बाँके ।
लुम्बिनी प्रदेश सरकारले बडका अतवारी पर्वका अवसरमा आज आइतबार तराईका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ । प्रदेशका थारू समुदायको बसोबास रहेका बाँके, बर्दिया, दाङ, रूपन्देही, कपिलबस्तु र पश्चिम नवलपरासीमा आज सार्वजनिक बिदा दिएको हो ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले सूचना जारी गर्दै भदौ २३ गते आइतबार प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका हुन् ।
प्रकृति पूजक थारू समुदायले विशेषगरी सूर्यको उपासना, पूजाआजा गरी बडका अतवारी पर्व धुमधामका साथ मनाउने प्रचलन रहेकाले सरकारले हरेक वर्ष थारू समुदायको बसोबास रहेका जिल्लाहरूमा सार्वजनिक बिदा दिने गरेको उपसचिव पन्थीले बताए ।
यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘व्रत’ बस्ने चलन छ । थारू समुदायमा बडका अतवारी पर्वमा निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक परम्परा छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् ।
पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अतवारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने
गरिन्छ । आइतबार मनाइने भएकै कारण यो पर्वको नाम अतवारी राखिएको मान्यता छ । सूर्य अग्निको प्रतीक पनि हो ।
प्रतिक्रिया दिनुहोस्