कुसुममा हेलिकोप्टर आकस्मिक ल्याण्ड



बाँके ।

राप्ती सोनारी गाउँपालिका– १ स्थित राप्ती नदीको बगरमा बुधबार अन्नपूर्ण एयरलाइन्सको हेलिकोप्टर आकस्मिक अवतरण गरेको छ ।

काठमाडौँबाट पर्यटक लिएर सुदूरपश्चिमको बैतडी जाँदै गरेको हेलिकोप्टर मौसम प्रतिकुलताका कारण कुसुममा आकस्मिक अवतरण गरेको हो । खराब मौसमका कारण हेलिकोप्टरले नदी बगरमा फोर्स ल्याण्ड गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज टावरका अनुसार काठमाडौँबाट नेपालगन्ज हुँदै उडेको हेलिकोप्टर नेपालगन्जमा तेल हालेर बैतडी जाँदै थियो । नेपालगन्जबाट तेल हालेर सुर्खेत जाने प्रयास गरेर उडेको हेलिकोप्टर खराब मौसमका कारण कुसुममा फोर्स ल्याण्ड गरेको हो ।

बुधबार नै त्यहाँबाट नजिकै रहेको सशस्त्र प्रहरीको कुसुमस्थित बेसक्याम्पमा हेलिकोप्टर लगिएको थियो । सशस्त्रको बेसक्याम्पसमा राखिएको हेलिकोप्टर मौसममा सुधार भएपछि आज बिहानमात्रै बैतडीका लागि उड्ने बताइएको छ ।

दुई जना पर्यटकलाई बोकेर हेलिकोप्टर बैतडी जाँदै गरेको थियो । हेलिकोप्टरले आपतकालीन अवतरण गरेको ठाउँ नेपालगन्जबाट १२ नटिकल माइल पूर्वमा पर्छ । हेलिकोप्टरमा अन्य प्राविधिक समस्या भने नरहेको बताइएको छ ।

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहीबार