कोहलपुरको बजार क्षेत्रमै छाडा पशु चौपायाले हुर्किदैं गरेका धेरै बिरुवा भाँचिदिएका छन् । अहिले बिरुवा हुर्काउन कोहलपुरबासीको साथ पाएको नगरपालिकालाई छाडा पशु चौपाया टाउको दुखाईको बिषय बनेका छन् । यसले छाडा पशु चौपाया सकेसम्म छिटो नै व्यवस्थापन गर्न कोहलपुर नगरपालिकालाई दबाब समेत परेको छ ।
गणेश रावत । कोहलपुर ।
उदाहरण १
गत सोमबार मध्यराति १ः११ मिनेटमा कोहलपुर–नेपालगन्ज सडक खण्डको पिपल चौतारा नजिकै एक हुल छाडा पशु चौपाया आएर हुर्किएका बिरुवा भाँचिदिए ।
छाडा पशु चौपायाले कोहलपुर नगरपालिकाले सडक पेटीमा हुर्काइरहेका बिरुवाहरूमा काम नलाग्ने गरी क्षती पु¥याएका थिए ।
उदाहरण २
दिउँसोको समयमा एक महिनाअघि इलाका प्रहरी कार्यालय कोहलपुर छेउमा लगाइएका बिरुवा छाडा पशु चौपायाले भाँचे ।
प्रहरी कार्यालयकै छेउमा भएपनि समूहमा आएका ती पशु चौपायालाई कसैले रोक्न सकेनन् ।
…
यी दृव्य केही महिनायता कोहलपुर नगरपालिकाले बजार क्षेत्रमा राखेका सिसिटिभी क्यामेरामा कैद भएका हुन् । कोहलपुर नगर प्रहरीमा रहेको सिसिटिभीको कन्ट्रोल रूमबाट हेर्दा बजार क्षेत्रभित्र मात्रै छाडा पशु चौपायाले हुर्किदैँ गरेका बिरुवालाई क्षती पु¥याउने गरेका छन् ।
हालसम्म छाडा पशु चौपायाले एक दर्जन बिरुवाहरूमा क्षती गरेको रेकर्ड आफूहरूसँग रहेको कोहलपुर नगर प्रहरीका प्रमुख बीरबहादुर थापाले जानकारी दिए । ‘बिरुवा लगाउनुभन्दा पनि संरक्षण गर्न चुनौती थपिदैं गएका छन् । मानिसभन्दा पनि छाडा पशु चौपाया बिरुवा संरक्षणका लागि चुनौती बने ।’ उनले अगाडि भने ।
कोहलपुर नगर क्षेत्रका लगाइएका बिरुवाहरूको संरक्षणको लागि कोहलपुर नगरपालिकाले कोहलपुर नगर प्रहरीलाई जिम्मा दिएको छ । नगर प्रहरीले दिउँसोको समयमा छाडा पशु चौपायाहरू सकेसम्म धपाउने गरेका छन् । रातको समयमा आउने छाडा पशु चौपायाले भने बिरुवामा क्षती गर्ने गरेको नगर प्रहरी प्रमुख थापाले बताए ।
‘पहिला बिरुवा संरक्षणको लागि ट्री गार्ड बिरुवा रोप्दा पहिला राख्ने गरेका थियौं,’ उनले भने, ‘अहिले हामीसँग ट्री गार्ड नहुँदा गतवर्ष रोपिएका बिरुवाबाट ट्री गार्ड निकालेर अन्य ठाउँ प्रयोग गर्दा छाडा पशुबाट बिरुवा जोगाउन समस्या भएको हो ।’
बिरुवा लगाउनुभन्दा लगाएका बिरुवाहरू हुर्काउने काम महत्वपूर्ण रहेको बताउँदै उनले नगरपालिकासहित विभिन्न संघ संस्थाहरूले बजार क्षेत्रमा लगाएका ९० प्रतिशत बिरुवाहरू संरक्षण गर्न आफूहरू सफल भइरहेको बताए ।
छाडा पशु चौपायाले सडक पेटी, सडकको ग्रिन बेल्ट, खुला चौर लगायतका स्थानहरूमा लगाइएका बिरुवाहरूमा नोक्सानी पु¥याइदिने गरेका छन् । थापाका अनुसार पशु चौपायाले साना बिरुवालाई खाइदिने ठूलाका हाँगा भाँचिदिने र खाइदिने गरेर बढ्न दिदैंनन् । उनका अनुसार न्युरोड, खुला मैदान, चौराहा, पिपल चौतारा, साँझा चोक लगायतका ठाउँमा पशु चौपायाले बिरुवामा क्षती पु¥याएका छन् ।
क्रिकेट मैदानमा युवा संघले लगाएका २ सय ५० बिरुवामध्ये अधिकांश बिरुवा छाडा पशु चौपायाले नोक्सान गरेको कोहलपुर नगर प्रहरीले जनाएको छ । छाडा चौपायाले मात्र नभएर कोहलपुर चौराहामा रहेको गौशालाबाट चरणको लागि पुग्ने पशुहरूले समेत बिरुवामा क्षती गर्ने गरेका छन् ।
छाडा पशु चौपायाले कोहलपुर नगरपालिकाले अगाडि सारेको हरित नगर अभियानलाई नै चुनौती थपिदिएको छ । हरित नगर अभियानलाई आक्रमक रूपमा अगाडि बढाइरहेको नगरपालिकाका लागि छाडा पशु चौपाया चुनौतीका रूपमा खडा भएका छन् । दुःख गरेर हुर्काइरहेका बिरुवालाई पशु चौपायाले पछिल्लो समय धेरै नोक्सानी पु¥याइरहेका छन् ।
कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य गत आवमा मात्रै गोल्छाको सिक्टा सिँचाइको नहरदेखि दक्षिण जानकी गाउँपालिकालको सीमानासम्म १४ सयवटा बिरुवाहरू लगाइएको जानकारी दिए ।
उनका अनुसार सो अवधिमा कोहलपुर बजार क्षेत्रका न्युरोड, टाउन प्लानिङ, चौराहादेखि हाइस्कुल, नगरपालिका तथा नगर विकास, विभिन्न विद्यालय लगायतका कार्यालयहरूमा विभिन्न प्रजातीका ३५ सय बिरुवाहरू रोपिएको थियो । चालु आवमा मात्रै कोहलपुर बजारभित्र र वडाहरूमा समेत गरेर १० हजार बिरुवा लगाउने अभियानको सुरुवात भइसकेको नगर प्रमुख आचार्यले बताए ।
नगर प्रमुख आचार्य पनि बिरुवा लगाउनुभन्दा हुर्काउन नै चुनौती हुने बताउँछन् । ‘हामी कोहलपुरलाई हरित नगरको परिकल्पना गरेर अगाडि बढेका छौं’ उनले मिसन टुडेसँग भने, ‘सोही अनुसार काम समेत भइरहेका छन् । यसवर्ष मात्रै १० हजार वृक्षरोपण गर्ने लक्ष्य
छ । लगाउनुभन्दा हुर्काउन अझ बढी गाह्रो छ ।’
हरित अभियन्ता हेमन्तराज काफ्ले कोहलपुर मात्रै नभएर सबैतिर छाडा पशु चौपायाबाट बिरुवा संरक्षण गर्न धेरै समस्या हुने गरेको बताउँछन् । अब बिरुवा संरक्षणको लागि ट्री गार्ड र सामान्य तारबार मात्रै लगाएर नहुँने उनले बताए ।
उनका अनुसार छाडा पशु चौपायको व्यवस्थापन नैं बिरुवा संरक्षणकोे पहिलो उपाय रहेको हो । ‘कोहलपुरको हरित नगर अभियानमा बिरुवा रोप्न म आफैं सहभागी भएको हुँ’ हरित अभियन्ता काफ्ले भने, ‘कोहलपुरमा पानी, मल अन्य कुराको अभाव भन्दा पनि छाडा पशुबाट बिरुवा बचाउन कठिन छ ।’
ग्रिन बेल्टमा फूल रोपियो
कोहलपुर बजार क्षेत्रमा लगाएका बिरुवाहरूको गोडमेल गर्नुका साथै विभिन्न फूलहरू समेत रोपिएको छ । शनिबार कोहलपुर नगर प्रहरी र नगर स्तरीय युवा क्लब सञ्जालले संयुक्त रूपमा बिरुवाको गोडमेल र फूलहरू रोपेका हुन् ।
कोहलपुर साँझा चोक क्षेत्रको ग्रिन बेल्टमा रोपिएका बिरुवाको गोडमेल गरिएको नगर प्रहरी प्रमुख बीरबहादुर थापाले जानकारी दिए । नगरपालिकाले गत वर्ष लगाएका बिरुवाको काट्छाट् र झारपात गोडमेल गरि फूलहरू रोपिएको उनले बताए । उनका अनुसार बिरुवाको हेरचाह गर्ने मुख्य भूमिका नगर प्रहरीको रहेकाले बेलाबेला गोडमेल र काट्छाट् गर्ने गरेको छ ।
बजारको सुन्दरता कायम गर्न बिरुवासँगैँ फूलले थप शोभा बढाउने भएकाले फूलहरू समेत रोपिएको उनले जानकारी दिए । लगाएका फूल ढकमक्क फुलेर बिरुवासँगै सुन्दरता बढाउने थापाले दाबी गरे । बिरुवाको संरक्षणको लागि नगर प्रहरी मात्र नभई सबैले आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने उनी बताउँछन् ।
नगरपालिकाको अगाडि बढाएको हरित नगर अभियानमा एक इट्टा थप्न बाल क्लब, किशोरी क्लब बिरुवा गोडमेल र फूल रोप्न पुगेको नगर स्तरीय युवा क्लबका अध्यक्ष रमेश वरले जानकारी दिए । बिरुवा संरक्षण र गोडमेल गर्नु कोहलपुरका प्रत्येक नागरिकको दायित्व रहेको उनको भनाइ छ । नगरपालिकाले रोपेका बिरुवा अहिले अधिकांश हुर्किएको र यसलाई थप संरक्षणको आवश्यकता रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्