महिनामा २५ सयदेखि ३ हजारको हाराहारीमा सेवाग्राहीहरू अस्पताल पुग्ने गरेकोमा हाल २ हजार आसपासमा झरेका छन् । अर्काेतिर अस्पतालमा पुग्ने सेवाग्राहीहरू पनि महँगो मूल्य पर्ने जाँच निजी प्रयोगशालाहरूबाट गराउनुपर्दा आर्थिक भार र झन्झट बोक्न बाध्य छन् । अस्पतालमा साढे ७ हजारमा हुने सिटी स्क्यान नेपालगन्जको निजी प्रयोगशालामा जाँच गराउँदा १५ हजार तिर्नुपरेको सेवाग्राहीहरू बताउँछन् ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले आगलागीबाट बन्द हुन पुगेका सिटी स्क्यान र एक्स–रेललगायतका मेसिनहरू पाँच महिना बित्दापनि सुचारु गर्न सकेको छैन । आगलागीले बिगारेको विद्युत् कनेक्सन सुचारु गर्न नै चार महिनाभन्दा बढी लगाएको अस्पताल प्रशासन अहिले सिटी स्क्यान मेसिनको सीपीयू र कन्ट्रोल बक्समै समस्या देखिएको बताइरहेको छ ।
ती सामानहरू जर्मनीबाट ल्याउनुपर्ने र ३६ लाखभन्दा बढी खर्च लाग्ने देखिएको अस्पतालका निर्देशक डा. प्रकाशप्रसाद शाहले बताए । मेसिनमा कस्तो खालको खराबी आएको छ भन्ने थाहा पाउन नै अस्पताल प्रशासनले चार महिना समय लगाएको छ । बल्ल आएर सिटी स्क्यानको सीपीयू र कन्ट्रोल बक्सका लागि टेन्डरको आह्वान गर्न लागेको शाहले गत बुधबार मिसन टुडेलाई जानकारी दिए ।
सिटी स्क्यान मात्रै नभई अस्पतालको रेडियोलोजी विभागको एक्स–रे मेसिनसमेत सञ्चालनमा ल्याउन अस्पताल असफल भएको छ । विद्युत्को कनेक्सन सुधारकै लागि भने अस्पतालले २० लाख रुपैयाँभन्दा बढीका ब्याट्री, यूपीएसलगायतका विद्युतीय उपकरण खरिद गरेको थियो ।
क्यान्सर रोग पहिचानका लागि महत्वपूर्ण मानिने सिटी स्क्यान मेसिन नै नचल्ने भएपछि सेवाग्राहीहरू घट्न थालेका छन् । पछिल्ला केही महिनामा सेवाग्राहीको सङ्ख्या निरन्तर ओरालो लागिरहेको चिकित्सकहरू बताउँछन् । अस्पतालका निर्देशक डा. शाहका अनुसार पहिले महिनामा २५ सयदेखि ३ हजारको हाराहारीमा सेवाग्राहीहरू अस्पताल पुग्ने गरेकोमा हाल २ हजार आसपासमा झरेका छन् ।
अर्काेतिर अस्पतालमा पुग्ने सेवाग्राहीहरू पनि महँगो मूल्य पर्ने जाँच निजी प्रयोगशालाहरूबाट गराउनुपर्दा आर्थिक भार र झन्झट बोक्नु परिरहेको बताउँछन् । एकजना सेवाग्राहीले अस्पतालमा पुगेपछि सोचेअनुसारको सेवा नपाएको गुनासो गरे । अस्पतालमा साढे ७ हजारमा हुने सिटी स्क्यान नेपालगन्जको निजी प्रयोगशालामा जाँच गराउँदा १५ हजार तिर्नुपरेको सेवाग्राहीहरू बताउँछन् ।
अस्पतालमा बहुप्रतिक्षित सेकाइबाट उपचार गर्ने लिन्याक मेसिन आएको ८ महिना बितिसक्दा पनि सञ्चालनमा आएको छैन । २५ करोड मूल्यको उक्त मेसिनको एचएस कोड नमिलेपछि मेसिनको ४० प्रतिशत मूल्य भुक्तानी भएको छैन । अहिले ८ महिनामा मेसिनले काम गर्छ कि गर्दैन भन्ने नै यकिन हुन सकेको छैन । अस्पतालका निर्देशक शाह अब मेसिन जडानको काम भइसकेको बताउँछन् ।
तर, मेसिन सञ्चालनका लागि दक्ष जनशक्ति नै अस्पतालसँग छैन । अस्पतालमा मेसिन आएपनि त्यो नागकिहरूका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्ल आफूले समन्वयका लागि सबै प्रयत्न गर्दा पनि प्रशासनबाट प्रतिफल आउने गरी काम हुन नसकेको बताउँछन् । आगलागी भएको पाँच महिना बित्दापनि मेसिनहरू सञ्चालनमा आउन नसक्नुले आफूहरूको कार्यक्षमतामाथि प्रश्न उठ्न थालिसकेको उनी स्वयम् स्वीकार्छन् । सिटी स्क्यान मेसिन सुचारु गर्न आफूले सबै प्रयत्न गरिरहेको र अझै एक महिना कुर्नुपर्ने अवस्था देखिएको मल्लको भनाइ छ ।
पुराना मेसिनहरू चलाउन नसकिरहेको अस्पतालले अहिले नयाँ सिटी स्क्यान मेसिन खरिद गरिसकेको छ । अहिलेको १६ स्लाइस क्षमताको सिटी स्क्यान बन्द रहेको अवस्थामा अहिले खरिद भएको सिटी स्क्यान मेसिन भने १२८ स्लाइस क्षमताको रहेको निर्देशक शाहको भनाइ छ ।
यसका साथै अस्पतालमा मेडिकल अङ्कोलोजिस्ट र रेडियोलोजिस्टसमेत छैनन् ।
मेडिकल अङ्कोलोजिस्टकै लागि कतिपय बिरामीहरू चितवन पुग्न थालेको पाइएको छ । रेडियोलोजिस्ट नहुँदा सिटी स्क्यान जस्ता मेसिनहरू सञ्चालनमै पनि समस्या आउने गरेको छ । करारमा दिउँसो २ बजेपछि मात्रै सीमित सेवाग्राहीले सेवा पाउने अवस्था अस्पतालमा छ ।
प्रतिक्रिया दिनुहोस्