जनावरले खाएको अवस्थामा भेटियो बेपत्ता बालिकाको शव 



खजुरा ।

आइतबार साँझदेखि घरबाटै हराएकी बाँकेको खजुरा गाउँपालिका–४ सिमलघारीकी अढाई वर्षीय बालिका लक्ष्मी पुनको शव फेला परेको छ । गिजरा सामुदायिक वनमा मंगलबार बिहान ११ बजेतिर उनको शरीरबिनाको शव भेटिएको हो । लक्ष्मीको टाउको र एउटा खुट्टा मात्र भेटिएको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।

‘घरदेखि करिब १ किलोमिटर परको गिजरा सामुदायिक वनमा बालिकाको टाउको र दाहिने खुट्टा मात्र भेटिएको छ,’ इप्रका धनौलीका इन्चार्ज प्रहरी निरीक्षक पूर्णबहादुर केसीले भने, ‘घटनाको प्रकृति र स्थानीयबासीको भनाइ सुन्दा बालिकालाई बाघले नै लगेजस्तो देखिन्छ ।’

शव भेटिएपछि प्रहरीले घटनाको मुचुल्का गरी पोस्टमार्टमका लागि भेरी अस्पताल पठाएको थियो । पोस्टमार्र्टमपछि मंगलबारै बालिकाको अन्तिम संस्कार गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक तुफानले जानकारी दिए ।

‘शरीरको अरू भाग सबै कुनै जनावरले खाएजस्तो छ,’ अध्यक्ष विकले मिसन टुडेसँग भने, ‘बाँकी रहेको टाउको र एउटा खुट्टा मात्र भेटियो ।’ बालिकालाई खाने जनावर बाघ हो वा चितुवा भन्ने यकिन नभएको उनले बताए । ‘खोजी गर्ने क्रममा खेतमा बाघका पाइला भेटिएको थियो,’ उनले भने, ‘यसअघि पनि यस क्षेत्रमा बाघ हो वा चितुवाले स्थानीयका बाख्रा र कुकुर मार्ने गरेको थियो ।’

इलाका प्रहरी कार्याल धनौली, सशस्त्र प्रहरी बल बढैया पोस्ट, जिल्ला वन कार्यालय बाँके र स्थानीय जनप्रतिनिधिसहित स्थानीयबासीको करिब ५ सय जनाको टोलीले आइतबार रातिदेखि बालिकाको खोजीलाई तीव्र पारेको थियो ।

सोमबार बिहान नेपाल प्रहरीका दुईवटा कुकुर परिचालन गरेरसमेत बालिकाको खोजतलास गरिएको थियो । प्रहरी, सशस्त्र प्रहरी, जिल्ला वन कार्यालय र सयौँको सङ्ख्यामा स्थानीय परिचालित भएर खोजतलास गर्दा पनि बालिकाको अवस्था पत्ता नलागेपछि बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिकहरूलाई बोलाइएको थियो ।

आइतबार करिब राति साढे ८ बजेतिर घरभन्दा अलि पर रहेको बाख्राको खोरमा पालिएको खसीलाई दाना खुवाउन गएकी आमा सीताको पछि लागेर गएकी लक्ष्मी फर्किंदा एकाएक हराएकी थिइन् । बाख्रालाई दाना खुवाएर घर फर्किने क्रममा पछिपछि आएकी छोरीलाई नदेखेपछि आमाले यताउता खोजी गरेकी थिइन् । तर छोरी कतै नभेटिएपछि उनले आत्तिँदै छरछिमेकीलाई खबर गरेकी थिइन् ।

यसअघि पनि सो गाउँमा पटक–पटक बाघ आउने र बाख्रा खाने गरेको स्थानीयबासीले बताएका छन् । घटनापछि सो स्थानमा प्रहरीले निरन्तर गस्ती बढाइरहेको र बाघ नियन्त्रणका लागि निकुञ्जले खोर राख्ने तयारी गरिरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए । सो जनावरको पहिचान गर्न निकुञ्जले वनमा ३ वटा क्यामेरासमेत जडान गरेको उनले बताए ।

‘तत्कालका लागि हामीले स्थानीयबासीलाई वनतिर नजान अनुरोध गरेका छौँ,’ प्रहरी निरीक्षक केसीले मिसन टुडेसँग भने, ‘सो जनावर नियन्त्रणमा नआएसम्म हामी त्यस क्षेत्रमा विशेष निगरानी गर्छौं ।’

प्रकाशित मिति : २०८१ असोज २ गते बुधबार