदारीमा कोहलपुरको नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नजिकिँदै गरेको दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा संयुक्तरूपमा बिहीबार यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

चाडबाड नजिकिँदै गएकाले यात्रुहरूले पाउने दुःख र कठिनाइहरू सिर्जना हुन नदिन यात्रु सहायता कक्ष स्थापना गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीले बताए ।

अहिलेको अवस्थामा पनि सवारी साधनहरूमा यात्रु तान्ने प्रवृत्ति रहेकोमा दुःख व्यक्त गर्दै डीएसपी भण्डारीले सिट क्षमताअनुसार मात्र यात्रुहरू चढाउन सवारी साधनका चालकहरूलाई अनुरोध गरे । चालकलाई सवारी नियमबारे राम्रो ज्ञान नहुँदा र जथाभावी सवारी पार्किङ गर्दा दिप्रतिदिन दुर्घटना हुने गरेको उनले बताएका थिए ।

विशेषगरी चाडबाडको समयमा चाड मनाउन जाँदा यात्रुहरूले भोग्नुपर्ने अनेकौँ हैरानी अन्त्य गर्न यात्रु सहायता कक्षले मद्दत पुग्ने उनले विश्वास लिए । त्यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका ट्राफिक प्रमुख पुष्करराज पन्तले ट्राफिक नियम पालना गरेर सवारी साधन चलाउन आग्रह गरे ।

सधैँ चिट काटेर र कारबाही गरेर मात्रै समस्या समाधान नहुने भन्दै प्रत्येक व्यक्तिले ट्राफिक नियम पालना गरे यात्रुलाई सहजता र सवारी साधन दुर्घटना आफैँ कम भएर जाने उनको भनाइ छ ।

उनले ट्राफिक प्रहरीहरू भनेका सेवक मात्र भएकाले अनावश्यक रूपमा झगडा गर्न र जरिवाना तिराउन रहर नभई बाध्यता रहेको बताए । यात्रुहरूलाई सहजै गन्तव्यसम्म पु¥याउन र दुःख नदिन उनले यातायात व्यवसायी र सवारी चालकहरूलाई आग्रह गरे ।

यातायात व्यवसायी र सवारी चालकहरूले यात्रुहरूलाई गन्तव्यसम्म पु¥याउन र नेपाल सरकारले निर्धारण गरेको भाडा मात्र लिन बागेश्वरी यातायात व्यवसायी प्रालिका अध्यक्ष मनप्रसाद आचार्यले सुझाव दिए ।

अत्याधुनिक बसपार्क निर्माण भए पनि सडकहरूमा जथाभावी पाकिङ गर्दा सवारी दुर्घटना बढेको उनले बताए । यात्रुहरूलाई सम्मान गर्न सके मात्रै यातायात व्यवसाय फस्टाउने उनको भनाइ छ ।

यात्रु सहायता कक्ष स्थापना कार्यक्रममा यातायात व्यवसायी, स्थानीय निकाय, यात्रुहरू र सवारी चालक तथा सहचालक लगायतहरूको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : २०८१ असोज ४ गते शुक्रबार