बाँके ।
धान रोप्ने क्रममा चट्याङ लागेर राप्ती सोनारी गाउँपालिका–२ हरिहरपुरमा दुई जना महिलाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई खेतमा धान रोपिरहेको अवस्थामा मंगलबार साँझ करिब साढे ६ बजेको समयमा चट्याङ लागेको प्रहरी चौकी कचनापुरले जनाएको छ ।
चट्याङ लागेर मृत्यु हुनेमा स्थानीय ३२ वर्षीया निनादेवी उपाध्याय र सम्झना विक रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए । उनीहरूको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो ।
चट्याङमा परी अन्य दुई जना महिला गम्भीर घाइते भएका छन् । घाइते हुनेमा राप्ती सोनारी गाउँपालिका–९ घर भई हरिहरपुरमा बस्दै आएकी ३१ वर्षीया सलिना केसी र स्थानीय ३० वर्षीया विष्णु ओली केसी रहेको प्रहरी चौकी कचनापुरले जनाएको छ ।
घाइते दुवै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । कचनापुर प्रहरीका अनुसार घरनजिकै खेतमा धान रोपिरहेका चारै जनालाई चट्याङ लागेको थियो । चट्याङले एउटै गाउँका दुई जनाको ज्यान गएपछि हरिहरपुर शोकमा डुबेको
छ ।
प्रतिक्रिया दिनुहोस्