मधुर पौडेल । बाँसगढी ।
बर्दियाको बाँसगढी नगरपालिका– ९ मा १५ दिने इलेक्ट्रिसियन (हाउस वायरिङ्ग) बेसिक तालिम सम्पन्न भएको छ । ‘युवा उद्यमशिलतामार्फत रोजगार आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सोमबार इलेक्ट्रिसियन तालिम सम्पन्न भएको हो ।
वडा कार्यालयको आयोजनामा १५ दिने इलेक्ट्रिसियन (हाउस वायरिङ्ग) बेसिक तालिम भएको वडाध्यक्ष चन्द्रबहादुर शाहीले जानकारी दिए । आफूहरूले सीप सिकाएर वडाबासीलाई आत्मनिर्भर बनाउने कुरामा जोड दिइरहेको उनले दाबी गरे ।
‘हरेक वर्ष वडामा बेरोजगार युवाहरूलाई सीपमूलक तालिम प्रदान गर्दै आइरहेका छौं’ वडाध्यक्ष शाहीले भने, ‘गरिब विपन्न वर्गलाई विभिन्न विधामा सीप सिकाइ आत्मनिर्भर बनाउने लक्ष्य लिएर हामी अगाडि बढिरहेका छौं ।’
तालिम समापन कार्यक्रममा बोल्दै बाँसगढी नगरपालिकाका प्रमुख खडकबहादुर खड्काले कुनै पनि तालिम लिएर मात्र नहुने बताउँदै मेहनतका साथ सीपलाई पेसा र व्यवसायमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।
हाउस वायरिङ्गको बढ्दो माग भएकाले बेसिक तालिम लिएकाहरूमा व्यवसायीक दक्षता हुनुपर्ने उनले बताएका थिए । सो अवसरमा तालिममा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्