बाँके ।
नेपालगन्ज विमानस्थलबाट प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित पाँच जना भारतीय पर्यटकलाई पक्राउ गरेको छ । जहाजमार्फत काठमाडौँ जाँदै गरेका उनीहरूलाई स्रोत नखुलेको रकमसहित बुधबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूको साथबाट २४ लाख नगद नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।
डिएसपी डाँगीका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको सितापुर जिल्लाको थाना कोतवाली बस्ने ४४ वर्षीय प्रकाश नारायण गुप्ता, सोही ठाउँका ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आषिश गुप्ता, ३९ वर्षीय पंकज जैसवाल र ४६ वर्षीय बिमल गुप्ता रहेका छन् ।
विमानस्थलमा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त रकम बरामद भएको उनले बताए । रकमसहित पक्राउ गरी हुण्डी कारोबार सम्बन्धी कसूरमा बाँके जिल्ला अदालतबाट दिन चारको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बाँके प्रहरी स्रोतले दिएको जानकारी अनुसार उनीहरू नेपालगन्ज विमानस्थलबाट पशुपतिनाथ दर्शनका साथै काठमाडौंँ घुमघामका लागि जाँदै थिए ।
‘उनीहरू घुमघामका लागि काठमाडौँ जाँदै गरेको देखिन्छ’ ती प्रहरी अधिकारीहरूले भने, ‘अनुसन्धानका क्रममा हुण्डी कारोबारमा संग्लन हुने आधार देखिदैँन । बिशुद्ध नेपालमै घुमघाम गर्ने र नेपालमै पैसा खर्च गर्नको लागि उनीहरू आएको देखिन्छ ।’
प्रतिक्रिया दिनुहोस्