बाँकेका जग्गाको नयाँ सरकारी मूल्यः अधिकतम ५० देखि न्यूनतम १० प्रतिशतसम्म वृद्धि



कोहलपुर ।

बाँकेमा जग्गाको सरकारी मूल्य ५० प्रतिशतसम्म वृद्धि गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा हालै बसेको घरजग्गा न्यूनतम मूल्य निर्धारण समितिको बैठकले बाँकेमा अधिकतम ५० प्रतिशतदेखि न्यूनतम १० प्रतिशतसम्म जग्गाको सरकारी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

पालिकास्थित राजस्व परामर्श समितिहरूको सिफारिसका आधारमा सो मूल्य निर्धारण गरिएको बाँकेका प्रजिअ रिजालले जानकारी दिए । पालिकास्थित राजस्व परामर्श समितिहरूका सिफारिस, बैंकहरूको मूल्यांकन र चलन चल्तीको मूल्यका आधारमा सो मूल्य निर्धारण भएको उनले जनाए ।

बाँकेमा सबैभन्दा बढी खजुरा गाउँपालिकाको जग्गाको मूल्य वृद्धि भएको छ । खजुराको मुख्य सडकआसपासको जग्गामा प्रतिकठ्ठा ५० प्रतिशतका दरले मूल्य वृद्धि भएको मालपोत कार्यालय बाँकेका कर्मचारी वीरेन्द्र कार्कीले जानकारी दिए ।

गत आवमा १५ लाख ६० हजार प्रतिकठ्ठा मूल्य निर्धारण भएको खजुरा मुख्य सडक छेउछाउको जग्गा ५० प्रतिशत वृद्धि भएपछि २३ लाख ४० हजार प्रतिकठ्ठा कायम भएको छ । नेपालगन्ज–गुलरिया हुलाकी सडक चार लेनको बनेपछि खजुराको जग्गाको मूल्य भारी दरमा वृद्धि भएको छ ।

त्यसैगरी, खजुरा गाउँपालिकाको वडा नम्बर १ को राधापुरमा पनि ५० प्रतिशतले जग्गाको मूल्य वृद्धि भएको छ । खजुरा बजारदेखि केही भित्र रहेको जग्गा भए पनि त्यहाँको जग्गाको भारी मूल्य वृद्धि भएको छ ।

यसअघि राधापुरको पक्की सडकसँग जोडिएको जग्गा प्रतिकठ्ठा १ लाख ८० हजार सरकारी मूल्य कायम भएकोमा ५० प्रतिशतले वृद्धि भएको हो । राधापुर आसपासका जग्गाहरूको मूल्यका तुलनामा सो स्थानको जग्गाको मूल्य विगतमा कम भएकाले यस वर्ष बढी निर्धारण भएको हुनसक्ने कार्र्कीको भनाइ छ ।

त्यसैगरी, कोहलपुर नगरपालिकाका मुख्य सडकआसपासका जग्गा प्रतिकठ्ठा २५ प्रतिशतका दरले वृद्धि भएको छ । कोहलपुरका मुख्य सडकभित्रका पक्की र ग्र्याभिल सडकमा भने २० प्रतिशत, भित्री सडकमा १५ प्रतिशत र नक्सामा सामान्य बाटो भएका सडकमा १० प्रतिशतका दरले मूल्य वृद्धि गरिएको छ । त्यस्तै, साविक रझेना गाविसका पक्की सडकआसपासका जग्गा पनि २५ प्रतिशतकै दरले मूल्य वृद्धि गरिएको कार्कीले जानकारी दिए ।

त्यस्तै, बैजनाथ गाउँपालिकाका जग्गा एकमुष्ठ रूपमा प्रतिकठ्ठा २० प्रतिशतका दरले मूल्य वृद्धि गरिएको छ । नेपालगन्जका मुख्य सडक क्षेत्रका जग्गाको मूल्य १५ प्रतिशतका दरले वृद्धि भएका छन् । नेपालगन्ज उपमहानगरपालिका सुर्खेत रोड, न्यूरोडलगायतका क्षेत्रका जग्गा प्रतिकठ्ठा १५ प्रतिशतका दरले वृद्धि गरिएको हो ।

गत आवमा सो क्षेत्रका जग्गा ९९ सय लाख ६३ हजार प्रतिकठ्ठा कायम भएकोमा १५ प्रतिशत वृद्धि हुँदा यस आवमा १ करोड १४ लाख ५७ हजार ४ सय ५० रुपैयाँँ कायम हुने भएको छ । जानकी र डुडुवा गाउँपालिकामा भने पक्की, ग्र्याभिल र सडक पुगेका जग्गाहरूमा प्रतिकठ्ठा १०÷१० प्रतिशतका दरले मूल्य वृद्धि भएको छ ।

बैजनाथ गाउँपालिका बाहेकका पालिकाहरूका कुनै पनि खेतीयोग्य जमिनमा भने कुनै मूल्य वृद्धि नभएको कार्कीले जानकारी दिए । नेपालगन्ज र कोहलपुर नगर क्षेत्रका पनि खेतीयोग्य जमिनको मूल्य वृद्धि भएको छैन ।

रजिस्टे«सन लिखतबापत राजस्व उठाउने प्रयोजनका लागि मालपोत कार्यालयले प्रत्येक आर्थिक वर्षमा जिल्लाभित्रका जग्गाहरूको न्यूनतम मूल्य निर्धारण गर्ने गरेको छ । तर चलनचल्तीमा समितिले निर्धारण गरेको जग्गाको सरकारी मूल्यभन्दा अधिक मूल्यमा जग्गाको किनबेच हुने गरेको पाइन्छ ।

सडक, विद्युत्, सञ्चारलगायतका भौतिक पूर्वाधारको अवस्था, आर्थिक अवस्था, सो स्थानमा भइरहेको कारोबारलगायत मापदण्डका आधारमा जग्गाको मूल्य निर्धारण हुने गरेको मालपोत कार्यालय बाँकेका सूचना अधिकारी नवीनकुमार खड्काले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी अध्यक्ष र जिल्ला मालपोत कार्यालय प्रमुख सदस्य–सचिव रहेको समितिले जिल्लाभित्रका जग्गाको नयाँ मूल्य निर्धारण गर्ने गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ असार २६ गते मंगलबार