17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

‘टक सो’ यसपालि महोत्सवको थप आकर्षण हो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ २५, २०८०  


आजदेखि सुरु हुन लागेको कोहलपुर महोत्सवका प्रमुख आकर्षण के–के छन् ?

हामीले यसपटकको मेलालाई केही फरक बनाउने प्रयास गरेका छौँ । यसपटक यस क्षेत्रका पुरातात्विक बस्तुहरूको संग्रहालय पनि प्रदर्शनीमा राखेका छौँ । त्यसैगरी, यहाँका कृषि तथा घरेलु उत्पादनलाई मेलामा ल्याउने प्रयास गरेका छौँ ।

मेलाको उद्घाटन कसले गर्दै हुनुहुन्छ ?

हामीले लुम्बिनी प्रदेश भौतिक योजना मन्त्री प्रकाश ज्वालालाई प्रमुख अतिथिका रूपमा निम्त्याएका छौँ । उहाँले नै मेलाको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसैगरी, अतिथिहरू प्रदेश सांसद, स्थानीय सरकारका प्रमुखलगायत हुनुहुन्छ ।

बिरुवा सुरक्षाको चुनौती छ । यसलाई कसरी व्यवस्थापन कसरी गर्नुहुन्छ ?

हामीले बिरुवा सुरक्षा गर्नका लागि प्रत्येक बिरुवालाई भित्र पर्नेगरी व्यवस्था गरेका छौँ । हामीलाई एकातिर मेलाको चुनौती थियो, अर्कातिर बिरुवा सुरक्षाको थप चुनौती छ । त्यसो भएर हामीले यसलाई प्रमुख निगरानीका साथ सुरक्षा व्यवस्था मिलाएका छौँ ।

मेलाका प्रमुख आकर्षण के छन् ?

हामीले यसपालि मेलामा ‘टक सो’ गर्ने योजना बनाएका छौँ । यहाँका बौद्धिक तथा सामाजिक क्षेत्रमा क्रियाशील नागरिकहरूलाई आकर्षण गर्नका लागि मेलामा यो ‘इभेन्ट’ थप गरेका हौँ । त्यसबाट गम्भीर खालका दर्शकले पनि मेला अवलोकन गर्नुहुनेछ भन्ने हामीले आशा राखेका छौँ ।

मेलामा थप आकर्षण के छन् ?

मेलामा हाम्रो पालिकाभित्र भएका उत्पादनलाई पनि राखिनेछ । किनकि कतिपय स्थानीय उत्पादनलाई उपभोक्ताले प्रयोग गरिरहनुभएको छ तर त्यो उत्पादन कहाँ भएको हो भन्ने कुराको जानकारी धेरैलाई नहुन सक्छ । त्यस्ता उत्पादनबारे उहाँहरूले मेलामा आएर जानकारी प्राप्त गर्नुहुनेछ ।

प्रवेश शुल्क कसरी राख्नुभएको छ ?

हामीले साधारण टिकटको एक सय मूल्य निर्धारण गरेका छौँ । तर मेला अवलोकान गर्न आउने अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेश तथा विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था मिलाएका छौँ ।

विगतमा मेलामा विभिन्न किसिमका गुनासा आउने गरेका थिए । विगतका जस्ता गुनासा आउन नदिन के गर्नुभएको छ ?

मेरो नेतृत्वमा एउटा सशक्त टिम छ । त्यो टिमले नै मेलाको व्यवस्थापन गरिरहेको छ । विभिन्न समिति बनाएर हामीले काम गरिरहेका छौँ । हामीले विगतका कमजोरीबाट पाठ सिकेर गल्ती नदोहो¥याउने गरी काम गरिरहेका छौँ ।

कलाकार व्यवस्थापन कसरी गरिरहनुभएको छ ?

कलाकार व्यवस्थापनका लागि एउटा छुट्टै समिति छ । त्यो समितिले नै कलाकारहरूको व्यवस्थापन गर्नेछ । राष्ट्रियदेखि स्थानीय कलाकारहरू मेलामा आउँदै हुनुहुन्छ । उहाँहरूको व्यवस्थापन समितिले गर्नेछ ।

मेलामा कतिपय विकृति विसंगति पनि देखिने गरेका छन् । लागूऔषध दुरुपयोगकर्ताको पनि मेलामा बिगबिगी देखिन्छ । यसलाई कसरी नियन्त्रण गर्नुहुुन्छ ?

आशा गरौँ त्यस्तो नहोला । हामीले यसका लागि ‘टक सो’ मार्फत सचेतना जगाउने प्रयास पनि गरेका छौँ । त्यसका बाबजुद त्यस्तो अवस्था देखिएमा यहाँको सुुरक्षा निकायको समन्वयमा हामीले त्यसबारेमा नियन्त्रणको प्रयास गर्नेछौँ । साथसाथै ‘टक सो’ मार्फत नै जनचेतना जगाउने खालका कार्यक्रम पनि गर्नेछौँ ।

तपाईंले धेरै पटक ‘टक सो’को कुरा गर्नुभयो । यो कस्तो ‘टक सो’ हो ?

‘टक सो’का बारेमा हाम्रा प्रचार संयोजकले सबै कुराको चाँजोपाँजो मिलाउनुहुन्छ । उहाँले नै के विषयमा ‘टक सो’ राख्ने भनेर छनोट गर्नुहुनेछ । हामीले प्रत्येक दिन एक घन्टा ‘टक सो’को समय छुट्याएका छौँ । त्यो समयमा कोहलपुर क्षेत्रका विविध विषयमा यहाँका विज्ञहरूलाई सहभागी गराएर हामीले कार्यक्रम गर्नेर्छौं ।

यस्ता मेला महोत्सवमा प्रमुख रूपमा उठ्ने विषय हुन्, आर्थिक विषयबस्तु । आर्थिक पारदर्शिता कसरी कायम गर्नुहुन्छ ?

विगतमा पनि आर्थिक विषयका धेरै कुरा उठे । त्यसबाट पनि हामीले पाठ सिक्नुपर्नेछ । विगतमा पनि हामीले जुन प्रयोजनका लागि आर्थिक उपार्जनलाई उपयोग गर्ने भनेका थियौँ, त्यसमै खर्च ग¥यौँ । हामीले घरेलुको कार्याालय बनाउने भनेका थियौँ, बनाएर देखायौँ । आर्थिक पारदर्शिता कायम गर्ने कुरामा हामी अहिले पनि सचेत छौँ ।

घरेलु महासंघले आयोजना गरेको यो मेलामा लुम्बिनी प्रदेशभित्रका घरेलु उद्योगका उत्पादनहरू पनि प्रदर्शन होलान् नि ?

हामीले त्यो प्रयास पनि गरेका हौँ । नजिकका कतिपय घरेलु उत्पादन मेलामा देख्न सकिने छ । तर धेरै टाढाबाट घरेलुका उत्पादन आउन सम्भव छैन । घरेलु भन्नेबित्तिकै साना–साना कुटिर उत्पादन भएकाले टाढाटाढाबाट यस्ता उत्पादन सहभागी गराउन सम्भव नहोला ।

मेलामा हेर्नका लागि नयाँ कुरा के छन् ? तपाईंहरूको मेला किन अवलोकन गर्ने ?

मेलामा के–के छ भन्ने कुरा त्यहाँभित्र पसेपछि थाहा हुन्छ । हामीले मनोरन्जनका लागि विभिन्न सामग्री राखेका छौँ, बालबालिकाहरूका लागि बालउद्यान बनाएका छौँ । विभिन्न उत्पादनका स्टलहरू छन् । तपार्इंले एकपटक अवलोकन गर्नुभयो भने थाहा पाउनुहुनेछ । अवलोकन नै नगरी मेलामा के छ भन्ने कुरा कसरी थाहा हुन्छ ! एकपटक मेला अवलोकन गर्नुहोस् तपाईंलाई पक्कै पनि निराश हुनुपर्ने अवस्था रहनेछैन ।

मेलाका खास चुनौती के हुन् ?

मेला महोत्सव सञ्चालन गर्नु र सफलतापूर्व सम्पन्न गर्नु आफैँमा चुनौतीपूर्ण कुरा हो । सबैको चित्त बुझाउनुपर्ने अवस्था छ । विगतमा पनि मैले संयोजक भएर काम गरेको छु । सबैलाई मिलाएर लैजाने चुनौती छ । तर पनि हामी यो चुनौतीलाई मोलेर मेलालाई भव्य रूपमा सम्पन्न गर्ने प्रयासमा छौँ ।

प्रकाशित मितिः बिहिबार, माघ २५, २०८०     10:03:10 AM  |