मेयरले चलाए आफ्नै घरमा डोजर



लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लमही–कोइलावास सडक क्षेत्रमा पर्ने आफ्नै घरमा डोजर चलाएर सडक विस्तारको काम सुरु गरेका हुन् ।
शिवु खनाल । दाङ ।

लामो समयदेखि लमही–कोइलाबास हुलाकी सडकखण्ड क्षेत्रको सडक विस्तार हुन सकेको थिएन । सडक विस्तार नहुँदा सवारी चापका कारण दुर्घटनाको जोखिम उच्च थियो । साँघुरो सडकका कारण बजार क्षेत्रको सुन्दरतासमेत हराउँदै गएको थियो । बजार क्षेत्रमा सवारी पार्किङ अस्तव्यस्त अवस्थामा थियो भने पैदलयात्रीका लागि उपयुक्त सडकपेटी समेत निर्माण हुन सकेको थिएन ।

सडक विस्तारमा तीन तहका सरकारको चासो पर्न सकेको थिएन । संघीय सरकार मातहत रहेको हुलाकी सडक विस्तारमा लमही नगरपालिकाले पटक–पटक गरेको पहल पनि व्यर्थझैँ बनेको थियो । संघीय सरकारले यस विषयमा उचित निर्णय नगर्दा लमही नगरपालिकाले आफ्ना विकासे योजना पर्याप्त मात्रामा कार्यान्वयन गर्न सकेको थिएन ।

यही अवस्थालाई मध्यनजर गर्दै पछिल्लो समय लमही बजार क्षेत्रको सडक विस्तारका लागि लमही नगरपालिकाले सक्रियता बढाएको छ । नगरपालिकाले सडक विस्तारमा विगतदेखि नै पहल गर्दै आएको भए पनि संघीय सरकारले चासो नदिँदा समस्या देखिँदै आएको थियो । तर, लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले लमही–कोइलावास सडक क्षेत्रमा पर्ने आफ्नै घरमा डोजर चलाएर सडक विस्तारको काम सुरु गरेपछि अहिले सो सडक विस्तार हुनेमा आशा पलाएको छ ।

नगर प्रमुख चौधरीले सडक क्षेत्रमा पर्ने आफ्नै घर भत्काएर अभियानको शुभारम्भ गरेका हुन् । ‘यो पुरानो घर हो । यस घरमा विगतका वर्षमा धेरै कार्यालयहरू बसे । मान्छेहरूको बस्ने ठाउँ भयो । अहिले सडक क्षेत्र फराकिलो बनाउने क्रममा सडक क्षेत्रमा पर्न गयो,’ उनले भने, ‘सडक चौडा बनाउने, बजार राम्रो बनाउने अभियानका लागि मैले पहिलो डोजर आफ्नै घरमा लगाएँ ।’

डोजर लिएर प्रतिनिधि सभा सदस्य मेटमणि चौधरी, नगर प्रमुख चौधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, सडक डिभिजन कार्यालयका कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीसहित प्रहरी, जनप्रतिनिधि र स्थानीयहरू पुगेका थिए । बुधबारबाट लमही–कोइलावास सडक क्षेत्र खाली गराउने अभियान सुरु भएको हो । सडक डिभिजन कार्यालय दाङले ३५ दिने सूचना जारी गर्दै सडक क्षेत्रको दायाँबायाँ १५/१५ मिटरमा बनेका सबै संरचना हटाउन अपिल गरेको थियो । साउन २९ गते सूचना सार्वजनिक गरिएको थियो ।

हुलाकी सडक विस्तार हुँदा सडकको दायाँबायाँ १५/१५ मिटर क्षेत्र सडक क्षेत्रमा पर्नेगरी मुआब्जा वितरण गरिएको थियो । हुलाकी सडक आयोजना सुरु हुने क्रममा जग्गाको मुब्जा बुझिसकेकाले घरको पनि मुआब्जा माग गरेपछि सडक क्षेत्र खाली हुन सकेको थिएन । सडक कालोपत्रे मात्रै गरिएको थियो । झन्डै आठ वर्षपछि सडक क्षेत्र खुला गर्ने अभियान सुरु भएको हो ।

लमही बजार क्षेत्रमा सडक क्षेत्र साँघुरो छ । जसले गर्दा बजार राम्रोसँग विस्तार हुन सकेको छैन । अब बजारको सुन्दरता र यहाँको विकासका लागि काम गरिने प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले बताए । ‘घर भत्किएपछि धुलो उड्ने, हिलो हुने जस्ता समस्या हुन्छन् कि भन्ने चिन्ता छ । हामी त्यस्तो हुन दिँदैनौँ । सडक खाली हुँदै जान्छ नाला बनाउने, सडक कालोपत्रे गर्ने काम पनि सँगसँगै हुन्छ,’ उनले भने, ‘सडक खाली गराउने अभियानलाई सहयोग गर्न सबै नगरवासीसँग अपिल गर्दछु ।’

सडक क्षेत्राधिकारभित्र पर्ने घर मात्र भत्काइएको उनले जानकारी दिए । सडक डिभिजन कार्यालय दाङका प्रमुख गुरुप्रसाद अधिकारीले राष्ट्रिय राजमार्गको रूपमा लमही–कोइलावास सडकको नामकरण शहीद मार्गको रूपमा भएको भन्दै यसको संरक्षण, संवद्र्धन र व्यवस्थापन गर्ने काम सडक डिभिजन कार्यालयको भएको बताए ।

‘सडक क्षेत्र खाली गराउने अभियान चल्यो,’ उनले भने, ‘अब यो अभियानमा नगरबासी सबैको साथ सहयोगको खाँचो छ ।’ यसका लागि ३५ दिने सूचना जारी गरिएको जनाउँदै उनले त्यसमा सबैले स्वेच्छिक रूपमा संरचनाहरू हटाउने अपेक्षा गरिएको बताए ।

३५ दिनभित्र सूचनाको पालना नगरेको अवस्थामा भने विभागीय मेसिन औजार प्रयोग गरेर संरचना हटाइने उनले जानकारी दिए । ‘त्यसमा लागेको खर्च पनि जग्गाधनीबाट असुल गराउने सडक ऐन, २०३१ मा प्रस्ट व्यवस्था छ,’ उनले भने, ‘त्यही कानुनलाई टेकेर हामी अगाडि
बढ्छौँ ।’ सडक डिभिजन कार्यालयले संरचना हटेपछि सडक पूर्वाधार निर्माणका लागि काम गर्ने जनाएको छ ।

लमही–कोइलावास हुलाकी सडक औपचारिक रूपमा नेपाल सरकारलाई विसं २०७७ साल चैत १८ गते हस्तान्तरण गरिएको थियो । ७६ करोडको लागतमा भारत सरकारको अनुदान सहयोगमा ३३.४६ किलोमिटर सडक निर्माण गरिएको हो ।

यो सडक विस्तार गर्दा मुआब्जा वितरणको जिम्मा नेपाल सरकारको थियो । ३६ करोड बढी बजेट जग्गाको मुआब्जा वितरणमा खर्च भएको
छ । तर लमही नगरपालिका–४ सेम्रहवाका नागरिकहरूले सडकमा परेको जग्गाको मुआब्जा सडक बनिसक्दा पनि पाएका छैनन् ।

प्रकाशित मिति : २०८१ भदौ ६ गते बिहीबार