कैलाली ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् ।
बुधबारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन् । शाहले सभामा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा जना प्रदेश सभा सदस्यले मतदान गरेका थिए । ५३ सदस्यीय प्रदेश सभामा शाहलाई नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७ गरेर ३६ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।
बैठकमा सहभागी माओवादी केन्द्रका ४ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ गरेर ८ जना प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरे । स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोश भने तटस्थ बसेका थिए । बैठकमा राप्रपाकी खेमादेवी बिष्ट र माओवादी केन्द्रका ६ जना प्रदेश सभा सदस्य बैठकमा उपस्थित थिएनन् ।
सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा बहुमत प्रदेश सभा सदस्यले मतदान गरेको भन्दै प्रदेश सभाबाट प्रस्ताव स्वीकृत भएको घोषणा गरे ।
संघमा राजनीतिक समीकरण फेरिएर कांग्रेस र एमालेको गठबन्धन बनेपछि २० साउनमा शाह मुख्यमन्त्रीमा शाह नियुक्त भएका थिए । २१ साउनमा पदभार ग्रहण गरेका शाहले सोही दिन मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । शाहले यसअघि माओवादी, एकीकृत समाजवादीसहितको समर्थनमा १४ महिना प्रदेश सरकारको नेतृत्व गरेका थिए ।
मुख्यमन्त्रीले विश्वासको मत पाएसँगै प्रदेश सरकारले अब चाडै चालु आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको छ । यसअघि दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट राजनीतिक समीकरण फेरिएपछि प्रदेश सभाबाट पारित हुन सकेको थिएन ।
प्रतिक्रिया दिनुहोस्