श्रद्धापूर्वक मनाइयो श्रीकृष्णजन्माष्टमी



सुर्खेत,१० भदौः
देउतीबज्यै मन्दिरमा भक्तजन
श्रीकृष्ण जन्माष्टमीका अवसरमा सुर्खेतको बिरेन्द्रनगर–११ पिपिरामा अवस्थित देउतीबज्यै मन्दिरमा पूजा आराधना गर्न सोमबार लामवद्ध भक्तजन । तस्बिरः

नेपालगन्ज ।

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व सोमबार देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाएका छन् । पाटनस्थित कृष्ण मन्दिर, यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधामलगायतका कृष्ण मन्दिरहरूमा सोमबार बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।

बाँके, बर्दिया, सुर्खेत, दाङलगायतका जिल्लामा रहेका कृष्ण मन्दिरहरूमा समेत भक्तजनहरूले पूजापाठ गरेका थिए । मन्दिर तथा गाउँघरमा समेत महिला दिदिबहिनीहरूले नाचगान गरेर रमाइलो गरेका थिए ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्छन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ ।

छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।

प्रकाशित मिति : २०८१ भदौ ११ गते मंगलबार