हर्षोल्लासका साथ मनाइयो गौरा पर्व



कैलाली ।

सुदूर र कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा गौरा पर्व हर्षोल्लासका साथ सोमबार मनाइएको छ ।

विशेषगरी सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्वको यो पर्वको अवसरमा राजधानीको टुँडिखेलमा समेत बृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको थियो । राजधानीसहित सुदूरपश्चिममा हर्षोल्लासका साथ सोमबार गौराको मुख्य दिनका अवसरमा विभिन्न कार्यक्रमका आयोजना गरिएका थिए ।

काठमाडौँमा बसोबास गर्दै आएका सुदूरपश्चिमबासीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशको कला तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत नेताहरू समेत सहभागी भएका थिए ।

भदौ शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्व उमामहेश्वरसहित दुबोको पूजा गरेर सोमबार गौरा पर्व मनाइएको थियो । गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् ।

गौरामा पर्वमा महिलाहरूले मागल गाउने गर्छन् । मागल गायन एक किसिमको धार्मिक लोकगाथा र भगवानको आराधना हो । गौरा पर्वको मुख्य आकर्षण देउडा हो । देउडामा पौराणिक कथा, देवीदेवताका गाथा तथा सामाजिक विकृतिविरुद्ध व्यङ्ग्य गर्ने चलन छ । एकताको पर्वका रूपमा लिइने गौरा पर्वमा देउडा गीतका माध्यमबाट दुःख र माया साटासाट गर्ने चलन पनि छ ।

सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भदौ महिनामा जल, जंगल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा पर्व सुरु भएको किंबदन्ती छ । गौरा पर्वमा सुदूरपश्चिममा कुनै किसिमको विभेद तथा छुवाछूत माने पाप लाग्ने धार्मिक विश्वास समेत छ ।

प्रकाशित मिति : २०८१ भदौ ११ गते मंगलबार