प्रिय सम्पादकलाई एउटा पत्र



कार्यालयमा पुगिसकेपछि तपाईंलाई एक झलक नहेरी फर्किन मन मान्थेन । तपाईं सम्पादकको कुर्सीबाट मधुर मुस्कानले स्वागत गर्नुहुन्थ्यो । भगवान् कसम शिव सर ! तपाईंको मुस्कानको म अहिले पनि फिदा छु, जति अढाइ दशक अघि थिएँ ।

सागर गैरे

लेखकः सागर गैरे

शिव डोटेल सर नमस्ते !

यो कुरा कति हास्यास्पद छ सर कि डिजिटल दुनियाँमा म तपाईंलाई चिठ्ठी लेखिरहेछु । अनौठो, के भने यो पत्र कुनै हुलाकको हल्काराले बोकेर तपाईंको दैलो ढक्ढक्याउने छैन । यो चिठ्ठी कुनै वेबको माध्यम भएर तपाईंको मोबाइल स्क्रिनमा बज्न सक्छ ।

म तपाईंलाई निकै सम्झिन्छु । पहिलोपटक नेपालगन्ज एक्सप्रेसको कार्यालय पुग्दा तपाईंलाई कसैले उहाँ सम्पादक हो भनेर टाढैबाट देखाइदिएको थियो । पत्रकारिता जस्तो जिम्मेवार पेसाको नेतृत्व सम्हाल्नु भएको सानो कुरा होइन । अझ तपाईंजस्तो सम्पादक हरेकका लागि सम्मानयोग्य कुरा लाग्छ ।

म पनि पत्रिकामा आफ्नो रचना छपाउन चाहन्थेँ । त्यसैले म अफ्नो रचना छोड्न त्यहाँ पुग्थेँ । एउटा रचना छापिएपछि रचना छाप्ने मोह यसरी बढ्यो कि, म रातभर नसुतेर लेख लेख्न थालेँ ।

म साइकल चढेर क्याम्पस पढ्न जान्थेँ । फर्किंदा एक्सप्रेसको कार्यालयमा पसेर लेख छोड्थेँ । म एक्सप्रेसको कार्यालयमा कतिपटक छिरेँ अहिले बताउन सक्दिनँ ।

कार्यालयमा पुगिसकेपछि तपाईंलाई एक झलक नहेरी फर्किन मन मान्थेन । तपाईं सम्पादकको कुर्सीबाट मधुर मुस्कानले स्वागत गर्नुहुन्थ्यो । भगवान् कसम शिव सर ! तपाईंको मुस्कानको म अहिले पनि फिदा छु, जति आजभन्दा अढाइ दशक अघि थिएँ ।

मेरा लागि तपाईं पत्रकारिताको पहिलो गुरु हो । अहिले पनि म तपाईंलाई मेरो पत्रकारिताको गुरु नै मान्छु । तपाईं चारबाहिनी रोडमा नेपालगन्ज एक्सप्रेसको दुकान थापेर बस्नुभएको थियो ।

पत्रिकामा छापिएको लेख म दशौँ पटक पढ्थेँ । कति जनालाई यी मेरो लेख छापिएको छ भन्दै देखाउँदै हिँड्थेँ । नेपालगन्ज एक्सप्रेसको कार्यालयमा सिराज खान, झलक गैरे पनि मीठो मुस्कानले स्वागत गर्नुहुन्थ्यो ।

शिव सर, भेट नभएको धेरै भयो । हामीलाई पत्रकारिता सिकाउनुभयो । हामीले जानी नजानी लेखेका लेख छापिदिनुभयो । हाम्रा लेख सम्पादन गरिदिएर हामीलाई लेख्न सिकाउनुभयो । आज हामी जे बन्यौँ अथवा जुन ठाउँमा छौँ त्यसका पछाडि तपाईंहरूकै योगदान छ ।

पत्रकारिताका निकै दुःख छन् । मान्छेसँग अनेकन महत्वाकांक्षा हुन्छन् । उसले चाहेर नचाहेर अनेकन् समस्याहरूसँग सम्झौता गर्दै हिँड्न विवश हुन्छ ।

अहिले तपाईंको पत्रिका कहाँ पुग्यो ? तर पत्रिकामार्फत तपाईंले यस क्षेत्रको पत्रकारिता, साहित्य, राजनीतिलगायतका क्षेत्रमा पु¥याएको योगदान म र मजस्ताका सम्झनामा जीवितै छन् ।

तपाईंको घर काभ्रे हो क्यारे ! तपाईं काठमाडौँ आरआर (रत्नराज्य लक्ष्मी क्याम्पस)मा पत्रकारिता पढ्दै हुनुहुन्थ्यो । तपाईंले रेडियो नेपालमा घटना र विचार कार्यक्रमसमेत चलाउनुभयो, सायद माधव नेपाल प्रधानमन्त्री हुँदाको कुरा हो क्या रे ! क्या बोल्ड थियो तपाईंको आवाज ।
तपाईं काठमाडौँ गएपछि यता नेपाली एक्सप्रेसको गति पनि कम हुँदै गयो र कोभिड सुरु हुँदा नहुँदै अन्तिम विश्राम लिन पुगेको थियो । त्यसपछि पत्रिका निक्लिइरहेको छैन सायद ।

अहिले त छापा पत्रिका, रेडियो, टेलिभिजनसमेत मानिसले पढ्न, सुन्न र हेर्न छोडिसके । सूचना प्रविधिमा आएको छलाङ नै हो क्यारे । अहिले सारा चिज स्मार्ट फोनमा मानिसका हातहातमा आइपुगेका छन् ।

मानिस एक दिनमा कति मुडमा हुन्छ । के–के धुनमा हुन्छ । जसरी बिना पेट्रोल मोटरसाइकल गुड्दैन त्यस्तै पुँजीवादले बिनापैसा केही नचल्ने बनाएको छ । पचासको नजिक पुगेको छु । म आफूलाई नियाल्छु । आफू हिँडेर आएको बाटो नियाल्छु । आफ्ना दौँतरीहरूलाई नियाल्छु उनीहरूका कर्म नियाल्छु ।

लेख दिइन्थ्यो । त्यो लेख पत्रिकामा कहिले छापिएला भन्ने हुटहुटी हुन्थ्यो । कतिपटक निराश भइन्थ्यो । आफूले लेखेको त्यही लेख पत्रिकामा छापिनेबित्तिकै विशेष लाग्थ्यो ।

रोग लागेपछि आफैँ बोक्नुपर्छ । कसैलाई पैसा दिन्छु रोग बोकिदे न भनेर कसैले बोकिदिँदैन । प्रत्येक पिँढीका आफ्ना कथा हुन्छन् । सफलता असफलताका कथा हुन्छन् ।

नेपालगन्ज एक्सप्रेसको बाँके र बर्दियामा कति राम्रो वितरण थियो है ! तपाईं मान्नुस् चाहे नमान्नुस्, नेपालगन्जमा व्यावसायिक पत्रकारिताको सुरुवात गरेकै नेपालगन्ज एक्सप्रेसले हो । बाँकेका प्रमुख बजार क्षेत्र नेपालगन्ज, राँझा, कोहलपुर, खजुरा, चिसापानीसम्म पत्रिका पुग्थ्यो ।

बर्दियामा मैनापोखर, गुलरिया, ताराताल, कोठियाघाट, मानपुर, टपरा शान्तिपुर, राजापुर, गोला, पाताभार, दौलतपुर, बाँसगढी भुरिगाउँसम्म पुग्थ्यो । कैलालीको टीकापुरमा पनि नेपालगन्ज एक्सप्रेस पढ्न पाइन्थ्यो । मेरो विचारमा नेपालगन्ज एक्सप्रेस त्यो जमानामा पाँच–सात हजार प्रति छापिन्थ्यो ।

प्रधानसम्पादकको कुर्चीमा तपाईं हुनुहुन्थ्यो । सम्पादक सिराज खान । वरिष्ठ संवाददाता कृष्ण अधिकारी, संवादाता गोपी बुढा, शरद केसी, सृजना आचार्य, शंकर खनाललगायत अरू धेरै जनाको समूह थियो । अहिले सबैको नाम याद भएन । व्यवस्थापक भने झलक गैरे हुनुहुन्थ्यो । कम्प्युटरमा राजकुमार श्रेष्ठ, करुणा थापा पछि जीवन श्रेष्ठसमेत थपिनुभयो । पत्रिकाको प्रमुख वितरक भेषराज बस्नेत हुनुहुन्थ्यो । प्रकाशक विष्णु श्रेष्ठ, श्याम पन्तलगायत हुनुहुन्थ्यो । धेरैको त मलाई नाम याद छैन ।

त्यतिबेला नेपालगन्ज एक्सप्रेसको सान र मान बेग्लै थियो ।

पत्रिकाले नेपालगन्जमा धेरै लेखक जन्मायो । खजुराका इन्द्र भण्डारी, नरेन्द्रजंग पिटर, लियाकत अलि, प्रभाकर शर्मा, अब्दुल अजिज मुसलमान, भूपेन्द्रप्रकाश शर्मा आदि । कोहलपुरबाट हामी दर्जन बढी लेखक जन्मियौँ । कोहलपुरका तेजु भण्डारी रिपोर्टर हुँदै बर्दिया शाखाको प्रमुखसमेत बने । नेपालगन्जमा दैनिक पत्रिका थिएनन् । काठमाडौँमा छापिएका पत्रपत्रिका दुई तीन दिनमा आउँथे । लखनउबाट दैनिक जागरण, हिन्दुस्तान जस्ता हिन्दी पत्रिका आउँथे ।

नेपालगन्जमा सञ्चार माध्यम नै नभएको अवस्था थियो । एकाध साप्ताहिक पत्रिका थिए, जो विज्ञापन उठाएर जेनतेन चल्ने उपक्रमभन्दा बढी थिएन ।

नेपालगन्ज एक्सप्रेसले शनिबार साहित्यलाई प्राथमिकता दिन्थ्यो । मान्छेले लेखेर मात्र नहुँदो रहेछ । लेखेको कुरा छापिदिने प्लेटफर्म पनि चाहिँदो रहेछ । यो पत्रिकाले नै हो नेपालगन्ज र कोहलपुरमा साहित्यको माहोल बनाएको ।

नेपालगन्ज एक्सप्रेसमा कतिले लेखे, लेखे । कवि र गजलकारको त कुरै नगरौं । सबैको नाम लेख्दै जाने हो भने एउटा छुट्टै लेख तयार हुन्छ । पत्रिकाले साहित्यिक माहोल बनाउन अहम् भूमिका खेल्यो ।

पत्रिका यति पपुलर थियो कि नेपालगन्ज एक्सप्रेसलाई मानिसहरू नेपालगन्जको कान्तिपुर समेत भन्न भ्याउँथे । नेपालगन्ज कोहलपुर अझ यसो भनौँ बाँके बर्दियाका चोकचोकमा नेपालगन्ज एक्सप्रेस पुगेको हुन्थ्यो ।

नेपालगन्जमा नेपालगन्ज एक्सप्रेसले जुन सफलता र उचाइ पाएको थियो त्यो उचाइ अहिलेसम्म कुनै पनि पत्रिकाले भेटेका छैनन् भन्ने ठोकुवा गरेर म भन्न सक्छु । सबै कुराको बैँस हुँदो रहेछ । बुढ्यौली हुँदो रहेछ । नेपालगन्ज एक्सप्रेसले आफ्नो बैँस, आफ्नो उचाइ छुनै नपाई खुम्चिनुप¥यो ।

प्रतिस्पर्धा कुन ठाउँमा हुँदैन र ? त्यो व्यवसाय होस् कि खेलकुद होस् जहाँसुकै देख्न पाइन्छ । नेपालगन्ज एक्सप्रेस त बाहिरी प्रतिस्पर्धाले होइन भित्रकै खिचातानीले कीराले जरा काटेजस्तै खोक्रिँदै गयो । विष्णु श्रेष्ठले नेपालगन्ज एक्सप्रेसमा कब्जा गरेपछि पत्रिका फुट्यो । एउटा साबिक नेपालगन्ज एक्सप्रेस नै रह्यो भने तपाईंहरूले नेपाली एक्सप्रेस बनाउनुभयो । श्याम पन्त घानमा पर्नुभयो । प्रेस त गुम्यो नै उहाँको घरसमेत लिलाम भयो ।

प्रतिस्पर्धा आफ्नैसँग गर्नुको पीडा तीतो हुन्छ नै ।

एक्सप्रेस नेपालगन्ज र नेपाली एक्सप्रेस दुई दैनिक भए । त्यतिबेलासम्म कालपृष्ठ साप्ताहिक रूपमा छापिन्थ्यो, अब दैनिक भयो । शरद केसी झलक गैरेहरूले बागेश्वरी टाइम्स निकाल्नुभयो । उदय श्रेष्ठले निष्पक्ष ध्वनि निकाल्नुभयो । हिजोसम्म एउटै दैनिक पत्रिका थियो । अब चार पाँच वटा भए । प्रतिस्पर्धाले धेरै ठाउँमा हान्दै गयो । विज्ञापनमा, सूचनामा, वितरणमा ।

सहकर्मीहरू बाँडिए । लेखक बाँडिए । ग्राहक बाँडिए । विज्ञापन बाँडिए । सबै थोक बाँडिएपछि आम्दानी घट्नु स्वाभाविक थियो । आम्दानीभन्दा खर्च बढी भएपछि पत्रिकाको पहिलेको रापताप पनि घट्दै गयो । त्यतिमात्र कहाँ हो र ? काठमाडौँका नाम चलेका सबैजसो पत्रिकाले नेपालगन्ज कोहलपुरमा जमिन किनेर छापाखाना राखेर क्षेत्रीय संस्करणहरू निकाल्न थाले ।

कान्तिपुर र नागरिक नेपालगन्जदेखि नयाँ पत्रिका अन्नपूर्ण पोष्ट र गोरखापत्र कोहलपुरबाट छापिन थाले । अहिले गोरखापत्रबाहेक सबै पत्रिका यहाँबाट छापिन छोडेको पनि धेरै भइसक्यो ।

हो, नेपालगन्जमा ठूला पत्रिका आएपछि साना पत्रिका चेपमा परेका थिए । तर पनि साना पत्रिका यहाँको माटोसँग जोडिएका थिए । सानै खर्च हुन्थ्यो, सानै विज्ञापन हुन्थ्यो । सबैसँग सरल पहुँच पनि त थियो । अब पत्रिकै बन्द भएपछि त भन्नु पनि के नै बाँकी रह्यो र ? शिव सर !

त्यो बेलाको पत्रकारिता कति वजनदार थियो है ! पत्रिका पढ्ने मान्छे थिए । मानिसहरू पत्रिका कुरेर बस्थे । कति मानिस राशिफल हेर्न पत्रिका पर्खिन्थे । तपाईंहरूले मानिसलाई नेपालगन्ज एक्सप्रेसको लत लगाइदिनुभएको थियो ।

२०५६ र ०५७ मा कोहलपुरमा एकहप्ते पत्रकारिता प्रशिक्षण तालिम चलेको थियो । त्यसमा एक जना प्रशिक्षार्थी म पनि थिएँ । हेमन्त कर्माचार्य, प्रमोद प्रधान, तपाईं अनि अरू को–को हुनुहुन्थ्यो मैले सबैको नाम बिर्सिइसकेँ अहिले । तपाईंको त्यतिबेलाको प्रस्तुति अझै पनि याद छ मलाई । गुदी दिन सक्ने प्रशिक्षक हुनुहुन्थ्यो तपाईं ।

नेपालगन्जका अधिकांश पत्रकार तपाईंकै मिहिनेतका उत्पादन त हुन नि !

तपाईंकै सदाशयतामा ममा पनि पत्रकार बन्ने धुन सवार भयो । पत्रकार महासंघको सदस्य बन्ने धुन सवार भयो । कतिपटक फर्म भरेर, पत्रिकाका कटिङको फाइल बोकेर आवेदन दिइयो । धेरै पछि मात्र हामीले सदस्यता पायौं । त्यतिबेला तपाईंले हाम्रो पक्षमा बोल्नुभएको थियो । सदस्य पनि बनियो । निर्वाचनमा उम्मेदवार बनेर चुनाव पनि जितियो ।

एकदिन फेरि भनियो– ‘तपाईं व्यापारी मान्छे । महासंघले शुद्धीकरणको कुरा ल्याएको छ । के गर्नुहुन्छ ? । मैले पनि सहज तरिकाले भनेँ– ‘तपाईंहरूले व्यापारी मान्नुहुन्छ भने म व्यापारी नै सही ।’ मैले स्वेच्छिक खुसीले सदस्यता त्यागिदिएँ । कुनै बेला रहर थियो महासंघको सदस्य बन्ने । रहर उत्रिएपछि हात लागेको सदस्यता गुमाउनुपरेकोमा कुनै दुःख लागेन ।

सदस्य नरहँदैमा मैले लेख्न छोड्ने कुरा थिएन । म अहिले पनि लेखिरहेको छु, चाहे सदस्य रहुँ या नरहुँ ?

कहिलेकाहीँ फुर्सदमा सोच्छु, त्यतिबेलाको पत्रकारिताको ‘जुनुन’ हिजोआजका पत्रकारमा किन देखिँदैन शिव सर ?

हिजोआज तपाईंलाई जिएचडी भन्ने टिभीको समसामयिक विषयको अनौपचारिक बहस कार्यक्रममा देख्छु । तपाईंले सोधेका प्रश्नहरू मौन भएर सुन्छु ।

तपाईं काभ्रेमा जन्मिनुभयो । तपाईंको गाउँ काभ्रे सिन्धुपाल्चोक र काठमाडौँको त्रिवेणीमै थियो । माध्यमिक तहको पढाइ सकेर काठमाडौँ आउनुभयो ।

तपाईं एउटा बिमा कम्पनीमा समेत काम गर्दै हुनुहुन्थ्यो । त्यही कम्पनीबाट तपाईं ०५२ सालतिर नेपालगन्ज आउनुभएको थियो । यता आएपछि नेपालगन्जलाई नै तपाईंले आफ्नो कर्मथलो बनाउनुभयो । तीस वर्ष पुग्न थालेछ नेपालगन्जमा तपाईंको बसाइ पनि ।

हालसालै सामाजिक सञ्जालमा एउटा फोटो भेटेँ । काठको सामान्य टेबुल, सामान्य कुर्सीमा बसेको, हातमा कालो ब्यान्डेज लगाएर कागजमा केही कोरिरहेको त्यो तस्बिर तपाईंको थियो । यो तस्बिर हेरिसकेपछि मेरो मस्तिष्कमा तपाईंसँग बिताएका धेरै पलहरू ताजा भएर आए ।
यो चिट्ठी लेखिनुको पृष्ठभूमि त्यही तस्बिर हो ।

सोचेँ र धेरै गम्भीर पनि भएँ ।

शिव सर !

क्या दामी थिए है ती दिन !

अहिलेलाई यति नै ।

पत्र पाएपछि जवाफ दिनुहुनेछ भन्ने आशामा छु ।

धन्यवाद !

तपाईंको एउटा चेलो

सागर गैरे

  • No tags available
प्रकाशित मिति : २०८१ जेठ २ गते बुधबार