नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिका नगर सभाको १५औं अधिवेशनमा सभाका उपाध्यक्ष एवम् नगर उपप्रमुख कमरुद्दिन राईले १ अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आयव्यय विवरण सोमबार सार्वजनिक गरेका हुन् ।
यो बजेट चालु आर्थिक वर्षको भन्दा करिब ३५ करोड रुपैयाँ कम रहेको छ । आगामी आर्थिक वर्षमा २३ वटै वडाहरूका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रस्तावित बजेटमा आम्दानीतर्फ सशर्त अनुदान (संघ) तर्फ ६१ करोड २४ लाख ७७ हजार रुपैयाँ, समपूरक अनुदान (संघ) १ करोड, विशेष अनुदान (संघ) १ करोड ५० लाख, सशर्त अनुदान (प्रदेश) २ करोड ४ लाख, समपूरक अनुदान (प्रदेश) १ करोड ४० लाख, वित्तीय समानिकरण (संघ) २७ करोड ९५ लाख, वित्तीय समानिकरण (प्रदेश) २ करोड ५ लाख तथा आन्तरिक आयतर्फ २० करोड ११ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य छ ।
नगर प्रमुख प्रशान्त विष्टले अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१/०८२ नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उनले ‘समृद्ध सहर, नगरबासीको रहर’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नीति तथा कार्यक्रममा उपमहानगरपालिकालाई स्वास्थ्य प्रवद्र्धधनात्मक सहरको रूपमा रूपान्तरण गर्दै लैजाने, घरघरमा दक्ष जनशक्ति खटाई निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्थापन गर्ने, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क मोतिबिन्दुको अपरेसन कार्यक्रमको निरन्तरता, अपांगता भएकाहरूको स्वास्थ्य बिमा, विद्यालयहरूमा सूचना प्रविधिमैत्री शिक्षण सिकाई क्रियाकलाप सञ्चालनमा प्रोत्साहन गर्ने, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउने, विद्यालयहरूको विपद् व्यवस्थापन सम्बन्धमा आवश्यक कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने, विद्यालयका पूर्वाधार अपांगमैत्री, लैंगिकमत्री वातावरण निर्माणमा जोड दिने कार्यक्रम समेटिएको छ ।
यस्तै, एक कृषि सहकारी, एक कृषि उपज उत्पादन कार्यक्रम सञ्चालन गर्ने, ‘हामी फर्काउँछौं हाम्रो सहकारीको विश्वास’ भन्ने आह्वानका साथ सहकारीप्रति गुमेको विश्वास फर्काउने सहकारीलाई जिम्मेवार बनाउने, उद्यमशिलता प्रवद्र्धधन गर्न महिला उद्यमी सहजीकरण केन्द्र र नमुना बस्ती विकास कार्यक्रमको निरन्तरता, ज्येष्ठ नागरिकको सम्मानका लागि आमाबुबा चौतारी कार्यक्रमको निरन्तरता, बालविवाह न्यूनीकरणका लागि बालिका शिक्षा तथा मुद्दती खाता योजना, वडा नम्बर २० मा जलन उपचार केन्द्र निर्माणका लागि आवश्यक पहल गर्ने, पर्यटन प्रवर्द्धनका लागि भिजिट वेष्टर्न नेपाल २०८१ कार्यक्रम सञ्चालन, नगरभित्रका विभिन्न धार्मिक स्थलहरूको संरक्षण, कृषि कार्यमा कृषि मेसिनरी, औजार उपकरण तथा नवीनतम प्रविधिको प्रयोगमार्फत बाली उत्पादन लागत न्यूनीकरण गरी कृषक आम्दानीमा वृद्धि गर्दै लैजाने, प्रांगारिक खेतीका क्षेत्रहरू विस्तार गर्ने, छाडा पशु व्यवस्थापनका लागि छिमेकी पालिकाहरूसँग समन्वय, सहकार्य गर्दै कान्जीहाउसको स्तरोन्नति गर्ने, पशुको नश्ल सुधारका लागि गाईभैंसीमा निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सार्वजनिक, सरकारी र गुठी जग्गाको खोज, पहिचान र संरक्षण गर्ने, नेपालगन्ज उपमहानगरपालिकालाई प्रविधिमैत्री बनाउने, फोहोरमैला र स्वास्थ्यजन्य फोहोर व्यवस्थापन प्रभावकारी रूपमा व्यवस्थापन गर्ने, नगरमा डुबान न्यूनीकरण गर्न नाला सरसफाइलाई निरन्तरता दिने, उद्यमशिलता र स्वरोजगारका अवसरहरू सिर्जना गरी स्थानीय आर्थिक विकासलाई बढावा दिने, नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक समन्वय गर्ने, अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससँगै सामूहिक बस्ती विकासका लागि पहल गर्ने, नगरभित्र व्यवस्थित पार्किङका लागि आवश्यक पहल गर्ने, ‘मेयरसँग रोजगारदाता’ कार्यक्रम सञ्चालन गरी बेरोजगार नागरिकलाई कार्यस्थलमा आधारित तालिम सञ्चालन गरी रोजगारीका लागि पदस्थापन गर्ने, रोजगार मेला सञ्चालन गर्ने, वैदेशिक रोजगारबाट फर्केकालाई उद्यमशिलतामा प्रोत्साहन गर्ने नीति नेपालगन्ज उपमहानगरपालिकाले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्