ठूला कक्षामा गृहकार्य जाँच गर्ने केही सूक्ष्म तरिका



जीतबहादुर शाह

सामान्यतया कक्षामा सहजीकरण गरेको कुरा विद्यार्थीहरूले सिकेनसिकेको सम्बन्धमा यकीन गर्नका लागि र सिकेको कुरामा विद्यार्थीलाई अभ्यस्त बनाई दीर्घकालसम्म टिकाइराख्नका लागि शिक्षकहरूले पाठ्यपुस्तकको सहयोग लिएर वा आफू स्वयम्ले मौलिक रूपमा सिर्जना गरेर घरबाट गरेर ल्याउने गरी विद्यार्थीहरूलाई दिने कामलाई धेरै पहिलेदेखि शैक्षिक क्षेत्रमा गृहकार्य भन्ने गरिन्छ । यद्यपि कतिपय विकसित मुलुकहरूले साना कक्षाका विद्यार्थीहरूलाई गृहकार्य दिनु हुँदैन भन्ने कुरालाई समेत प्राथमिकता दिएर कार्यान्वयन गरेको पाइन्छ । त्यस्ता देशहरूले विद्यार्थीहरूको सिर्जनात्मकताको विकास हुने गरी स्वतन्त्र रूपमा काम गर्न दिने तर विद्यालयकै काम घरमा पनि गर्न दिने कुरामा उनीहरूले आपत्ति जनाएको अवस्था हो ।

हाम्रो परिवेशमा भने त्यो प्रकारको मानसिकता सराकारवालाहरूमा प्रवेश गराउन नसकिएको कुरा भने सत्य हो । यसको मतलब गृहकार्य दिनु खराबै भने होइन । बरु गृहकार्य कति दिने र के दिने भन्ने कुरा भने महत्वपूर्ण हो । हाम्रो देशको सन्दर्भमा सामुदायिक विद्यालयको कार्यसम्पादनमा सरोकारवालाहरूले औँला ठड्याएको प्रमुख समस्याहरूमध्ये विद्यार्थीहरूलाई गृहकार्य नदिनु र दिए पनि चेक नगर्नु एक महत्वपूर्ण समस्याको रूपमा रहेको छ । यो समस्या बल्झिरहनुमा केही त शिक्षकहरूको पनि आफ्नो कर्तव्यप्रतिको उदासिनता होला, त्यो भन्दा पनि महत्वपूर्ण कुरा कक्षामा विद्यार्थीहरू धेरै हुनु पनि एक हो ।

यो समस्या तल्ला कक्षाहरूमा त त्यति छैन, किनभने विद्यार्थी सङ्ख्या विभिन्न कारणले घटेको अवस्था छ । माथिल्लो कक्षा विशेषगरी माध्यमिक तहका कक्षाहरूमा भने धेरै विद्यालयहरूमा विद्यार्थी सङ्ख्या बढी भएको अवस्था छ । विद्यार्थी सङ्ख्या बढि भएको कारणले शिक्षकहरूले विद्यार्थीहरूलाई व्यक्तिगत रूपमा रेखदेख र पथप्रदर्शन गर्न नसकेको अवस्था पनि त्यत्तिकै चर्को रूपमा उठेको छ । कतिपय कक्षामा त शिक्षकले ६०÷७० देखि १०० को हाराहारिमा एकैपटक कक्षामा अध्यापन गर्नुपर्ने अवस्थासमेत रहेको देखिन्छ । यहाँ ठूलो कक्षा भन्नाले यस्तै बढी सङ्ख्यामा विद्यार्थी भएका कक्षाहरूलाई भन्न खोजिएको हो ।

विद्यार्थी जतिसुकै भएपनि सवभन्दा राम्रो कुरा त हरेक विद्यार्थीहरूले गरेको गृहकार्य विषयगत शिक्षक आफैँले चेक गरेर पृष्ठपोषण दिनु हो । विद्यार्थी सङ्ख्या बढी भएको कारणले यदि यो काम गर्न कठीन भयो भने अरू केही विकल्पहरूको खोजी गरेर पनि गृहकार्यको चेक भने गरिनु पर्दछ । अहिले सामुदायिक विद्यालय र संस्थागत विद्यालयको तुलना गर्दा संस्थागतमा हुने र सामुदायिकमा नहुने भनेर लागेको आरोप भनेको विद्यार्थीहरूलाई गृहकार्य दिनु र सोको चेक गरेर पृष्ठपोषण प्रदान गर्नु हो । अतः विद्यार्थी सङ्ख्या बढी भएका सामुदायिक विद्यालयका कक्षामा अध्यापन गर्ने शिक्षकले आफूले अध्यापन गर्ने विषयको सधैं गृहकार्य चेक हुन्छ भनेर गृहकार्य गर्नका लागि विद्यार्थीहरूलाई कसरी अभिप्रेरित गर्ने र गृहकार्य चेक गरेर पनि कसरी पृष्ठपोषण प्रदान गर्ने भन्ने सम्बन्धमा केही तरिकाहरू यस लेखमार्फत प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

पहिलो तरिकाको रूपमा सरसर्ती अभ्यास पुस्तिका देखाउन लगाएर अवलोकन÷चेक गर्न सकिन्छ । यसअन्तर्गत हरेक विद्यार्थीलाई कपि निकालेर देखाउनका लागि निर्देशन दिन सकिन्छ र कक्षाभरि सरसर्ती घुमेर को विद्यार्थीले गृहकार्य गरेको र को विद्यार्थीले नगरेको भन्ने सम्बन्धमा पहिचान गर्न सकिन्छ । यसै क्रममा गृहकार्य गरेका विद्यार्थीहरूलाई स्याबासी र नगरेका विद्यार्थीहरूलाई गृहकार्य गर्नका लागि प्रोत्साहित गर्न सकिन्छ । गृहकार्य गर्ने बानी प¥यो भने कतिपय सुधार विद्यार्थी आफैँले पनि स्वतस्फूर्त किसिमबाट गरिरहेका हुन्छन् । शिक्षकले पटकैपिच्छै या भनौं पाइलैपिच्छे निर्देशन गर्ने होइन कि काम गर्नका लागि विद्यार्थीहरूलाई उत्प्रेरित गर्ने हो भन्ने कुरालाई कहिल्यै विर्सनु हुदैन ।

दोश्रोे तरिकाको रूपमा गृहकार्यको रेन्डम स्याम्पलिङ तरिकाकोे माध्यमबाट चेकिङ गर्ने तरिकालाई अपनाउन सकिन्छ । दृष्टान्त दिएर भन्नु पर्दा यसअन्तर्गत एक दिनमा २० जनाको मात्र गृहकार्य चेक गर्ने योजना बनाएर तिनीहरूको छ्यासमिसे किसिमबाट छनोट गर्न सकिन्छ । गृहकार्य चेक गर्नका लागि विद्यार्थी छनोट गर्ने यो तरिकाले जसको पनि छनौटमा पर्न सक्ने सम्भावना हुने भएकाले विद्यार्थीहरूमा गृहकार्य गर्ने बानीको विकास हुने गर्दछ । यो तरिका अपनाउँदा पनि क्थकतझबतष्अ, उचयउयचतष्यलब,ि कतचबतषष्भम आदि तरिकाको माध्यमबाट गृहकार्य चेक गर्ने प्रक्रिया अघि बढाउन सकिन्छ ।

तेस्रो तरिकाको रूपमा विद्यार्थीहरूद्वारा विद्यार्थीहरूको गृहकार्य चेक गर्ने कार्य सञ्चालन गर्न सकिन्छ । यस तरिकाअन्तर्गत विद्यार्थीहरूले गृहकार्य गरेका कपिहरूलाई सङ्कलन गरेर चेक गर्नका लागि विद्यार्थीहरूलाई नै दिन सकिन्छ । यसरी चेक गर्नका लागि विद्यार्थीहरूलाई कपि वितरण गर्दा जेहेन्दार विद्यार्थीहरूको कपि कमजोर विद्यार्थीहरूसँग र कमजोर विद्यार्थीहरूको कपि जेहेन्दार विद्यार्थीहरूसँग पर्ने गरी वितरण गर्न सक्नुपर्दछ । यसरी चेक गर्दा जेहेन्दार विद्यार्थीहरूले त कमजोर विद्यार्थीहरूको कपि सजिलैसँग चेक गर्न सक्छ । कमजोर विद्यार्थीहरूले जेहेन्दार विद्यार्थीहरूको चेक गर्नुपर्दा भने आफूसँगै अध्ययन गर्ने साथीले त्यति राम्रो लेखेको परिवेशबाट कमजोर विद्यार्थीलाई भित्रैबाट राम्रा हुनका लागि अभिप्रेरित हुन सहयोग पुग्ने गर्दछ ।

चौथो तरिकाको रूपमा सही उत्तर मौखिक रूपमा भनेर वा पाटीमा लेखेर पनि चेक गर्न सकिन्छ । यो तरिका बस्तुगत किसिमको प्रश्नहरूको गृहकार्य चेक गर्दा बढी उपयोगी हुने गर्दछ । शिक्षकले डिक्टेसन गर्दै सही उत्तर भन्ने र विद्यार्थीहरूलाई सही लेखेको भए ठीक चिह्न लगाउँदै जाने र सही नलेखेको भए भनेअनुसार सच्याउँदै जानका लागि निर्देशन दिन सकिन्छ । यसका लागि ह्वाइट बोर्डमा सबैले देख्ने गरी सही जवाफ लेखेर पनि प्रदर्शन गर्न सकिन्छ । यसक्रममा ह्वाइट बोर्डमा लेखेको सही जवाफ ककसले लेखेर ल्याएको हो भनेर पनि हात उठाउन लगाएर हात उठाएकाहरूलाई धन्यवाद दिन सकिन्छ ।

पाँचौं तरिकाको रूपमा गृहकार्य समूहमा चेक गर्ने तरिकालाई अपनाउन सकिन्छ । यसअन्तर्गत विद्यार्थीहरूलाई समूहमा बसाइको व्यवस्था गरेर समूहका विद्यार्थीहरूको बीचमा छलफल र अन्तरक्रिया एवम् शिक्षकहरूको पथप्रदर्शनको माध्यमबाट गृहकार्य चेक गर्न सकिन्छ । यसरी समूह निर्माण गर्दा अनेकता भित्र एकता हुने गरी समूह निर्माण गर्ने कुरालाई प्राथमिकता दिनुपर्छ । यसरी निर्माण गरिने समूहमा जेहेन्दार र कमजोर विद्यार्थीहरू पनि एउटै समूहमा रहन सक्ने भएकाले कमजोर विद्यार्थी र जेहेन्दार विद्यार्थी दुवैलाई लाभ पुग्न सक्दछ । यसरी समूहको एक जना विद्यार्थीको कपि शिक्षकबाट चेक गरेर त्यसै अनुसार अरू विद्यार्थीहरूलाई आफ्नो कपि करेक्सन गर्न निर्देशन दिएर पनि गृहकार्य चेक गर्न सकिन्छ ।

छैटौं तरिकाको रूपमा आफूले विद्यालयमा सिकेका कुराहरूलाई बाबुआमा र अभिभावकसँग आदानप्रदान गर्ने कार्यलाई पनि गृहकार्यको रूपमा दिन सकिन्छ । त्यो भन्दा पनि अझ महत्वपूर्ण कुरा हाम्रो देशको साक्षर नेपाल अभियानलाई टेवा पुग्ने गरी परिवारका सदस्यहरू निरक्षर भएका विद्यार्थीहरूका लागि आफूले जानेका अक्षर र अङ्कहरू परिवारका त्यस्ता निरक्षर सदस्यहरूलाई सिकाइ उनीहरूलाई साक्षर बनाउने किसिमले पनि गृहकार्य दिन सकिन्छ । यसले गर्दा विद्यार्थीहरूमा परिवारका सदस्यहरू र बाबुआमाप्रतिको जिम्मेवारी र भूमिका निर्वाह गर्ने बानीको समेत सानैदेखि विकास गर्नका लागि टेवा पुग्ने हुन्छ ।

सातौं तरिकाको रूपमा गृहकार्यको रूपमा प्रयोगात्मक कार्य दिने कुरालाई प्राथमिकता दिन सकिन्छ । यस क्रममा विद्यार्थीहरूलाई शैक्षिक सामग्री सङ्कलन गर्ने, निर्माण गर्ने, विभिन्न नमूनाहरू सङ्कलन गर्ने, परियोजना निर्माण गर्ने, फिल्ड प्रतिबेदन तयार गर्ने आदि जस्ता कार्यलाई गृहकार्यको रूपमा प्रयोग गर्न सकिन्छ । यस किसिमका गृहकार्यहरू चेक गर्न सजिलो र सहज पनि हुने गर्दछ । यस किसिमका गृहकार्य वा परियोजना कार्यहरूले विद्यार्थीहरूमा व्यावहारिक सीपको विकास हुने, श्रम गर्ने बानीको विकास हुने र सामाजिक आचरणको विकास हुने अवस्थाको सिर्जना हुन्छ ।

आठौंं तरिकाको रूपमा गृहकार्य नगर्ने विद्यार्थीहरूको समस्याको पहिचान र समाधान गरेर पनि गृहकार्य गर्ने बानीको विकास गर्न सकिन्छ । यसअन्तर्गत गृहकार्य नगर्ने विद्यार्थीहरूले किन गृहकार्य नगरेको हो, गृहकार्य गर्दा उसलाई के कस्ता समस्याहरू झेल्नुुपर्ने स्थिति देखियो आदि सम्बन्धमा केस स्टडी र कार्यमूलक अनुसन्धान गरेर गृह कार्य नगर्ने विद्यार्थीहरूलाई गृह कार्य गर्नका लागि परामर्श प्रदान गर्न सकिन्छ । गृहकार्य नगर्ने विद्यार्थीहरूलाई गृहकार्य किन नगरेको ? गृहकार्य गर्न किन मन नलागेको ? कस्तो गृहकार्य दिएको भए गर्न मन लाग्थ्यो होला ? जस्ता प्रश्नहरू सोधेर पनि विद्यार्थीलाई मन पर्ने विषयवस्तुको पहिचान गरी तदनुरूपको गृहकार्य दिन सकिन्छ ।

सारमा भन्नु पर्दा, विद्यार्थीहरूलाई गृहकार्य बोझको रूपमा नभई सकेसम्म रमाइलोपनको अनुभूति हुने गरी दिनुपर्दछ । उमेर अनुसारका सम्पूर्ण खुसीहरू लुटिने गरी गृहकार्य दिनु हुँदैन । गृहकार्य गर्दा उसलाई आत्मसन्तुष्टि, सिकाइप्रति स्वअभिप्रेरित र आत्मविश्वासको विकास हुने गरी दिनुपर्छ । गृहकार्य छोटो समयमा सम्पन्न गर्न सकिने र प्रयोगात्मक प्रकृतिको हुन सक्यो भने त्यस्तो गृहकार्य बढी उपलब्धिमूलक हुने गर्दछ । गृहकार्य दिने भनेर अहिलेका संस्थागत विद्यालयहरूले दिए जस्तै अत्यधिक बोझ हुने गरी दिनु पनि राम्रो मानिदैन र कतिपय सामुदायिक विद्यालयमा जस्तो माथिल्लो कक्षामा गइसक्दा पनि गृहकार्य नदिनु, दिए पनि चेक नगर्नु र चेक गरे पनि पृष्ठपोषण नदिनु पनि राम्रो होइन । यसलाई विद्यार्थीहरूको रुचि, क्षमता र आवश्यकता एवम् विषयवस्तुको गम्भिरता दुवै कुरालाई मध्यनजर राखी सन्तुलित रूपमा कार्यान्वयन गर्न सकियो भने गृहकार्य एवम परियोजना कार्यको महत्व बढ्ने देखिन्छ ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहीबार