बर्दियामा बढे डेंगी र स्क्रब टाइफसका बिरामी



बर्दिया ।

बर्दिया जिल्लामा डेंगी र स्क्रब टाइफसका बिरामी देखिएका छन् । जिल्ला अस्पताल गुलरियामा भर्ना भएका बिरामीको स्वास्थ्य परीक्षण गर्दा आठ जनामा डेंगीको संक्रमण पुष्टि भएको हो । जिल्लामा साउनयता डेंगी संक्रमितको संख्या एक दर्जनभन्दा बढी रहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

अस्पतालमा रगत परीक्षण गराउने १४७ जनामध्ये ८ जनामा डेंगीको संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभास पाण्डेयले बताए । उनका अनुसार २ सय ५२ जनाको रगत परीक्षण गराउँदा २७ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थियो ।

‘यो तथ्याङ्क जिल्ला अस्पतालको मात्रै हो । जिल्लाभर यसवर्ष डेंगी र स्क्रब टाइफसका बिरामी बढेका छन्,’ डा. पाण्डेयले भने, ‘संक्रमितलाई १ सय ४ डिग्रीसम्म ज्वरो आउने, रिंगटा लाग्ने, आँखाको गेडी दुःख्ने, श्वास प्रश्वासमा समस्या आउने, बेहोस हुने जस्ता लक्षण देखिएका छन् ।’

जिल्ला अस्पताल गुलरियामा आईसीयू नभएका कारण जटिलखाले बिरामीलाई उपचारका लागि बाँकेमा रहेका विभिन्न अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको छ ।

बर्दियामा पछिल्लो समय डेंगी र स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढ्दै गएकाले स्वास्थ्य कार्यालयले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८१ भदौ ६ गते बिहीबार