गणेश रावत । कोहलपुर ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले घरेलु जडीबुटीको प्रयोग घट्दै जाँदा स्वास्थ्य समस्या बढ्दै गएको दाबी गरेका छन् । पछिल्लो समय घरेलु जडीबुटीको प्रयोग घट्दै गएर बजारमा उपलब्ध औषधिको प्रयोग बढ्दै जाँदा स्वास्थ्य समस्या बढ्दै गएको उनले बताएका हुन् ।
कोहलपुर नगर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै मन्त्री पौडेलले बजारमा उपलब्ध औषधिले एउटा रोग निको पार्न दिएको औषधिले अर्काे रोग उब्जाउने स्थिती बढिरहेको बताए । त्यसका कारण समेत पछिल्लो समय नेपालमा स्वास्थ्य समस्या दिनप्रतिदिन बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे ।
‘अबको दिनमा रोगको उपचार गर्ने मात्र नभई रोग नै लाग्न नदिन जरूरी रहेको छ’ मन्त्री पौडेलले भने, ‘नयाँ पुस्तालाई अब कसरी स्वस्थ बनाउने भन्ने विषयमा कोहलपुर नगरपालिकाले काम गर्न जरूरी छ ।’
नगरपालिका नागरिकको स्वास्थ्य सेवाप्रति गम्भिरतापूर्वक लागेको भन्दै उनले खुसी व्यक्त गरे । स्वास्थ्य बिमा, अस्पताल सञ्चालन मात्र नभई नगरपालिकाले आफ्ना नागरिकलाई रोगबाट बच्ने उपायबारे जानकारी र सचेतना कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका थिए ।
बजारमा उपलब्ध बिषाधीयुक्त फलफूल, खाद्यपदार्थको अनुगमन र कडाई आम नागरिकलाई स्वस्थ रहन कसरत गर्ने वातावरण सिर्जना गर्न मन्त्री पौडेलले नगरपालिकालाई आग्रह समेत गरे ।
यति मात्र नभई सरकारी अस्पताललाई प्रभावकारी बनाउन, औषधि गुणस्तर र औषधिको मूल्य घटाउने लगायतका थुप्रै विषयमा काम गरिरहेको उनको भनाइ छ । आगामी दिनहरूमा तीन तहको सरकार अर्थात् स्थानीय, प्रदेश र संघको स्वास्थ्यमा खर्च हुने रकम एकद्वार प्रणालीबाट लैजानुपर्नेमा उनले जोड दिए ।
अहिले पनि स्वास्थ्य संस्थाहरूमा जनशक्ति अभाव र पूर्वाधारको अभाव रहेको भन्दै मन्त्री पौडेलले एकैपटक सोचे जस्तो स्वास्थ्य सेवा हुन नसक्ने बताए । ‘अहिले नै जनशक्ति उत्पादन र भौतिक पूर्वाधार दुई महिनामा ठडाउन सक्ने अवस्था छैन्’ उनले भने, ‘तर हामीलाई स्वास्थ्य सेवा आज नै प्रभावकारी चाहिएको छ ।’ त्यसैले आजको दिनबाटै स्वास्थ्य सेवा प्रभावकारी बनाउन उपलब्ध स्रोत साधनबाट अधिकतम लाभ लिन सक्नुपर्ने अवस्था रहेको उनले बताए ।
नगर अस्पतालमा बिमा कार्यक्रम उद्घाटन
कोहलपुर नगर अस्पतालमा लागू हुन गइरहेको स्वास्थ्य बिमा कार्यक्रमको शुक्रबार उद्घाटन गरिएको छ । एक कार्यक्रमकाबिच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले बिमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै उनले यहाँका नागरिकले बिमा सेवा लिन टाढा जानुपर्ने बाध्यता अन्त्य भएको बताए । स्वास्थ्य बिमालाई व्यवस्थित बनाउन मन्त्रालय लागिपरेको उनले जानकारी दिए ।
अहिले बिमाको स्रोत सुनिश्चित नरहेकाले प्रिमियम बढाउन आवश्यक रहेको मन्त्री पौडेलले बताए । ‘४८ लाख व्यक्तिले जम्मा गरेको डेढ अर्ब र सरकाले दिएको ७ अर्ब रकमबाट बिमा कार्यक्रम चल्न सक्दैन’ उनले भने, ‘त्यसैले प्रिमियम रकम बढाउन नसके बिमा कार्यक्रम व्यवस्थित हुन पनि सक्दैन ।’ अहिलेसम्म भेरी अस्पताललाई मात्रै बिमाको ८ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरलाई संघीय सरकारले हेर्ने दृष्टिकोण भिन्न रहेको बताएका थिए । कोहलपुरभन्दा पछाडी सुरु भएका बजारहरू धेरै अगाडि बढिसकेको भन्दै उनले तीभन्दा धेरै सम्भावना रहेको कोहलपुरलाई राज्यले हेर्ने दृष्टिकोणले गर्दा पछाडी परिरहेको बताए ।
सो अवसरमा उनले स्वास्थ्यमन्त्री पौडेललाई कोहलपुरको स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन माग राख्दै नगरपालिकाको तर्फबाट ध्यानाकर्षणपत्र बुझाएका थिए ।
नगर प्रमुख आचार्यले तीन प्रदेशको प्रवेशद्वार रहेको कोहलपुरमा निर्माण सम्पन्न हुन लागेको स्वास्थ्य चौकीको लागि आवश्यक पर्ने उपकरण, दरबन्दी बमोजिमको जनशक्ति र अत्यधुनिक भिडियो एक्सरे, प्रयोगशाला लगायतका व्यवस्थापन गरिदिन माग गर्दै ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
त्यस्तै कोहलपुर नगरपालिका–७ मा रहेको शहरी केन्द्रको भवन निमर्णको लागि बजेट व्यवस्थापन, कोहलपुर नगरपालिका–१५ मा रहेको नगर स्वास्थ्य प्रर्वद्वन केन्द्रको स्तरोउन्नती र उपकरणसहितको तालिम प्राप्त जनशक्ति व्यवस्थापन गरिदिन समेत माग गरिएको छ ।
कोहलपुर क्षेत्रभित्र संघीय सरकार वा प्रदेश सरकारको मातहतमा रहने गरी बाल अस्पताल निर्माणको लागि आवश्यक बजेट विनियोजन, नगरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूको दरबन्दी कोहलपुरमै पदस्थापना गरी नियमित तलब भत्ता व्यवस्थापन र सिकलसेल एनिमिया ल्याब सञ्चालनको लागि नियमित कार्यक्रममा समावेशगरी बजेट व्यवस्थापन र निःशुल्क उपचारको लागि व्यवस्थापन गरिदिन समेत माग गरिएको उपप्रमुख संगिता सुबेदीले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्