बढे बर्दिया निकुञ्जमा पर्यटक



बर्दिया ।

बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।

पाटेबाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक आउने क्रम बढेको हो । निकुञ्जमा बाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताए । उनका अनुसार निकुञ्जमा भ्रमणका लागि आउने करिब ९० प्रतिशत पर्यटकले पाटेबाघ अवलोकन गर्ने गरेका छन् ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई हजार विदेशी पर्यटक निकुञ्ज घुम्न आएकामा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ हजार पर्यटक आएको प्रमुख संरक्षण अधिकृत रामले जानकारी दिए ।

गत आवको पुस मसान्तसम्ममा छ हजार आन्तरिक पर्यटकले निकुञ्ज भ्रमण गरेकामा चालु आवको सोही अवधिमा १० हजारले भ्रमण गरेका छन् । गत आवको पुस मसान्तसम्ममा ५ सय सार्क मुलुकका पर्यटकले भ्रमण गरेकामा अहिले चालु आवको पुस मसान्तसम्ममा ८ सयले भ्रमण गरेको निकुञ्ज प्रशासनले जनाएको छ ।

‘हामीलाई विश्वास छ यसवर्ष करिब २० हजार पर्यटकले निकुञ्ज भ्रमण गर्नेछन्, यसको मुख्य कारण पाटेबाघको सङ्ख्या बढेकाले त्यसलाई प्रत्यक्ष रूपमा देख्न पाउनु नै हो’, प्रमुख संरक्षण अधिकृत रामले भने । खास गरेर अमेरिका, जर्मन, फ्रान्स, न्युजिल्यान्ड, चीन, भारतलगायत मुलुकका पर्यटकले निकुञ्ज अवलोकन गरेकामा तीमध्ये अमेरिकी पर्यटकको सङ्ख्या बढिरहेको उनले जानकारी दिए ।

पछिल्लो बाघगणना अनुसार नेपालमा रहेका तीन सय ५५ पाटेबाघमध्ये बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै एक सय २५ वटा रहेका छन् ।
सबैभन्दा बढी भने चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा रहेका छन् । त्यसैगरी पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ वटा र बाँके निकुञ्जमा २५ वटा पाटेबाघ रहेको तथ्यांक रहेको छ ।

प्रकाशित मिति : २०८१ जेठ १५ गते मंगलबार