जीतबहादुर शाह
एकपटक एउटा मन परेको किताब अध्ययन गरिरहेका बेला एक्कासि यो मनले सोच्न थाल्छ कि मेरो सृष्टिकर्ता मसँग रिसाएर मैले चिनेका अक्षरहरू एकाएक मबाट खोसेर लग्यो र मलाई अक्षरविहीन बनाइदियो भने मेरो जिन्दगी कस्तो हुन्छ होला ? मैले मेरो दराजभरि दुखजिलो गरेर कमाएको रकमले खरिद गरेका किताबहरू त्यसपछि मैले के गर्छु होला ? म आफैँले लेखेर आफ्ना सन्ततिलाई झँै माया गरेर राखेका मेरा लेखकीय कृतिहरू मेरा निम्ति त्यसपछि कस्ता हुन्छन् होला ?
मैले अहिले नै अध्ययन गरिरहेको किताबको अबको अध्ययन गर्न बाँकी भागलाई मैले कसरी पढ्छु होला ? बिहान सरसर्ती पत्रपत्रिकाका हाइलाइटहरू हेर्ने मेरो बानी त्यसपछि के हुन्छ होला ? मेरो सिर्जना र एकान्तको साथी मेरो ल्यापटप त्यसपछि मैले के गर्छु होला ? यस्ता अनगिन्ती प्रश्नहरूले मलाई टोक्न थाल्छन् लामखुट्टेले झैँ । म कल्पना पनि गर्न सक्दिनँ कि मैले कल्पना गरेझैँ सृष्टिकर्ताले बनाइदिने मेरो अक्षरबिनाको त्यो जीवन कति कष्टकर र कति कहालीलाग्दो हुन्छ होला (आफैँ, २०७५) !
अनि सोच्दछु, हाम्रा कतिपय अक्षरविहीन नागरिकहरूको जीवन पनि त्यस्तै कष्टकर किसिमले त गुज्रदै छ होला है, जसरी म अक्षरबिनाको भएँ भने, मैले मेरो जीवन कहालीलाग्दो हुने कुराको परिकल्पना गरिरहेको छु । हाम्रो जस्तो विकासोन्मुख मुलुकहरूका नागरिकको बीचमा शिक्षाको महत्व र मूल्यका बारेमा विवाद देखिन्छ । कतिपयले शिक्षामा लगानी भनेको बालुवामा पानी हालेजस्तै हो भन्छन् भने कतिपयले शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो भन्ने कुरालाई जोड्दै विकासका अन्य पूर्वाधारहरूको निर्माण र त्यसको दिगोपनका लागि शिक्षाको अवस्था कस्तो छ भन्ने कुराले अहम् भूमिका निर्वाह गर्दछ भन्छन् ।
एउटा सत्य के हो भने गुणस्तरीय शिक्षा सदैव समाजको महत्वपूर्ण हिस्साको रूपमा रहेको हुन्छ । यसले मेहेनती, सिर्जशील र असल नागरिक भएर समुदायमा सकारात्मक किसिमले योगदान गर्नका लागि समझदार एवम् जानकार नागरिकको उत्पादन गर्दछ । गुणस्तरीय शिक्षामा गरिने लगानीले भावी पुस्ताका निम्ति राम्रो आयआर्जनका अवसर सिर्जना गर्ने भएको कारण आफ्नो र परिवारको श्रेष्ठ जीवन यापनका लागि सुनिश्चितता प्रदान गर्दछ (एमिली समर्स, २०२१) ।
गुणस्तरीय शिक्षाको प्रस्तुत चर्चाबाट स्पष्ट हुन्छ कि शिक्षा त्यस्तो शक्तिशाली हतियार हो जसको सहयोगले हामी यो संसारलाई बदल्न सक्छौं । नेल्सन मण्डेला भन्छन् – ‘शिक्षा व्यक्तिगत विकासको एउटा ठूलो इन्जिन हो, जसको सहयोगले एउटा मजदुरको छोरी डाक्टर हुन सक्छिन्, खनिज खानीमा काम गर्ने मान्छेको छोरा खनिज खानीको मालिक बन्न सक्छन् र एउटा किसानको बच्चा ठूलो राष्ट्रको राष्ट्राध्यक्ष बन्न सक्छन् ।’
विभिन्न अनुसन्धानहरूले पुष्टि गरेका छन् कि शिक्षामा गरिने लगानीले व्यक्तिको भावी आर्थिक जीवन राम्रो हुन्छ, शिक्षा आर्जन नगरेको वा कम शिक्षा आर्जन गरेको व्यक्तिको तुलनामा उच्च शिक्षा हासिल गरेकाले रोजगारीको अवसर पाउने मात्र नभई रोजीरोजी रोजगारीको अवसर पाउँछ, व्यक्तिलाई आफ्नो गन्तव्यको निश्चय गर्न र निश्चय गरेको गन्तव्यमा पुग्नका लागि शिक्षाले सहयोग गर्दछ, राम्रो र गुणस्तरीय शिक्षा आर्जन गरेको व्यक्तिलाई कहिल्यै पनि निवृत्त हुनु पर्दैन । उसले कुनै सेवाबाट निवृत्त हुनु परे पनि अर्को सेवाले उसलाई पर्खिरहेको हुन्छ ।
प्रतिस्पर्धीहरू अरू कुरा सबैमा समान भए भने जसको शिक्षा राम्रो र उच्च छ त्यसैलाई निर्णायक बनाएर छनोट गरिन्छ । शिक्षा आर्जन गरेको मानिस सूचना र नेटवर्कको हिसाबले अरूभन्दा सक्षम हुन्छ । परिवारमा अग्रजहरूले उच्च शिक्षा हासिल गरेका छन् भने पछाडिका सन्तानहरूलाई अझै त्योभन्दा उच्च शिक्षा हासिल गर्न प्रेरणा मिल्छ । शिक्षाले व्यक्तिलाई स्वस्थ र खुसी हुन सहयोग गर्दछ । समग्रमा शिक्षाले व्यक्ति र परिवारको जीवनस्तर उच्च बनाउन योगदान गर्दछ । शिक्षित परिवारका एकाइहरू मिलेर मुलुक बन्छ र त्यो मुलुकको जीवन पनि समग्रमा उच्च र समृद्ध हुने गर्दछ ।
उल्लिखित दृष्टान्तहरूलाई हृदयङ्गम गर्दा शिक्षाबिना कुनै पनि काम सम्भव छैन । यसै कुरालाई मध्यनजर राखी सन् १९८० ताका चीनमा देङ स्याओ पिङले देशलाई विकासको अग्रगतिमा लिनका लागि चारवटा क्षेत्रहरू– कृषि, उद्योग, सुरक्षा र विज्ञान एवम् प्रविधिमा सुधार गर्न खोजे । यी चारवटै क्षेत्रमा फड्को मार्नका लागि उनले शिक्षामा क्रान्तिकारी परिवर्तन गरे । शिक्षामा लगानी बढाए । अब्बल जनशक्तिलाई शिक्षक बनाउनका लागि त्यही अनुसारको छनोट प्रक्रियालाई अवलम्बन गरे । विद्यार्थीहरूलाई अध्ययन गर्न र सिक्नका लागि विदेश पनि पठाए तर स्वदेश फर्केर सेवा गर्ने सर्तमा । युवा शक्तिलाई बरालिनबाट बचाउनका लागि लागूऔषध नियन्त्रणमा कडाइ गरे ।
यतिसम्म कि सेवन गर्ने र त्यसको कारोबार गर्नेलाई मृत्युदण्डसम्मको सजाय दिनेगरी कानुन बनाई कार्यान्वयन गरे । यसले गर्दा देशको युवा शक्ति देशको निम्ति मन, बचन र कर्मले खट्ने गरी प्रतिबद्ध हुने वातावरण तयार भयो । त्यसकारण चीन छोटो समयमै शक्ति राष्ट्रमा दर्ज हुन पुग्यो । हाम्रोमा निरङ्कुश व्यवस्थालाई बिदा गरेर संसदीय व्यवस्थालाई स्वागत गरेको पनि तीन दशक नाघ्यो तथापि विकासका लक्षणहरू विश्वासिला र भरपर्दा देखिन नसकेको अवस्था छ । यसको एउटै कारण हो हामीले शिक्षालाई प्राथमिकतामा राख्न सकेनौं ।
हाम्रो देशमा संसदीय व्यवस्था आयो । गणतन्त्र पनि आयो । लोकतन्त्र पनि आयो । तर गुणस्तरीय शिक्षाको वातावरण भने अझै आएन । शिक्षा सस्तो भयो, सर्वसुलभ पनि भयो तर सस्तो सामानको गुणस्तर खस्केको जस्तो भयो । शिक्षा बेसहारा र अभिभावकविहीन भयो । न त यसको जिम्मा सरकारले लियो, न त राज्यले । न त कसैले निगरानी नै ग¥यो । त्यसैले पवित्र र गुणस्तरीय शिक्षा आर्जन गर्ने थलो कहिले राजनीति गर्नेहरूको क्रिडास्थल बन्यो भने कहिल्यै कहीँ काम नपाएर थला परेका कमजोर जनशक्तिलाई व्यवस्थापन गर्ने थलोको रूपमा विकास भयो।
यसैको मौका छोपेर निजी लगानीका विद्यालयहरूले हामी दिन्छौँ गुणस्तरीय शिक्षा भन्दै अङ्ग्रेजी पढाउन थाले र त्यही अङ्ग्रेजी पढ्नु र अङ्ग्रेजीमा घोक्नुलाई गुणस्तरीय शिक्षा भनेर बक्न थाले । नेपाली अक्षर समेत कालो अक्षर भैँसी बराबर भएका हाम्रो अभिभावकलाई अङ्ग्रेजीमा पढ्ने भनेपछि गुणस्तरीय शिक्षा भनेको यही रहेछ भन्दै आँखा चिम्लेर बोर्डिङ र निजी विद्यालयतिर लागें । त्यहीँको शिक्षा पाएर उतैबाट घर नफर्केर बिदेशतिर लागे । यही जनशक्तिले जन्मघरमा आफूले खाएको थाली बुढेसकालका बाउआमालाई माझ्न लगाउने र आफू विदेश गएर अरूले खाएका थाली माझ्ने कुरामा गर्व गर्न थाले ।
उल्लिखित कतिपय सवालहरूको अध्ययन गर्दा हामी कतिपयले शिक्षा हासिल नै गर्न पाएनौँ अर्थात शिक्षाको संसारमा विचरण गर्नका लागि साक्षरताको गेटबाट भित्र प्रवेश गर्न नै पाएनौँ । कतिपयले शिक्षा त पायौँ तर गतिलो, गरिखाने र गुणस्तरीय शिक्षा पाएनौँ । अरूलाई ठग्ने, धोका दिने एवम् समाज र देशलाई बिगारेर आफूमात्रै सप्रिने शिक्षा पायौँ । यी दुबै कुरा गलत भए । यी दुबैबाट समाज र मुलुकले समुन्नतिका लागि सहयोग पाएन । कतिपयले भने गतिलो शिक्षा पाएका छन् । उनीहरूलाई समाज र मुलुकले आशातीत प्रगति नगरेकोमा पिरलो छ । यस्ता मानिसहरू सबैतिर छन् । राजनीतिक दलभित्र पनि छन्, सरकारभित्र पनि छन्, कर्मचारीभित्र पनि छन्, नागरिक समाजमा पनि छन् ।
तथापि यिनीहरू अल्पमतमा छन्, अल्पमतमा पारिएको छ । हालीमुहाली गर्न बानी परेकाहरूले यिनीहरूका कुरा लागू गर्न आनाकानी गरिरहेका छन् । यस्तो अवस्थामा विद्यालय तहदेखि नै शिक्षालाई गुणस्तरीय र कामयावी बनाएर अगाडि बढ्न सकियो भने सबैलाई साक्षरताको गेटभित्र प्रवेश गरेर शिक्षाको संसारभित्र सयर गर्न अवसर मिल्नेछ र शिक्षित भएर पनि सच्चरित्र र सद्बुद्धि नभएकाहरू पनि सप्रिन बाध्य हुनेछन् । सप्रिएनन् भने समयले तिनीहरूको उचित ठेगान लगाउनेछ ।
शिक्षा गुणस्तरीय र कामयावी बनाउनका लागि सर्वप्रथम त शिक्षामा लगानी बढाउनुपर्छ । अहिले शिक्षामा केन्द्र सरकारले ११ प्रतिशतको हाराहारीमा लगानी गरिहेको छ भने प्रदेश र स्थानीय तहहरूले ३ प्रतिशतको हाराहारीमा लगानी गरिहेको अवस्था छ । यसरी गरिएको कुल लगानीको करिब ८० प्रतिशत बजेट शिक्षकहरूको तलबभत्तामा जाने गर्दछ भने त्यसको १० देखि १५ प्रतिशत बजेट भौतिक पूर्वाधारमा खर्च हुने गर्दछ । कक्षाकोठाको शिक्षण सिकाइ क्रियाकलापहरूलाई प्रयोगात्मक, व्यावहारिक र जीवनोपयोगी बनाउनका लागि त बजेट नै छैन भन्दा पनि हुन्छ ।
कतै–कतै विद्यालयहरूमा कम्प्युटर र ल्यापटपहरू देखिन्छन् तथापि तिनीहरूको प्रयोग शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि प्रयोग नभएको अवस्था छ । यतिबेलाको विद्यालय तहको पाठ्यक्रमलाई नराम्रो भन्न मिल्दैन । हरेक पाठ र विषयवस्तुलाई व्यावहारिक र प्रयोजनमूलक बनाउनका लागि परियोजना एवम् प्रयोगात्मक कार्यको व्यवस्था गरिएको छ । तथापि शिक्षक र विद्यालयहरूबाट त्यस्ता क्रियाकलापहरूको सम्पादन गरिँदैन । कारणमा बजेट नभएको कुरा गरिन्छ ।
विद्यार्थीलाई एउटा पनि र एकदिन पनि परियोजना वा प्रयोगात्मक कार्य गर्नका लागि अवसर नदिएर शतप्रतिशत अङ्क चढाइ ग्रेड सिट प्रदान गरिन्छ । कहिलेकाहीँ कार्यक्रममा लाग्ने रकम सबैले उठाएर विद्यार्थीहरू सहित विद्यालय परिवार पिक्निक वा अवलोकन वा शैक्षिक भ्रमणमा जाने गर्दछन् । तर त्यहाँ किन जाने र के सिकेर आउने बारेमा विद्यालय परिवारसँग योजना हँुदैन र त्यो काम सम्पन्न भएपछि विद्यार्थीहरूबाट त्यो कामबाट भएको सिकाइका बारेमा मौखिक वा लिखित रूपमा सिकाइको प्रतिवेदन पनि मागिँदैन ।
भन्नुको मतलब विद्यालयमा गरिएको कतिपय कार्यक्रमहरूलाई पनि सिकाइसँग सम्बन्धित गराउन सकिएको छैन । यसको जिम्मेवार शिक्षक हुनुपर्छ भन्ने लाग्छ मलाई । यसका लागि अहिले भन्दा पनि अब्बल दर्जाका नागरिकलाई शिक्षक बनाउनुपर्छ । यसका लागि शिक्षक छनोटको पाठ्यक्रममा सुधार गर्नुपर्छ, निजामती सेवाका तल्लो तहका कर्मचारी छनोट गर्ने जस्तो पाठ्यक्रमले गतिला शिक्षक छनोट गर्न सक्दैन । भन्नुको मतलब शिक्षा, शिक्षण पेसा, विषयवस्तु र बालबालिकासँग सम्बन्धित ज्ञान, सीप र अभिवृत्तिलाई परीक्षण गर्ने गरी शिक्षामा प्यारालाइज्ड भएको पुरस्कार र दण्डको प्रणालीलाई प्रभावकारी बनाउनुपर्छ ।
तीनै तहका सरकारहरूले शिक्षामा गर्दै आएको लगानीलाई बढाउँदै लिएर २० प्रतिशतको हाराहारीमा पु¥याउनुपर्छ र यसरी छुट्याइएको बजेटमध्ये ६० प्रतिशत शिक्षकको तलब भत्ता र ४० प्रतिशत शिक्षालाई व्यावहारिक र शिक्षण सिकाइलाई प्रभावकारी बनाउने मामलामा खर्च गरिनुपर्दछ । विडम्बना नै भन्नुपर्छ, हामीले आशा गरेका कतिपय प्राविधिक विद्यालय र शिक्षालयहरूले प्रदान गर्ने शिक्षा पनि घोकेरै पास गर्ने मोडमा पुगिसकेको अवस्था छ ।
नाममात्रै प्राविधिक राखेर के गर्ने ? हाम्रो प्राविधिक शिक्षा पनि मरञ्च्याँसे मानिसको नाम वीरबहादुर राखेजस्तै भइसकेको छ । यसको कारण बजेट र काम गर्ने बरकतको अभाव हो । शिक्षालाई जसरी पनि राम्रो र गुणस्तरीय बनाउनुको अर्को विकल्प छैन । शिक्षा राम्रो भयो भने चीनमा जस्तै हाम्रो देशमा पनि उन्नतिको उज्यालोले समाज र मुलुकका सबै क्षेत्रलाई प्रकाशमय बनाउनेछ भन्ने कुरामा मलाई पूर्णविश्वास छ, किनभने यसका साक्षी हाम्रासामु विकसित मुलुकहरू छन् ।
प्रतिक्रिया दिनुहोस्