बाँके ।
राप्ती सोनारी गाउँपालिकाले ८५ करोड ८० लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार भएको गाउँसभाको १५औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारूले आगामी आव २०८१/०८२ को लागि ८५ करोड ८० लाख ८४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
आगामी आवको लागि प्रस्तुत गरिएको बजेट चालु आवको भन्दा ३ करोड रुपैयाँले कम रहेको छ । सभामा आगामी आवको बजेट प्रस्तुत गर्दै थारूले चालु खर्चतर्फ ५० करोड ६६ लाख ६५ हजार र पुँजिगत खर्चतर्फ ३५ करोड १४ लाख ३० हजार रुपैयाँ छुट्याइएको जानकारी दिए ।
शिक्षातर्फ ३७ करोड ८४ लाख १७ हजार, स्वास्थ्यतर्फ ७ करोड ७२ लाख २० हजार, कृषितर्फ १ करोड ६० लाख २० हजार, पशुतर्फ १ करोड २४ लाख २० हजार, महिलातर्फ २ करोड १ लाख, खानेपानीतर्फ ३० लाख, सहकारी तथा संघसंस्थातर्फ १० लाख, वन तथा वातावरणतर्फ ७ लाख, पञ्जीकरणतर्फ ४ लाख ९५ हजार, रोजगार सेवा केन्द्रतर्फ ५ लाख ६४ हजार विनियोजन गरिएको छ ।
त्यसैगरी, उद्यम विकासतर्फ १७ लाख, आवास कार्यक्रमतर्फ ३ करोड २ लाख, साझेदारी प्रवद्र्वन कोषका लागि २ लाख ५० हजार, स्वास्थ्य उपचार कोषका लागि २० लाख, सामाजिक विकास प्रवद्र्वन कोषका लागि २५ लाख र मर्मत सम्भार कोषका लागि २० लाख बजेट विनियोजन गरिएको थारूले जानकारी दिइन् ।
गाउँसभामा गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारलाई प्राथमिकता दिइएको उनले बताए ।
गाउँसभामा उनले जग्गाको खण्डीकरण र बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक नीति निर्माण गरी कार्यान्वयन गरिने दाबी गरे । ऐलानी जग्गामा खेती गर्ने किसानहरूलाई कृषि सेवा सहुलियतको लागि उपयुक्त नीति निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।
कृषि बिमालाई प्रभावकारी बनाउन बिमा कम्पनी र किसानसँग समन्वयात्मक सञ्जाल कार्यक्रम गर्ने, सामूहिक खेती सञ्चालन कार्यक्रमलाई प्रोत्साहन गर्ने, महिला लक्षित कृषि प्रविधिमैत्री कार्यक्रम सञ्चालन गर्ने, वडा नं.२, ७, ८ र ९ मा दुग्ध उत्पादन समूह गठन गर्ने र बाख्रा स्रोत केन्द्र स्थापना गर्नेलगायतका कार्यक्रमलाई जोड दिइएको छ ।
अध्यक्ष पौडेलले कृषि तथा पशु विकास कार्यक्रममा दिइँदै आएको अनुदान वितरण प्रणालीलाई निरुत्साहित गर्दै गरिब परिवारले उत्पादन गरेका बस्तुहरू बिक्री वितरण सहजीकरण गरिने नीति तथा कार्यक्रममा समेटेका छन् ।
पालिकाले आगामी आर्थिक वर्षमा शिक्षक दरबन्दी मिलान तथा पुनःवितरण गर्दै १० वर्षे गाउँ शिक्षा योजना निर्माण गरि कार्यान्वयनमा ल्याउने समेत कार्यक्रम राखेको छ । सामुदायिक विद्यालयमा टिनको छानो विस्थापित गरि वातावरण अनुकूल तथा विद्यार्थीमैत्री बनाउने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
राप्तीसोनारी वडा नं.८ मा २४ सै घण्टा वर्थिङ सेवा सञ्चालन गरिने अध्यक्ष पौडेलले बताए । प्रयोगशाला नभएका स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय प्रविधिमैत्री प्रयोगशाला सञ्चालन गरिने, जेष्ठ नागरिक, असाहय शारीरिक अशक्त तथा दीर्घरोगीहरूका लागि गाउँपालिका अध्यक्षसँग विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
गाउँपालिका स्तरीय सडक तथा यातायात गुरुयोजना अनुसार सडक नालीको निर्माण र मर्मत सम्भार गर्ने, सडक सञ्जाल विस्तार र स्तरोन्नतीका लागि संघ प्रदेश सरकारसँग आवश्यक समन्वय गर्नुका साथै कार्यक्रम सञ्चालन गरिने, अत्यावश्यक स्थानमा पुलपुलेसा र कल्भर्ट निर्माणलाई निरन्तरता दिइने उनले बताए ।
नीति तथा कार्यक्रम र बजेटमाथि आगामी १४ गते बस्ने बैठकमा दफावार छलफल गर्नेगरी सोमबारको गाउँसभा स्थगित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले जानकारी दिए ।
डुडुवाको बजेट ५१ करोड बढी
डुडुवा गाउँपालिकाको आगामी आव २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । सोमबार बसेको १६औँ गाउँसभाबाट आर्थिक विधेयक, नीति तथा कार्यक्रम र ५१ करोड २५ लाख १८ हजार रुपैयाँको बजेट पारित भएको हो ।
पारित भएको बजेटमा संघीय सरकारको वित्तीय समानिकरण अनुदानतर्फ ११ करोड ६४ लाख र संघीय सरकारको राजस्व बाँडफाडतर्फ १० करोड ८४ लाख, प्रदेश सरकार वित्तीय समानिकरण अनुदान ७९ लाख ३९ हजार र प्रदेश राजस्व बाँडफाड ४४ लाख ८ हजार, आन्तरिक स्रोत ३ करोड ५२ लाख, सःसर्त अनुदान १९ करोड ६६ लाख ७१ हजार, विशेष अनुदान (संघ) २ करोड, समपुरक अनुदान संघ र प्रदेशबाट १ करोड ७० लाख र सःशर्त अनुदान पुँजीगततर्फ ६५ लाख रुपैयाँ रहेको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, वन तथा वातावरण, विकास निर्माणलगायतको विषयलाई समेटेर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
सभामा विधेयक समितिका संयोजक सम्सुद्दिन सल्मानीले गाउँपालिकाको आर्थिक विधेयक २०८१ प्रस्तुत गरेका थिए । सभामा प्रस्तुत गरिएको वार्षिक नीति तथा कार्यक्रम र प्रस्तावित बजेट सर्वसम्मत रूपमा सोमबार नै पारित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्