खजुरामा आधुनिक बसपार्क निर्माणको तयारी



आधुनिक बसपार्क निर्माणका लागि वडा नम्बर ३ को ‘क’ गाउँमा प्रस्तावित गरिएको छ । त्यहाँ करिब डेढ बिघा क्षेत्रफलमा आधुनिक बसपार्क बन्नेछ ।

खजुरा ।

बाँकेको उदाउँदो सहर खजुरामा आधुनिक बसपार्क निर्माणको तयारी थालिएको छ । बसपार्क बनाउने भनिएको स्थलको प्राविधिकसहित खजुरा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले बिहीबार स्थलगत निरीक्षण गरेका छन् ।

बिहीबार बसपार्क बन्ने भनिएको जग्गाको नापजाँच तथा निरीक्षण गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए । ‘प्राविधिकसहित गएर हामीले बसपार्क बन्ने भनिएको जग्गाको नापजाँच र निरीक्षण गरेका छौँ,’ उनले मिसन टुडेसँग भने, ‘अब यसका लागि बाँकी प्रक्रिया अगाडि बढ्छ ।’

खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लका अनुसार आधुनिक बसपार्क निर्माणका लागि वडा नम्बर ३ को ‘क’ गाउँमा प्रस्तावित गरिएको छ । त्यहाँ करिब डेढ बिघा क्षेत्रफलमा आधुनिक बसपार्क बन्ने उनले बताइन् ।

गाउँपालिकाले बसपार्क निर्माणका लागि चालु आवमा २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आधुनिक बसपार्क निर्माणमा करिब १६ करोड ५१ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक तुफानले खजुरालाई बसपार्क अति आवश्यक देखिएकाले विशेष ध्यान दिएर निर्माण गर्ने गरी प्रारम्भिक कार्यको सुरुवात गरेको जानकारी दिए । उनका अनुसार चालु आवमा छुट्याइएको रकमले बसपार्कको क्षेत्रमा माटो पटान, पर्खाल निर्माण र गेट निर्माणको कार्य गरिनेछ ।

आधुनिक बसपार्कमा ट्याक्सी स्ट्यान्ड, गार्ड हाउस, टिकट काउन्टर, प्रतीक्षालय, क्यान्टिन र लामो अवधिको पार्किङलगायत सुविधा रहने अध्यक्ष तुफानले बताए । बसपार्क बनेपछि साना तथा ठूला सवारी साधन सडकछेउमै राखिने गर्दा दुर्घटना र जाम हुने समस्याको हल हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २०८१ भदौ १४ गते शुक्रबार