एपीएफ स्कुल कोहलपुरले मनायो बाल दिवस



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको नेपाल एपीएफ स्कुलले ६०औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमहरू गरेर मनाएको थियो । दिवसको अवसर पारेर शनिबार स्कुलले कोहलपुरमा प्रभातफेरी लगायतका कार्यक्रमहरू गरेको हो ।

प्रभातफेरी पछि भएको कार्यक्रममा बोल्दै नेपाल एपीएफ स्कुल कोहलपुरका प्रधानध्यापक मुकुन्द्र बिक्रम शाहले बालबालिकाहरू भविष्यका कर्णधार रहेकाले सिर्जनात्मक तथा बालमैत्री वातावरणमा सबैलाई शिक्षा प्रदान गर्नुपर्ने बताए ।

६०औँ बाल दिवसको शुभकामना दिदैँ उनले बालबालिकाहरूलाई व्यवहारिक र गुणस्तरिय शिक्षा अति आवश्यक रहेकोमा जोड समेत दिए ।
त्यस्तै स्कुलका समादेशक सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि अभिभावकहरूले लगानीको थालनी गर्नुपर्ने बताएका थिए ।

उनले बालबालिकाको चौतर्फी विकासको लागि अभिभावक र शिक्षक सबै भम्भीर भएर लाग्नुपर्नेमा जोड दिए ।

बाल दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको नेपाल एपीएफ स्कुल कोहलपुरले जनाएको छ । सो अवसरमा विभिन्न प्रतियोगिताका बिजेता विद्यार्थीहरूलाई प्रोत्साहनका लागि पुरस्कार समेत वितरण गरिएको थियो ।

स्कुलका अनुसार बाल दिवसको अवसरमा साँस्कृतिक कार्यक्रम, घुम्ने कुर्सी र छात्रहरूले घँैटो फुटाउने लगायतका कार्यक्रमहरू गरिएको थियो ।

प्रकाशित मिति : २०८१ भदौ ३० गते आइतबार