17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

लंकाबीमा आइल्यान्ड हपिङदेखि इगल फिडिङसम्म

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र २४, २०८०  

सागर गैरे

हामीलाई बोक्नका लागि बसहरू पार्किङ लटमा तम्तयार थिए । गाइडहरू म्याक्स महम्मद र शिवराज अनि बसका चालकहरू आपसमा गफ गरिरहेका थिए । बिहानको वातावरण सुरम्य थियो । आँपको बोटमा बसेर कोइली चरी मच्चिई–मच्चिई ‘को हो ? को हो ?’ भन्दै सोध्दै थियो । हाम्रोतिरका कोइली र यहाँका कोइलीले गाउने भाका एउटै रहेछ ।

म केहीबेर हामीहरूका पथप्रदर्शक म्याक्स महम्मदसँग गफिएँ । म्याक्स मोहम्मद हाम्रा पर्यटक गाइड हुन् । उनी ३० वर्षका भए । उनको तौल ११८ केजी छ । अर्का पथप्रदर्शक थिए शिवराज निथि आन्थन् । उनको घर लंकाबीकै तान्जिङ रुमा छ । उमेरले उनी पनि ३० वर्षका भए । उनी र म्याक्स स्कुले साथी रहेछन् । न मास्टर्स न डिग्री । म्याक्सको तुलनामा शिवराजको अंग्रेजी राम्रो छ । पहाडी बाटो भएर बस हिँडिरह्यो । शिवराजले कुनै भवन देखाउँथे र भन्थे ‘यो भिल्लामा एक रात बिताएको ५० हजार रिंगेट तिर्नुपर्छ । यस्ता भिल्लामा अर्बपतिहरूले रात बिताउँछन् ।’

होला पनि, नहुने भन्ने के छ र ? म ‘ए…’ मात्र भन्छु । पहाडी बाटो सुर्खेत जाने बाटो जस्तै लाग्छ । फरक यत्ति छ कि यहाँका बाटाहरू राम्रा छन् । बाटोमा खाडलहरू कतै देखिँदैनन् । पहिरो जाने ठाउँहरूमा माथिसम्मै ढलान गरिएको छ । सडकका दाँयाँंबाँया पोतिएका रंगहरू गाढा छन् । गाडीबाट झरेपछि शिवराजले हामी सबैलाई सम्झाउँदै भने–‘पहाडमा देखिएको त्यो टावर केबुलकारको हो ।

बस यही ठाउँमा पार्किङ हुन्छ । तपाईंहरू फर्किएपछि सिधै बसमा आएर बस्नुहोला ।’ हामीले ‘हुन्छ’ भन्यौँ । केबुलकार ओरियन्टल भिलेजको टेलुक बुराउबाट सुरु भएर गुनुङ माचिच्याङ पहाडमा सकिन्छ । हामी एउटा स–सानो झोलुंगे पुल भएर गयौँ । अगाडिका साथीहरूले पुल बेस्सरी हल्लाइदिए । पुल बच्चा सुताउने झोलुंगोझैँ हल्लिएको थियो । त्यही पुलको छेउमा सानो तलाउ थियो । तलाउमा माछाहरू रहेछन् ।

मान्छेले खानेकुरा दिन्छन् भन्ने आशले माछाहरू जता आवाज आउँछ त्यतै कुद्ने रहेछन् । पानीमा गाढा पिंक रंगका कमलका फुलहरू फुलेको निकै सुन्दर देखिएको थियो । झोलुंगे पुलको केही अगाडि तीन चार थरिका पुल थिए । आकार प्रकार र बनोटले ती भिन्न थिए । वसन्त ऋतुले लंकाबीलाई पनि छोपेको थियो । फूलहरू फक्रिएका थिए । आँप मजुराएका आँप फलेका दृश्य सामान्य मानिन्थे ।

लंकाबीको भुबनोट झट्ट हेर्दा नेपालको जस्तै छ । यहाँ पनि पहाड छन्, जंगल छन् । लंकाबीमा समुद्र छ नेपालमा छैन फरक यत्ति मात्रै हो । शिवराजले सबैको नाडीमा केबुलकारको टिकट बाँधिदिए । सबैलाई दुईतर्फी टिकट दिइएको रहेछ । हामीलाई एकतर्फी टिकट मात्रै दिइएको रहेछ । पछि फेरि अर्काे टिकट माग्यौँ । एउटा गोन्डुलामा ६ जना अटिँदो रहेछ । गुनुङ माचिच्याङ पहाडको टुप्पोमा केबुलकारको टप स्टेसन छ । समुद्री सतहबाट ९५० मिटरको उचाइमा छयो स्टेसन ।

यहाँबाट एन्डोमन समुद्रमा छरिएका लंकाबी द्वीपका सम्पूर्ण टापुहरू स्पष्ट देख्न सकिन्छ । केबुलकारको बेस स्टेसन ओरिएन्टल भिलेजबाट सुरु हुन्छ । ४२ डिग्री भर्टिकलको ठाडो भीरमा केबुलकारको यात्रा साँच्चिकै डरलाग्दो थियो । लंकाबी स्काई क्याबको माथिल्लो स्टेसन पुगेपछि एउटा शिशाको कार (रेलजस्तो डिब्बा) मा चढेर रेलको लिकमा जस्तै ओरालो झरेपछि पुल आउँछ । केबुलकारको केही तलबाट मान्छे हिँड्ने ट्रेल रहेछ । जंगलको बाटो भएर हिँड्ने सिँढी बनाइएको रहेछ । हामी ओरालैओरालो झ¥यौँ । थुप्रै मानिसहरू पैदल हिँडिरहेका थिए । कस्तो रमणीय मौसम । केहीबेरको पैदल यात्रापछि हामी लंकाबी स्काई ब्रिजमा पुग्यौँ ।

यो पुललाई इन्जिनियरिङ चमत्कार नै मानिन्छ । पैदल यात्रा गर्ने सस्पेन्सन पुल हो । यहाँबाट चारैतिरका आकर्षक दृश्य नियाल्न सकिन्छ । पुल पहाडको टाकुरामा बनेको छ । यो विश्वकै सबैभन्दा लामो फ्री स्पान कर्भ पुल हो । लंकाबी पुलमा शाहरूख खानको फिल्म डनको केही दृश्य २००६ मा खिचिएको रहेछ । सिंगल स्पान पिलरमा कर्भ आकारको १२५ मिटर लामो यो स्टिलको पुल दुई वटा पहाडी थुम्कोमा अडिएको छ । यत्तिको ठाउँ हामीहरूको तिर हुँदो हो त मर्निङवाकमा कति हिँडिँदो हो । पेट लाग्नै पाउँथेन ।

नाडीमा ब्रासलेट जस्तै बाँधेको टिकट स्क्यान गरेर हामी केबुलकारमा चढ्यौँ । केहीबेरमै हामीबिहान केबुलकार चढेको ठाउँमा आइपुग्यौँ । हामी थ्री डी म्युजियम हाउसमा गयौँ । त्यहाँ टिकट काटिसकेपछि हामी हलभित्र छि¥यौँ । भित्तैभरि अनेकन चित्रहरू बनाइएका थिए । त्यहाँ आइन्स्टाइनका तस्बिर थिए । मोनालिसाका तस्बिर थिए । डायनोसरका तस्बिर थिए । झरनाका पेन्टिङ थिए । इजिप्टका पिरामिडका तस्बिर थिए । मैले यशोदाका थुप्रै तस्बिरहरू खिचिदिएँ ।

त्यहाँ हामीसँग जम्मा १५ मिनेटको समय थियो । राम्रो तस्बिर लिने हो भने त्यहाँ दुई दिनको समय पनि कम हुन्थ्यो । हामीले हतार हतारमै तस्बिर खिच्यौँ र बाहिर आयौँ । हामी बसतिर लम्कियौँ । बसले हामीलाई नै कुरिरहेको रहेछ । हामी बसमा बस्नु र बस हिँड्नु सँगसँगै भयो । हामी सिधै ओरियन्टल भिलेज पुग्यौँ । रोयल इन्डिया होटलमा हामीले खाना खायौँ । यसपछि हाम्रो आजको महत्वपूर्ण यात्रा सुरु हुन्थ्यो ।

आजको यात्राको तालिकामा आइल्यान्ड हपिङ अन्तिम प्याकेज थियो । लंकाबीको महत्वपूर्ण आइटम रहेछ आइल्यान्ड हपिङ । आइल्यान्ड हपिङ भनेको एउटा टापुबाट अर्काे टापुमा जानु रहेछ । लंकाबीमा धेरै टापु छनु । तीमध्ये अधिकांश टापुमा मानव बसोबास छैन । यद्यपि ती टापुमा गएर घुमफिर गर्न सकिँदोरहेछ । आइल्यान्ड हपिङको मज्जा भनेकै यही रहेछ । ३ घन्टा ३० मिनेटको प्याकेज हुँदोरहेछ आइल्यान्ड हपिङको । आइल्यान्ड हपिङमा जान कसैले प्राइभेट स्पिड जेट रिजर्ब गर्दा रहेछन् । हामीले पेन्टाई सिनाङ बीचबाट आइल्यान्ड हपिङ सुरु ग¥यौँ ।

कसैले जेट स्कि लिएका थिए । कसैले प्राइभेट बोट लिएका थिए । उनीहरू आफैँले बोट चलाउँदै आफूले चाहेको टापुमा जान पाउँथे । कसैले जेट स्कि लिएको पनि देखियो । हाम्रो भने ठूलो गु्रप भएकाले हामी बीस–बीस जनाको दरले स्पिड बोटमा बस्यौँ । बोटका चालकले हामी सबैलाई लाइफ ज्याकेट बाँडे । स्पिड बोटका इन्जिनमा सुजुकी लेखिएको थियो । सबैले लाइफ ज्याकेट लगाएपछि स्पिड बोटसमुद्रतिर दगुर्न सुरु ग¥यो ।

बोटको पछाडि पानीको विशाल लहर बनेको थियो । चालकले घरिघरिबोट यति स्पिडमा डौडाउँथेजसले गर्दा हाम्रो सातै जान्थ्यो।
समुद्रमा रहेका सानादेखि ठुला टापुहरूको नजिकबाट टापु नियाल्दै हिँड्नुको मज्जा बेग्लै थियो । चालकले केहीबेर बोट रोके । शिवराजले एउटा पहाड देखाउँदै सोधे–ऊ त्यो पहाड हेर्नुस् त । एक जना गर्भवती महिला सुतिरहेको जस्तो आकार देख्नुभयो तपाईंले ? सबैले नियालेर हेरे । पहाड कतै टाउको जस्तो कतै पेट उठेजस्तो कतै खुट्टा लम्पसार पारेर सुतेजस्तो । धेरैले ‘हो त’ सबैले भने । ‘यही पहाडको फेदमा छ ताल ।

यही आकृतिका आधारमा त्यो तालको नाम प्रिगनेन्ट मेडन लेक रहेको हो !’ शिवराजले भने । दुई पहाडको खोँचमा पुगेर बोट अडियो । समुद्रमै रहेछ विश्रामस्थल । बोटबाट झर्ने ठाउँलाई जेट्पोर्ट भनिन्छ शिवराजले भनेको सम्झिएँ । बोटबाट ओर्लिएपछि हामी एउटा लामो पुलबाट किनारमा पुग्यौँ । समुद्र किनारमा स–सानो घर रहेछ । त्यहाँ नेपाली गीत घन्किरहेको थियो । केही साथीहरू नाच्न सुरु गरिहाले । शौचालय सँगै रहेछ । मलेसियामा निःशुल्क शौचालय प्रयोग गर्नु असम्भवजस्तै रहेछ ।
बोटदेखि मेडन लेकसम्मको पैदल दूरी १० मिनेटको छ । समुद्र किनारमा पानी चरारहेछन्, कराइरहेका थिए । खोया हाँस मंगोलिया, चीन तथा मध्यएसियाबाट नेपाल हुँदै भारत पुगेर फर्किन्छन् ।

हिउँदमा यिनीहरू खाद्यान्नका लागि लामो यात्रा गर्छन् रगर्मी चढ्दै गएपछि फेरि आफ्नै थलोमा फर्किन्छन् । उत्तर दिशामा जाडो सुरु भएपछि यिनीहरू मैदान झर्ने र मैदानमा गर्मी बढेपछि फेरि उत्तर फर्किने यिनीहरूको आप्रवासन हजारौँ वर्षदेखि जारी छ । यात्राका लागि यिनीहरूलाई न पासपोर्ट चाहिन्छ न भिसा चाहिन्छ न एयरपोर्टमा बोर्डिङ पास नै गर्नुपर्दछ । यिनीहरू आफ्नै सामथ्र्यमा उड्छन् । उनीहरूलाई यात्राका लागि कुनै बन्धन छैन ।हामीले घाँटीमा झोला झुन्ड्याएका छौँ । झोलामै छ पासपोर्ट । पासपोर्टमा देश घुम्ने भिसा लागेको छ । जहाजको टिकट झोलामै छ । होटलको चाबी झोलामै छ ।

बिमानबाट झरेपछि कति ठाउँमा जुत्ता, घडी, बेल्ट, पर्स, मोबाइल,ज्याकेट खोलेर ट्रेमा राखेर आफू मेटल लेस भएर सेन्सर गेटबाट भित्र छिर्नुपर्दछ । एक ठाउँ होइन, दुई ठाउँ होइन, अनेक पटक त्यही मोडबाट गुज्रिँदै गुज्रिँदै यहाँसम्म आइएको छ ।
एक किसिमको कौतुहलता थियो । कस्तो देश होला मलेसिया भन्ने ? मलेसियामा धेरै नेपालीहरूश्रम गर्छन् । मेरै ठाउँका, मेरै टोलका दर्जनौँ साथीहरू कुनै न कुनै बेला मलेसियामै हुनुहुन्थ्यो । कतिले मलेसियाकै कमाइले नेपालमा आफ्नो राम्रै बन्दोबस्ती मिलाउनुभएको छ ।

एकदिनको घुमाइमै थाहा भयो,मलेसिया प्राकृतिक सम्पदाको धनी देश रहेछ । मलेसियाले प्रविधिको भरपुर प्रयोग गरेको रहेछ।
मलेसिया दक्षिण पूर्वी देशको एउटा महत्वपूर्ण शक्ति राष्ट्र रहेछ भन्ने पनि थाहा भयो। मेडन लेक हेर्न पनि टिकट लिनुपर्दो रहेछ ।
त्यहाँ पनि मेडन लेक जाने टिकट सबैको हातमा घडीको चेन जस्तै नाडीमा एक फन्को बेरेर टाँसिदिए । त्यसपछि हामी अघि बढ्यौँ । कति अग्ला बोटहरू । कति हरिया बोटहरू । ठाउँठाउँमा काला ठूल्ठूला ढुंगा थिए । सायद यी ढुंगाहरू भोल्कानो जाँदा पृथ्वीको गर्भबाट निक्लिएका होलान कि ? मैले त त्यस्तै सोचेँ । अलिक पर दुई युवाले बाँदर लखेटिरहेका थिए । निक्खर काला बाँदर । अघि बाटोमा शिवराजले लंकाबी माफियासँग सतर्क रहनुहोला भनेको सायद यिनै बाँदरलाई रहेछ । यी बाँदरले हातमा समातेको झोलादेखि अनुहारको चस्मासमेत खोसिदिन्छन् रे !

मान्छे बाँदरदेखि टाढा पुगेकै छैन । हाम्रो मस्तिष्कका मुटुका कोषहरूर बाँदरका कोषहरूमा कति अन्तर होला खै ? बेला–बेलामामानिसलाई केले उत्साहित बनाउँछ । बेला बेलामा मानिसलाई केले निराश बनाउँछ कुन्नि ? हामीले के काम गर्दा मनमा शान्ति भेट्छौँ ? यहाँसम्म भीडको हिस्सा भएर म के हेर्न आइरहेको छु ? धेरै कुराहरू मनमा आइरहे, गइरहे । जंगलमा केहीबेर तेर्सै हिँडेपछि हामी ओरालो झ¥र्यौं । त्यहीँबाट देखियो पहाडको खोँचमा एउटा सुन्दर तलाउ । मेडन लेक यही रहेछ भन्ने सोचेँ मनमनै । तालको चारैतिर पहाड थिए । पहाडमा अग्ला अग्ला रूखहरू थिए । तालको पानी हरियो थियो । ताल खासै ठूलोथिएन । देशभित्रै तमाम तालतलैया देखेका हामी नेपालीहरूका लागि यो ताल आश्चर्य मानिहाल्नुपर्ने खालको चाहिँ थिएन । मलेसियाले भने यस तालको राम्रै ब्रान्डिङ गरेको रहेछ ।

तालसँगै दुई वटा घर रहेछन् । तालछेउमा पेडल डुंगाहरू थिए । त्यो दिन अरू दिनभन्दा चर्काे घाम लागेको थियो । अत्यधिक गर्मी भएर पनि होला शरीरमा रत्तिभर स्फुर्ति थिएन । सबै जना तालमा पौडी खेल्ने भनेर उत्साहित हुँदै आएका थिए । ताल हेरिसकेपछि भने धेरैको उत्साह शिथिल भएको थियो । यशोदाले पौडी खेल्ने भनेरै कपडा बोकेकी थिइन् । ‘तिमी पौडी खेल्ने भए खेल न त !’ मैले यशोदालाई भनेँ । हामीसँगै आएका अरू महिलाहरू पौडी खेल्न इच्छुक नदेखिएपछि यशोदाले पनि रहर त्यागिदिइन् ।‘तपाईं खेल्ने भए खेल्नुस न । म झोला समाइदिन्छु,’ यशोदाले मलाई भनिन् । पाँच सात जना साथीहरू त्यतिन्जेलमा लाइफ ज्याकेट पहिरिएर पौडी खेल्न थालिसकेका थिए ।

गाउँका सानातिना खोला, ताल तलैयामा पौडी खेलेका सानातिना अनुभव भए पनि मसँग गहिरा नदी र तालहरूमा पौडिएको अनुभव खासै थिएन । अरू पौडिइरहेका थिए । म पनि सक्छु भन्ने लाग्यो । मैले पनि पाँच रिंगेट तिरेर लाइफ ज्याकेट लिएँ । अनि कपडा खोलेर त्यसलाई पहिरिएँ । गर्मी पनि थियो । चारैतिर समुद्रमा नुनिलो पानी छ । पहाडको बीचमा चिसो र पिउनलायक पानी हुनु आफैँमा अनौठो कुरा थियो । यस्तो चर्काे घाम छ पौडिँदा शीतल पनि होला भन्ने सोचेँ । अनि म पौडिन तयार भएँ । साँच्चै भन्नुपर्दा मलाई पौडिनै आउँदैनथ्यो । मैले तालमा सिधै डाइभ हानेँ । पानी चिसो थियो । सबैभन्दा पहिले मैले जमिनमा खुट्टाले टेक्न खोजेँ । म तालको गहिराइ कति छ भनेर अन्दाज गर्न चाहन्थेँ ।

खुट्टाले जमिन छोएको भए पो गहिराइ थाहा हुन्थ्यो । त्यो कति गहिरो थियो थाहा भएन । अचानक मलाई अनुभूति भयो कि मैले गलत निर्णय लिएको रहेछु । मैले टाउको डुबाएर पारि जाने कोसिस गरेँ । लाइफ ज्याकेटको तौलले होला त्यो पनि मैले सोचेजस्तो सहज भएन । अचानक मैले आफ्ना पाखुराहरूमा ऊर्जा घटेको महसुस गरेँ । मैले आफ्नो ऊर्जा र शक्ति घट्दै गएको महसुुस गरेँ । त्यहीबेला देब्रे खुट्टाको मसल्स फर्कियो । त्यसपछि त म झनै अत्तालिएँ । आफूलाई साह्रै निरीह अवस्थामा पाएँ । मैले आफूलाई ‘ओभर स्टिमेट’ गरेछु र प्रकृतिलाई ‘अन्डरस्टिमेट’ गरेछु । प्रत्येक दिन कुनै न कुनै स्थानमा दुर्घटना भएको हुन्छ । कोही न कोहीले ज्यान गुमाइरहेका हुन्छन् ।

मैले तत्काल निर्णय गरेँ, म जसरी पनि किनारामा पुग्नुपर्छ । मैले हार खानु हुँदैन । मैले हार मान्नुको मतलब म यहीँ सिद्धिनु हो ।
जीवनमा दुई चार पटक झन्डै मरेँ भन्ने पल आएनन् भने मान्छेले आफूलाई जहिल्यै विशेष सोच्न पुग्दो रहेछ । यस्तै घटनाहरूले त म केही पनि होइन भन्ने अनुभूति दिँदा रहेछन् । संसारका अर्बपति बाबुछोरा टाइटानिक डुबेको ठाउँमा किन जानुपथ्र्याे र ? मान्छेलाई उसको इगोले कहाँ–कहाँ पु¥याउँछ । डाँडाको बीचमा डाँडाहरू भन्दा गहिरो दह । मैले दुस्साहस गरेँ ।
यही बेला मैले चेखबको कथा सम्झिएँ । एक जना मानिसको समुद्रमा ड्युटी थियो, कोही डुब्न लागे उनीहरूको उद्धार गर्नुपर्ने । भनौँ समुद्रमा चौकीदार । उसले आजीवन आफ्नो ड्युटी कुशलतापूर्वक निभायो ।

उसको जागिरे जीवनमा एउटा मान्छे पनि डुबेर मरेन । उसैलाई कन्फ्युजन हुन थाल्यो । साँच्चै मान्छेहरू पानीमा डुबेर मर्छन् कि मर्दैनन् होला ? मैले बेकारमा आफ्नो जीवन त खेर फालिन कतै ? उसलाई आफैसँग परीक्षण गर्ने मन भयो । एकदिनको कुरा हो, समुद्रमा एउटा मानिस डुब्दै थियो । ऊ ‘बचाऊ बचाऊ’ भन्दै गुहार मागिरहेको थियो । चौकीदारले सुनेर पनि नसुनेझैँ ग¥यो । ऊ अलिक ढिलो गरेर मात्रै उद्धारमा पुग्यो । त्यतिन्जेलमा त्यो मानिस मरिसकेको थियो । चौकीदारलाई बल्ल विश्वास भयो कि मानिसहरू पानीमा डुबेर मर्दा रहेछन् । उसलाई बल्ल महसुस भयो कि उसले जीवनमा धेरैको ज्यान बचाएको रहेछ ।

कति सशक्त छ यो कथा । लोक साहित्य कति सरल र सन्देशमूलक हुन्छन् भन्ने बुझेँ । बूढापाकाहरू आँखामा पानी रहँदासम्म भेटौँला भन्छन् । जिन्दगीको क्षणभंगुरतालाई मैले मनैदेखि महसुस गरेँ ।मेडन लेकमा धेरै मानिस थिए । उनीहरू मेरो उद्धारमा आउँथे आउँथेनन् थाहा छैन । मैले अन्तिम प्रयास गरेँ र किनारमा आएँ । त्यहाँ एउटा डोरी थियो । त्यसपछि त्यहीँ उभिएको एक जनालाई आफूलाई माथि तान्न इसारा गरेँ । पानीबाट बाहिर आउँदासम्म पनि मेरो मुटुको धड्कन कम भएको थिएन ।
ताललाई एकपटक नियालेर हेरेँ । हरियो रंगको तालले पनि मैलाई गहिरिएर हेरेजस्तो लाग्यो ।तालका आँखासँग आँखा जुधाइरहन मन लागेन । मैले डाँडोको चारैतिर उम्रिएका हरिया रूखहरू नियालेँ । अनकन्टार ठाउँमा ताल घरी धरापजस्तो लाग्यो । घरी जीवजन्तुका लागि जीवनबुटी जस्तो लाग्यो ।

जीवन जिउने क्रममा सँगालिएका अनुभव र विश्वासहरूले नै जिन्दगी बाँच्न प्रेरणा दिइरहेका हुन्छन् । लंकाबी यात्राको यो पल जिन्दगीभरि मेरो स्मृतिबाट मेटिने छैन । हामी फेरि डुंगा चढ्यौँ । बोट चालकले अन्य डुंगासँगै प्रतिस्पर्धा गर्दै अझ जोडले कुदाए । मेरो मनमा भने अरू नै कुरा खेलेका थिए । रोपवेमा झुन्डिएर यात्रा गर्नु, जहाजमा उड्नु, बसमा गुड्नु, पानी जहाजमा तैरिनु । जोखिम नभएको ठाउँ त कतै पनि रहेनछ त ? लंकाबी मलेसियाकै आकर्षक पर्यटकीय स्थल रहेछ । सन् १९९० पछि मात्र लंकाबीलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न थालिएको होभनेर पत्याउनै गाह्रो हुन्छ । चालकले स्पिड बोट किनारतिरै पु¥याए । हरियो जंगल किनारमा थियो पुलको भग्नावशेष जस्तै संरचना । त्यही संरचनामाथि चिलहरू बसेको देखियो । चालकले हामी बसेको बोट पुल नजिकै पु¥याएर फनक्क घुमाए ।

त्यही बेला चालकले समुद्री सतहमा चिकेनका टुक्रा छरिदिए सायद । एकैछिनमा चिलहरू आएर डाइभ हान्दै पानीको सतहबाट मासु टिप्दै उड्दै गर्न थाले । यो ठाउँलाई इगल फिडिङ भनिँदोरहेछ । चिलले निकै आकर्षक ढंगले पानीबाट खानेकुरा टिप्थे । यस्तो निर्जन ठाउँमा टन्नै चिलहरू हुँदा रहेछन् । जंगली पन्छीलाई तालिम दिएर राखिएजस्तै लाग्ने । यसपछि हामीलाई पुलाउ सिंगा बेसार भन्ने टापुमा लगेर झारियो । त्यहाँको समुद्री बिच अलिक फोहोर रहेछ । किनारमा सामुद्रिक जीवजन्तुका अवशेष रहेछन् । अलिक धारिला र चिप्ला ढुंगा रहेछन् । यहाँ पनि यशोदाको पौडी खेल्ने रहर पूरा भएन । समुद्री किनारमा नरम र सेतो बालुवा थियो । टापुमा बस्ती रहेनछ । किनारमा एउटा झुपडी थियो ।

उनीहरू पनि दिनभर बसेर साँझ फर्किन्छन् होला ।मानवीय गतिविधिले पर्यावरण नबिग्रिएका निर्जन टापुमा जाडोयाममा घाम ताप्दै बालुवामा दिन बिताउनु रमाइलो हुन्छ होला ? दिउँसो डुंगा चढेकै ठाउँमा पुगेर हाम्रो आइल्यान्ड हपिङ यात्रा सकियो । डुंगाबाट झरेपछि हामी बस चढ्यौँ । साँझको खाना हामीले स्पाइस गार्डेनमा खायौँ । त्यतिन्जेलमा रातको ९ बजिसकेको थियो ।
खाना खाएपछि हामी बस चढ्यौ । लंकाबीमा आजको रात हाम्रो अन्तिम रात थियो । अर्काे दिन हामी प्लेन चढेर क्वालालम्पुर जाँदै थियौँ ।

हामी बसबाट फर्किरहेका थियौँ । हँसिमजाक चलिरहेको थियो । कसैले शिवराजलाई ‘काले’ भनिदियो । आफूलाई काले भनेको सुन्नेबित्तिकै शिवराजको रिस टाउकोमा चढ्यो । ‘व्हाट डिड यु से ? यु सेड मि काले । आई विल थ्रो यु आउट फ्रम दिस बस नाउ !’ शिवराज अचानक जंगिए । माहोल एकाएक नमीठो भयो । मलेसियामा तमिलहरूलाई हेयात्मक तरिकाले काले भनिँदो रहेछ । तमिलहरूले मौका पर्दा लुट्छन भनिन्छ । हामीलाई आइटिनरीमा टेक्सिवालाको विश्वास नगर्न र एक्लै कतै नहिँड्न सुझाइएको थियो । शिवराजले आफूलाई रेसको आधारमा अपमान गरिएको महसुस गरे सायद । हामीले सरी भनेपछि बल्ल शिवराजको रिस मरेको थियो ।

 

प्रकाशित मितिः शनिबार, चैत्र २४, २०८०     6:57:18 PM  |