वडा प्रहरी नेपालगन्जमा ११ महिनामा साढे पाँच सय उजुरी दर्ता



बाँके ।

वडा प्रहरी कार्यालय नेपालगन्जमा चालु आर्थिक वर्षको पछिल्लो करिब ११ महिनामा ५५० वटा उजुरी दर्ता भएका छन् । तीमध्ये ४१३ वटा उजुरी फर्यौट गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक हरिबहादुर विसीले जानकारी दिए ।

आइतबार कार्यालयले गरेको समुदायसँग प्रहरी नागरिक सुनुवाई कार्यक्रममा उनले चालु आवको साउन १ गतेदेखि जेठ २५ गतेसम्म ५५० वटा उजुरी दर्ता भएको बताए ।

यो अवधिमा दर्ता भएका ३४ वटा घरेलु हिंसा सम्बन्धि उजुरीमध्ये २८ वटा फर्यौट भइसकेका छन् । प्रहरी निरीक्षक विसीले दिएको जानकारी अनुसार ११ महिनाको अवधिमा ४८ लाख ५५ हजार १६५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको थियो ।

अदालतबाट फैसला भई फरार रहेका २५ जनालाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि सम्बन्धित अदालतमा बुझाइएको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ । पक्राउ परेकाबाट ६ वर्ष १ महिना २८ दिन कैद र ९३ हजार ६५६ रुपैयाँ जरिवाना असुल भएको प्रहरी निरीक्षक विसीले बताए । वडा प्रहरी कार्यालयले आत्महत्या न्यूनिकरण सम्बन्धी सात वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको बताउँदै उनले साईबर अपराध सम्बन्धी पाँच वटा कार्यक्रम गरिएको बताए ।

यो अवधिमा लागूऔषध सम्बन्धी सात, बाल विवाह तथा बहुविवाह सम्बन्धी चार, मानव बेचबिखन सम्बन्धी तीन, लैङ्गिक हिंसा सम्बन्धी १६ दिने अभियान अन्तर्गत १४, जेष्ठ नागरिक दुव्र्यवहारविरुद्ध एक, जातीय भेदभाव तथा छुवाछुत सम्बन्धि एक र घरेलु हिंसा सम्बन्धी दुई वटा सचेतनामूलक कार्यक्रम वडा प्रहरी कार्यालय नेपालगन्जले गरेको थियो । सबै कार्यक्रमहरूबाट नौं हजार ४५ जना लाभान्वित भएका थिए ।

वडा प्रहरीले चोरी, लुटपाट, झैँ–झगडा, कुटपिट, मादक पदार्थ सेवन, ठगी, सवारी दुर्घटना तथा अन्य मुद्दामा आवश्यक कारबाहीका लागि २४१ जना र २० थान मोटरसाइकल जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाएको छ । प्रहरी निरीक्षक विसीले मिश्रित समुदायको बसोबास भएको र जनघनत्व पनि बढी नै भएका कारण विभिन्न खाले अपराध हुने गरेको बताए ।

‘वडा प्रहरी कार्यालयको कार्य क्षेत्रमा मुख्यतयाः लागूऔषध ओसारपसार तथा सेवन, कर्तव्य ज्यान, जबरजस्ती करणी, चोरी, लुटपाट, बालविवाह, बहुविवाह जस्ता जघन्य अपराधहरू हुन्छन्’ उनले भने, ‘सानातिना विवाद, झैँ–झगडा, कुटपिट, गाली बेइज्जती, जग्गा जमिन विवादबाट सृजना झैँ–झगडाहरू ठाडो उजुरीमार्फत यस कार्यालयमा आउँछन् ।’

  • No tags available
प्रकाशित मिति : २०८१ जेठ २८ गते सोमबार