कोहलपुर ।
कोहलपुरको प्रेमनगरमा रहेको सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पताल सञ्चालनमा आउने भएको छ । योग एवम् प्राकृतिक स्वास्थ्य समाज नेपाल कोहलपुरले निर्माण गरेको अस्पताल पर्सि शुक्रबारदेखि सञ्चालनमा आउन लागेको हो । अहिले अस्पताल सञ्चालनका लागि भौतिक पूर्वाधार, सरसफाइ र मर्मत कार्य अन्तिम चरणमा रहेको अध्यक्ष नमप्रसाद शर्माले जानकारी दिए ।
योग एवम् प्राकृतिक स्वास्थ्य समाजद्वारा सञ्चालित आयुर्वेद तथा प्राकृतिक अस्पताल सञ्चालनका लागि जनशक्ति र औषधिको सम्पूर्ण तयारी तीव्र पारिएको उनले बताए । ‘तत्कालका लागि अस्पताल सञ्चालन गर्न सकिने पूर्वाधार निर्माण भएको छ ।
७ गतेबाट अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेका छौँ । त्यसका लागि आवश्यक पूर्वाधार तथा जनशक्ति र सामग्री व्यवस्थापना जुटेका छौँ,’ उनले मिसन टुडेसँग भने, ‘अस्पताल सञ्चालन भएपछि सेवाग्राहीले प्राकृतिक तथा आयुर्वेदिक पद्धतिबाट सेवा पाउनेछन् ।’
अस्पताल सञ्चालन हुँदा पश्चिम नेपालमा नयाँ पद्धतिबाट उपचार सेवा सुरु हुने उनले बताए । अध्यक्ष शर्माका अनुसार बिरामीलाई आयुर्वेदिक र प्राकृतिक पद्धतिबाट उपचार गरिनेछ । अस्पताल निर्माण भएको लामो समय भए पनि जनशक्ति, भौतिक पूर्वाधार र आर्थिक अभावका कारण सञ्चालन गर्न नसकिएको उनले जानकारी दिए । अहिले सञ्चालनका लागि ९ जना कर्मचारी र औषधि खरिद गरेर ल्याइसकेको उनले बताए ।
आर्थिक रूपले कमजोर रहेकाले कर्मचारी पाल्न चुनौती रहेको उनको भनाइ छ । कोहलपुरका स्थानीयहरूलाई घर आँगनमा सहज र सुलभ रूपमा प्राकृतिक र आयुर्वेदिक पद्धतिबाट सेवा प्रदान गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।
यहाँका बासिन्दालाई आयुर्वेद सेवा दिन पाउँदा खुसी लागेको उनी बताउँछन् । कोहलपुरमा आयुर्वेद अस्पताल सञ्चालन नहुँदा अन्य ठाउँहरूमा गएर सेवा लिनुपर्ने बाध्यता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्