16 July 2024  |   मङ्लबार, साउन १, २०८१

आफ्नै फर्मलाई बजेट दिने सर्केगाडका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार २५, २०८१  

बाँके ।

हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकाया, तत्कालीन उपाध्यक्ष जोसी धामीसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध आइतबार विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गाउँपालिकाका तत्कालीन अध्यक्ष रोकाया, उपाध्यक्ष धामी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाही, इन्जिनियर रामराज शाही, सब–ओभरसियर पदमबहादुर धामी, लेखापाल पूर्णप्रसाद आचार्यलाई पनि आयोगले प्रतिवादी बनाइएको छ ।

त्यसैगरी योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष हंश रोकाया, सचिव तुलराज रोकाया र कोषाध्यक्ष सेतु रोकायाविरुद्ध पनि मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए । उनीहरूविरुद्ध जनही १९ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ ।

सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा कोइलिङ कृषि तथा पशुपालन फर्मका प्रोप्राइटर कृष्ण रोकायाले आफैँ आफ्नै फर्ममा बजेट विनियोजन गरेको आरोप पत्रमा उल्लेख छ । गाउँपालिका अध्यक्ष रहेकै अवस्थामा रोकायाले निजी जग्गामा रहेको थारी कोइलिङ कृषि तथा पशुपालन फर्मको घेराबार निर्माणका लागि बजेट विनियोजन गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार उक्त फर्ममा ढुंगाको पर्खालबाट घेराबार गर्न उनले सहोदर दाजु हंश रोकायाको अध्यक्षतामा निर्माण समिति गठन गरेका थिए । यस्तै, उनले आफ्नै श्रीमती सेतु रोकायालाई कोषाध्यक्ष र सचिवमा तुलराज रोकाया रहेको उपभोक्ता समिति गठन गराई योजना सञ्चालन गरेको पाइएको आयोगले आरोप पत्रमा उल्लेख गरेको छ ।

प्रकाशित मितिः सोमवार, असार २५, २०८१     10:08:16 AM  |