लामो समयदेखिको प्रयासपछि कोहलपुर नगर अस्पतालबाट नै स्वास्थ्य बिमा कार्यक्रम लागू हुने भएको छ । नगरपालिकाले यसको लागि नीतिगत निर्णय नै गरेर लामो समयदेखि पहल गरिरहेको थियो । पहलले सार्थकता पाएसँगै भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम नगर अस्पतालबाट सुरु हुँदैछ । त्यसपछि बिमा गरेका नगरबासीलाई बैजनाथ गाउँपालिकाको वनकटुवा जानुपर्ने बाध्यता हट्नेछ ।
बाँके ।
कोहलपुर नगरपालिकाको लामो प्रयासपछि कोहलपुर नगर अस्पतालमा बिमा कार्यक्रम लागू हुने पक्का भएको थियो । त्यसका लागि स्वास्थ्य बीमा बोर्ड र कोहलपुर नगर अस्पतालबीच सम्झौता भइसकेको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार ‘तपाईंको स्वास्थ्य, हाम्रो अठोट’ भन्ने मूल नाराका साथ सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम भदौ १ गतेबाट नगर अस्पतालबाट समेत सुरु हुनेछ ।
कोहलपुर नगरपालिकाले लामो समयदेखि गरिरहेको प्रयासले सार्थकता पाएको भन्दै नगर प्रमुख आचार्यले खुसी व्यक्त गरे ।
‘यसअघि स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध नगरभित्रका नागरिकलाई बैजनाथ गाउँपालिका पुग्नुपर्ने बाध्यता थियो’ उनले मिसन टुडेसँग भने, ‘अबदेखि कोहलपुरका नागरिकलाई मात्रै होइन, नगर अस्पताल पायक पर्ने अन्य पालिकाका नागरिकले पनि सेवा लिन सक्नेछन् ।
स्थानीय तह स्वास्थ्य बीमा संयोजन समितिका पदाधिकारीहरू, नगरपालिकाका कर्मचारीहरूको उपस्थितिमा कोहलपुर नगरपालिकाको तर्फबाट नगर प्रमुख आचार्य र स्वास्थ्य बिमा बोर्ड बाँकेका जिल्ला संयोजक रमेश आचार्यबिच सम्झौता पत्रमा हस्ताक्षर गरि स्वास्थ्य बिमा कार्यक्रमको सम्झौता समेत भइसकेको छ ।
नगर अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनको लागि नगरपालिकाले केही कर्मचारीलाई तालिममा समेत पठाउने तयारी गरेको छ । कर्मचारीलाई आवश्यक तालिम, अस्पतालमा आवश्यक तयारी लगायतका कामका लागि भदौ १ गतेदेखि सञ्चालनमा ल्याउनेगरी सम्झौता गरिएको नगर प्रमुख आचार्यले मिसन टुडेलाई बताए ।
‘अघिबाटै कार्यक्रम सञ्चालनमा ल्याउन सकिन्थ्यो’ उनले भने, ‘कर्मचारीलाई आवश्यक तालिम र अस्पतालमा आवश्यक तयारीका लागि केही दिन समय लाग्ने भएकोले भदौ १ गतेको समय राखेका हौं ।’
उनले स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रम रहेको बताए ।
स्वास्थ्य बिमा बोर्डको नमुना स्थानीय तह घोषणा कार्यविधि–२०७८ ले निर्देशित गरेका सम्पूर्र्ण मापदण्ड पूरा गर्दै कोहलपुर नगरपालिकाले नगर अस्पतालबाट बिमा कार्यक्रम सुरु गर्न लागेको कोहलपुर– १२ का वडाध्यक्ष वीरेन्द्र कुमार शाहले जानकारी दिए ।
उनका अनुसार बोर्डले मापदण्ड पुगेका स्थानीय तहहरूमा त्यहीँबाट स्वास्थ्य बिमा कार्यक्रम लागू गर्नसकिने गरी नमुना स्थानीय तह घोषणा कार्यविधि–२०७८ ल्याएपछि कोहलपुरले समेत नगर अस्पतालबाटै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा लगोको थियो ।
यसअघि नै नगरपालिकाले नगर प्रमुख आचार्यको संयोजकत्वमा स्थानीय तह स्वास्थ्य बिमा समिति निर्माण गरेर काम अगाडि बढाएको थियो ।
नगरपालिकाले त्यसको तयारी स्वरूप विशेषज्ञ नियुुक्तिदेखि फार्मेसी सञ्चालनसम्मको तयारी पूरा गरिसकेको छ ।
वडाअध्यक्ष शाहले नगर अस्पतालभित्र फार्मेसी, डाक्टर र दर्ताका लागि सफ्टवेयरको समेत व्यवस्था गरिसकिएको बताए । स्थानीय तह स्वास्थ्य बिमा समितिमा पालिका प्रमुखको संयोजकत्वमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, एक जना स्वास्थ्य विज्ञ, बढी जनसंख्या भएको वडाको वडाध्यक्ष, नगर स्वास्थ्य शाखा प्रमुखलगायत सदस्य रहने व्यवस्था गरिएको छ ।
स्वास्थ्य विज्ञको रूपमा नगरपालिकाले कसल्ट्यान्ट फिजिसियन डा. शिशिर शर्मालाई नियुक्त गरेको छ । कोहलपुरबाटै स्वास्थ्य बिमा कार्यक्रम लागू भएमा कोहलपुर नगरपालिकाका बासिन्दालाई निकै सहज हुनेछ । हाल बनकटुवा गएर रेफरल लेटर लिएर भेरी अस्पतालमा उपचार गराउन जानुपर्ने बाध्यता नरहने नगर उपप्रमुख संगिता सुबेदीले बताइन् ।
‘अहिले कोहलपुरबासीलाई बनकटुुवा गएर चिठी ल्याउ अनि भेरीमा गएर दशौँ दिनसम्म पालो कुरेर उपचार गराउनुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘नगर अस्पतालबाटै यो सेवा सुरु भएपछि कोहलपुरबासीलाई धेरै सुविधा हुनेछ ।’ स्वास्थ्य बिमाअन्तर्गतको रेफरल अस्पताल टाढा हुँदा कोहलपुरबासीले निकै दुःख पाइरहेको उनको भनाइ छ ।
यसअघि नै नगरपालिकाले पहिलो रेफरल सेन्टर नगर अस्पताललाई नै बनाउने निर्णयसमेत गरिसकेको छ । त्यसैगरी रेफरल अस्पतालका रूपमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई छनोट गरेको छ ।
आज स्वास्थ्यमन्त्रीले उद्घाटन गर्ने
कोहलपुर नगर अस्पतालमा लागू हुन गइरहेको स्वास्थ्य बिमा कार्यक्रमको आज उद्घाटन समेत हुँदैछ । एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले बिमा कार्यक्रमको उद्घाटन गर्ने तय भएको कोहलपुर नगर उपप्रमुख संगिता सुबेदीले जानकारी दिइन् ।
उनका अनुसार मन्त्री पौडेलले आज दिउँसो २ बजे नगरपालिका परिसरमा रहेको नगर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमको उद्घाटन गर्नेछन् । नेपालगन्जस्थित भेरी अस्पतालमा हुने एक कार्यक्रममा सहभागी हुन मन्त्री पौडेल बाँके आउँदैछन् ।
सोही अवसरमा मन्त्री पौडेलबाट नै स्वास्थ्य बिमा कार्यक्रमको उद्घाटन गराउने कार्यक्रम तय भएको कोहलपुर नगरपालिकाले जनाएको छ । त्यसका लागि सबै तयारी पूरा भइसकेको नगर उपप्रमुख सुबेदीले बताइन् ।
‘कार्यक्रम नगर अस्पतालमा भदौ १ गतेदेखि लागू हुने भएपनि शुक्रबार स्वास्थ्यमन्त्री ज्यूबाट उद्घाटन हुनेछ’ उनले मिसन टुडेसँग भनिन्, ‘त्यसको लागि नगरपालिकाले सम्पूर्ण तयारी पूरा गरिसकेको छ ।’
प्रतिक्रिया दिनुहोस्