नेपालगन्ज ।
कैलालीको धनगढीस्थित मोहना नदीमा आएको बाढीले सशस्त्र प्रहरी बलका दुई वटा भवन बगाएको छ । शुक्रबार राति वर्षासँगै मोहना नदीमा आएको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लीपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुई वटा नयाँ भवन बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बाढीले एउटा २ कोठे र अर्को एक हल र एक कोठा रहेको दुई वटा भवन बगाएको छ । शुक्रबार दिउँसोदेखि नै बिओपी भवन कटान सुरू गरेपछि सामान अन्यत्र सारिएको थियो ।
शुक्रबार राति र शनिबार बिहान गरी भवन पूर्ण रूपमा बगाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) कविन्द्र बोहराले जानकारी दिए ।
उनका अनुसार मोहना नदीको बाढीले बिओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको छ । नयाँ भवन बाढीले बगाएको र पुरानो भवन समेत जोखिममा परेको डिएसपी बोहराले बताए ।
प्रकाशित मिति : २०८१ भदौ ३० गते आइतबार
प्रतिक्रिया दिनुहोस्