बाँके ।
एमाले केन्द्रको निर्देशनपछि लुम्बिनीमा संसदीय दलका नेता लीला गिरीलाई छाडेर उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री बनेका छन् । आइतबार कांग्रेस–एमालेबिच दलका नेता गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भए पनि सोमबार एमाले केन्द्रको निर्देशनपछि आचार्य मुख्यमन्त्री बनेका हुन् ।
एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका छन् । सोमबार नै आचार्यले नेपाली कांग्रेसको समर्थनमा ५६ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको समर्थन रहेको छ । ८७ जना सांसद रहेको लुम्बिनी प्रदेशमा ४४ जनाको बहुमत पुग्छ । अर्घाखाँचीको निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचिन आचार्य लुम्बिनी प्रदेशसभामा संसदीय दलका उपनेता हुन् ।
आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन, लीला गिरी नेतृत्वको सरकारमा ग्रामिण खानेपानी तथा सहरी विकासमन्त्री तथा जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् ।
सोमबार बिहानसम्म एमाले संसदीय दलका नेता गिरी दोस्रोपटक मुख्यमन्त्री बन्ने पक्काजस्तै थिए । एमालेका प्रमुख सचेतक तुलसी चौधरीले गिरीलाई मुख्यमन्त्रीका लागि दाबी पेश गर्न पत्र तयार गर्दै गरेको बेला अचानक एमाले महासचिव शंकर पोखरेलको एक फोनले गिरीको नाममा टिपेक्स लागेको थियो ।
सोमबार बिहानसम्म बिहानसम्म एमाले संसदीय दलका प्रमुख सचेतक चौधरीले सञ्चारमाध्यमहरूलाई लीला गिरीका नाममा दाबी पेस गर्ने गरी तयारी गरेको बताउने गरेका थिए ।
एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले पार्टीका महासचिव शंकर पोखरेलले फोन गर्दै चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन भनेपछि सोहीअनुसार नाम परिवर्तन गरिएको जानकारी दिए ।
‘यो पार्टी केन्द्रबाट आएको निर्देशन हो, बिहान महासचिव कमरेडले पार्टीको निर्णय हो चेतनारायण जीलाई मुख्यमन्त्री बनाउनुप¥यो, भनेपछि हामीले पार्टी केन्द्रको निर्देशन पालना गरेका हौं,’ उनले सेतोपाटीसँग भनेका छन् ।
अन्तिम समयमा किन लीला गिरीको नाम हटाएर चेतनारायण आचार्यको नाम सिफारिस गरियो भन्ने आफूलाई जानकारी नभएको कँडेलले दाबी गरे । ‘पार्टी महासचिवले फोन गरेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यलाई बनाउनुस् भन्नु भयो हामीले महासचिवको निर्देशन पालना गरेका हौं,’ कँडेलले भने ।
गिरी एमाले उपाध्यक्ष विष्णु पौडेल निकट र आचार्य महासचिव शंकर पोखरेल निकट हुन् । लुम्बिनीमा संसदीय दलका नेता गिरीलाई छाडेर उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने केन्द्रको ठाडो निर्देशनपछि महासचिव पोखरेल हाबी भएका छन् । महासचिव पोखरेल गिरीको नाममा ‘टिपेक्स’ लगाएर आचार्यको नाम लेख्न लगाएर मुख्यमन्त्री बनाउन समेत सफल भइसकेका छन् ।
पौडेल निकट गिरीलाई अचानक पछाडि पार्दै आचार्य मुख्यमन्त्री बन्नुका पछाडि महासचिव पोखरेलका साथै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको चासो र निर्देशनले काम गरेको नेताहरूले बताएका छन् ।
अन्तिम समयमा आएर मुख्यमन्त्री बन्न रोकिएका गिरीले पार्टी केन्द्रले आचार्यलाई मुख्यमन्त्री बनाउन एकाएक निर्देशन दिएपछि असन्तुष्टि व्यक्त गरेका छन् । उनले आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय संसदीय मूल्य–मान्यता विपरीत भएको टिप्पणी
गरे ।
‘यो निर्णय संसदीय मूल्य अनुरूप र विधिसम्मत भएन भनेर मैले माथी भनिसकेको छु,’ गिरीले भने । गिरीले संसदीय मूल्य मान्यताविपरीत पार्टीले निर्णय गर्दा इमान्दार कार्यकर्ता अन्यायमा पर्ने र सिंगो पार्टी नै कमजोर बन्ने दाबी गरे ।
गिरीले मुख्यमन्त्रीमा चेतनारायण आचार्यको नाम आएपछि आफैले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेको बताए । टेलिफोन कुराकानीमा ओलीले गिरीलाई यसपाली यस्तै भयो भनेका थिए । गिरीले आफू संसदीय दलको नेता भएपनि पार्टी केन्द्रले हस्तक्षेप गरेको आरोप लगाए ।
मन्त्री बन्न लबिङ
मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्य नियुक्त भएसँगै एमाले र कांग्रेसमा मन्त्री बन्नेको दौडधुप सुरु भएको छ । मन्त्रिमण्डल एकैसाथ गठन गरेर सरकारको स्थायित्वको सन्देश दिने गरी सत्ता साझेदार एमाले र कांग्रेसले आइतबार नै सहमति गरेका थिए ।
लुम्बिनीमा अहिले १२ वटा मन्त्रालय रहेका छन् । स्रोतका अनुसार दुई ठूला दलबीच मन्त्रालय थपघट नगर्ने सहमति भएको छ । ५/५ मन्त्रालय एमाले कांग्रेसले लिने र २ मन्त्रालय सरकारलाई समर्थन गर्ने साना दलहरूलाई दिने दुई दलले तयारी गरेका छन् ।
साना दललाई बिना सर्त सरकारलाई समर्थन गर्न उनीहरूले आग्रह गरिरहेका छन् । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, जनमत र लोसपाका ३/३, जसपाका २ र जसपा नेपालका १ प्रदेश सभा सदस्य छन् । ४ सदस्य रहेको राप्रपाले कुनै निर्णय गरेको छैन । माओवादीका १०, १/१ प्रदेश सभा सदस्य रहेको नेकपा एकीकृत समाजवादी, जनमोर्चा र स्वतन्त्र प्रदेश सभा सदस्य प्रतिपक्षमा बस्ने निर्णय गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बुधबार शपथग्रहण गर्ने गरी दलहरूले तयारी गरिरहेको जानकारी दिए । सबै मन्त्रीहरूको पनि एकै साथ टुंगो लगाएर एकै दिन मुख्यमन्त्री र मन्त्रीहरूको शपथग्रहण गराउने गरी बुधबारलाई शपथग्रहणको समय निर्धारण गरिएको उनले बताए ।
‘हामीले सकेसम्म स्थायित्व सहितको सरकार हो भन्ने सन्देश दिने र जनतालाई आशा जगाउने गरी काम गर्न खोज्दै छौं,’ उनले भने, ‘त्यसैले मन्त्री छनोटका लागि एक दिनको समय राखेर सबै टुंगो लगाएर शपथ गराउने हो ।’
कांग्रेसबाट सरकारको नेतृत्व गर्ने र मन्त्री बन्नेहरूको लबिङ र दौडधुप पनि सुरु भएको छ । कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की र दाङका राजु खनाल मध्ये एक जनाले सरकारको नेतृत्व गर्ने सम्भावना छ । खनाल यसअघि स्वास्थ्यमन्त्री बनेका थिए । आर्थिक मामिला मन्त्रालय लिएर खनालले नै नेतृत्व गर्न सक्ने सम्भावना रहेको रहेको छ । खनाल संस्थापन इतर र कार्की संस्थापन पक्षका हुन् ।
कांग्रेसबाट प्युठानका सरोज थापा (रोज राणा), बाँकेका बादशाह कुर्मी पनि मन्त्री बन्दै छन् । कार्की, खनाल, थापा र कुर्मी मन्त्री बन्ने निश्चत जस्तै छन् । त्यसबाहेक पाल्पाका बिरबहादुर राना, बर्दियाका भुवनेश्वर चौधरी र दाङका प्रचण्ड विक्रम न्यौपाने पनि मन्त्रीको लबिङमा छन् । कांग्रेसले ५ मन्त्रालय पाएको अवस्थामा राना, चौधरी र न्यौपाने मध्ये एक जना मन्त्री बन्ने कांग्रेसका एक नेताले जानकारी दिए ।
त्यस्तै एमालेमा पनि मन्त्रीका आकांक्षीहरू धेरै छन् । मन्त्रीका लागि रूपन्देहीका भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, तुलसीप्रसाद चौधरी मन्त्रीका आकांक्षी छन् । ढकाल यस अघि सहरी विकास तथा खानेपानी मन्त्री थिए । श्रेष्ठ पूर्व मन्त्री हुन भने प्रमुख सचेतक रहेका चौधरी अहिलेसम्म मन्त्री बनेका छैनन् । त्यस्तै मन्त्रीका लागि यसअघिका सामाजिक विकासमन्त्री बाँकेका रत्न खत्री र बाँकेकै बसन्ती न्यौपाने पनि आकांक्षी छन् ।
कपिलवस्तुका विष्णु पन्थी र गिरीधारीलाल न्यौपाने, गुल्मीका डिल्लीराज भुसाल र दीनेश पन्थी पनि मन्त्रीका आकांक्षी हुन् । दुई ठूला दललाई मन्त्रिपरिषद् समावेशी बनाउनु पर्ने बाध्यता छ । त्यस्तो अवस्थामा कांग्रेसबाट प्युठानकी निमा गिरी वा बाँकेकी सन्जुकुमारी चौधरी मध्ये एक जना मन्त्री बन्न सक्छन् । एमालेबाट बसन्ती न्यौपानेको सम्भावना रहेको छ ।
एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले सकेसम्म दुवै दलबाट मन्त्रीहरूको पनि नाम टुंगो लगाएर बुधबार एकैपटक सबैको शपथग्रहण गराउने दुई दलबीच सहमति भइसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्