कोहलपुरमा जटिल बन्दै खानेपानी समस्या



पछिल्लो समय खानेपानीको समस्या बढ्दै गएपछि कोहलपुरका उपभोक्ता दिनदिनैजसो आफ्ना गुनासा लिएर कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालय पुग्ने गरेका छन् ।

कोहलपुर ।

कोहलपुरमा खानेपानीको समस्या गहिरिँदै जान थालेको छ । बढ्दो बस्ती विस्तारसँगै कोहलपुरमा खानेपानी वितरणको उचित व्यवस्थापन हुन नसक्दा समस्या बढ्दै गएको देखिएको छ । पछिल्लो समय खानेपानीको समस्या बढ्दै गएपछि कोहलपुरका उपभोक्ता दिनदिनैजसो आफ्ना गुनासा लिएर कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालय पुग्ने गरेका छन् ।

सोमबार कोहलपुर वडा नम्बर १ का उपभोक्ता खानेपानीको कार्यालय घेराउ गर्न पुगेका थिए । हप्तौैैँदेखि धारामा पानी नआएपछि आफूहरू खानेपानी कार्यालय पुग्न बाध्य भएको उनीहरूको भनाइ छ । खानेपानीको बिल जत्तिका तत्ति तिरे पनि खानेपानीको उपभोग भने गर्न नपाएको उनीहरूको गुनासो छ । कोहलपुर–१ का करिब ४०–५० जना उपभोक्ता खानेपानीको समस्या लिएर कार्यालय पुगेको कोहलपुर नगरपालिका–१ का वडा सदस्य कविराम आलेमगरले जानकारी दिए ।

‘खानेपानीको धारामा पानी नै नआएपछि उपभोक्ता कार्यालय पुग्न बाध्य भएका हुन्,’ वडा सदस्य आलेमगरले भने, ‘हप्तौँदेखि उपभोक्ताको धारामा पानी आएको छैन ।’ वडा नम्बर १ को फूलबारी परिवर्तन टोलमा खानेपानीको झनै समस्या देखिएको उनले बताए । यो ठाउँ अलिकति उच्चा पनि भएको र यहाँ पानी आउने सहायक लाइनहरू धेरै भएकाले पानीको समस्या बढी देखिएको उनले जानकारी दिए । ‘यहाँ गोरखा स्कुल र बर्दहवा दुईतिरबाट लाइन जडान भएको छ,’ उनले भने, ‘त्यसमाथि सहायक लाइनहरू धेरै छन् । जसका कारण यहाँका बासिन्दालाई पानी पुगिरहेको छैन ।’

उनीहरूले खानेपानी संस्थाका अध्यक्ष टेकनारायण भुसाललाई भेटेर आफ्ना समस्या राखेका थिए । उपभोक्तासँगको भेटपछि अध्यक्ष भुसालले चेक गरेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको आलेमगरले बताए । ‘गेटवाल लगाएर भए पनि हामी पानी सप्लाइ गर्छौं,’ अध्यक्ष भुसालको भनाइ उद्धृत गर्दै आलेले भने ।

त्यसैगरी, आइतबार कोहलपुर–१० विद्यानगरका उपभोक्ता पनि यही समस्या लिएर खानेपानी कार्यालय पुगेका थिए । स्थानीय टेकबहादुर बिरकट्टाको नेतृत्वमा खानेपानी कार्यालय पुगेका उनीहरूले धारामा पानी नै नआएको गुनासो गरेका थिए । ‘सुक्खा मौसम भएकाले पानीको स्र्रोत सुकेको छ,’ बिरकट्टाले भने, ‘त्यसमाथि वितरण प्रणाली पनि समान छैन ।’ छिमेककै कुनै घरमा चौबीस घन्टा खानेपानी आइरहे पनि अन्य घरहरूमा भने हप्तौँसम्म पनि पानी नआउने गरेको उनले गुनासो गरे ।

चार पाँचतले घरमा मोटरबाट पानी तान्ने गरेका कारण पनि साना घरहरूमा पानीको समस्या बढ्ने गरेको उनले बताए । कोहलपुरमा दिनप्रतिदिन जनसंख्या बढेको बढ्यै छ । त्यही अनुपातमा खानेपानीका उपभोक्ता पनि बढेका छन् ।

तर खानेपानीका स्रोत भने घट्दो क्रममा छन् । कोहलपुरका लागि भूमिगत पानी नै एकमात्र खानेपानीको स्रोत हो । त्यसमा पनि दीर्घकालीन सोच नराखी खानेपानीको योजना अगाडि सार्दा समस्या उत्पन्न हुनेगरेको कोहलपुरका उपभोक्ताहरूको गुनासो छ ।

लामो समयदेखि खडेरी परेकाले पनि खानेपानीको थप समस्या देखिएको हो । अहिलेदेखि नै कोहलपुरमा खानेपानीको समस्या देखिन थालेपछि यसको समाधानका लागि सरोकारवाला निकाय तात्नुपर्ने स्थानीयबासीको भनाइ छ ।

 

प्रकाशित मिति : २०८१ जेठ २९ गते मंगलबार