19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

संघले आयोजना गरे पनि महोत्सव हामी सबैको साझा हो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस २९, २०८०  

० तपाईंको नगरपालिकामा बाँसगढी उद्योग वाणिज्य संघले माघी मेलाको आयोजना गरेको छ । यो मेलाका सन्दर्भमा के सन्देश दिन चाहनुहुन्छ ?

बाँसगढी उद्योग वाणिज्य संघले माघीको अवसर पारेर छैटौँ बाँसगढी औद्योगिक, कृषि, पर्यटन व्यापार मेला तथा बर्दिया माघ महोत्सवको आयोजना गरेको छ । सर्वप्रथमतः म स्थानीय सरकार तथा मेरो व्यक्तिगत तर्फबाट यो मेला सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु । त्यसैगरी, माघी पर्व सबै समुदायले मनाउने पर्व भएकाले यो पर्वको सबैमा शुभकामना पनि भन्न चाहन्छु । यसलाई समृद्धिको पर्वका रूपमा हामी सबैले मनाऔँ ।

स्थानीय स्तरमा उत्पादन गरिहनुभएका विभिन्न व्यक्ति तथा संस्थाहरूलाई यो मेलामा जोडिएर आफ्ना उत्पादनको प्रचारप्रसार र बजार प्रवद्र्धन गर्नुहोेस् भन्न चाहन्छु । अर्कोतिर माघीलाई यसक्षेत्रका आदिवासी जनजाति थारू समुदायको नयाँ वर्षका रूपमा लिने गरिन्छ । यो अवसरमा थारू समुदायका विभिन्न कला, संस्कृति, सभ्यता जीवनशैली आदिबारे जानकारी प्रदान गरिनेछ भन्ने आशा मैले लिएको छु । यो आयोजना बाँसगढी उद्योग वाणिज्य संघले गरे पनि यो हामी सबैको साझा महोत्सव हो । यसमा सक्रिय सहभागी हुन र यसलाई भव्यताका साथ सफल बनाउन म आम राजनीतिक दल, संघसंस्था, व्यापारी, बुद्धिजीवीलगायत सर्वसाधारण सबैमा हार्दिक अनुरोध गर्दछु ।

संघले आयोजना गरे पनि महोत्सव हामी सबैको साझा हो। बाँसगढी उद्योग वाणिज्य संघ आफैँ पनि एउटा जिम्मेवार संस्था हो । हिजो पनि संघले यस्ता मेला महोत्सव गर्दै आएको हो । त्यसो भएर उहाँहरूले महोत्सवपछि सबैलाई राखेर यसका आर्थिक क्रियाकलापबारे सार्वजनिक सुनुवाइ नै गरेर पारदर्शिता कायम गर्नुहुनेछ भन्ने मैले आशा लिएको छु । सोही अनुसार गर्न पनि हामी उहाँहरूलाई सल्लाह सुझाव दिन चाहन्छौँ ।

० महोत्सवको मुख्य अतिथिका रूपमा रक्षा तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का आउँदै हुनुहुन्छ भनिएको छ । उपप्रधानमन्त्री यहाँ आउँदा बाँसगढी नगरपालिकाले पनि उहाँसँग नगरको विकासका सन्दर्भमा केही अपेक्षा राखेको छ कि ?

संघले आफ्नो प्रमुख अतिथिको रूपमा उहाँलाई के हिसाबले बोलायो त्यो उहाँहरूले नै जान्ने कुरा हो । यसका लागि उहाँहरू स्वतन्त्र हुनुहुुन्छ । तर स्थानीय सरकारका हिसाबले हामीले संघ, प्रदेश र स्थानीय सरकार मिलेर नै मुलुकको समृद्धिको यात्रालाई अगाडि बढाउनुपर्छ भन्ने सन्देश हामी दिन चाहन्छौँ ।

० यस्ता उच्च भ्रमणहरूबाट स्थानीय पालिकाले आफ्नो विकास र समृद्धिमा लाभ लिन सक्ने कुरामा यहाँहरू कत्तिको सचेत हुनुुहुन्छ ?

योजनाबद्ध त त्यस्तो केही छैन । तर शुभकामना राख्ने क्रममा हामीले हाम्रो पालिकाका विषयमा अवश्य केही कुरा राख्नेछौँ । त्यसमा उहाँको कस्तो प्रतिबद्धता आउँछ हेरौँ । त्यसैअनुसार हामी पछि थप कुराकानी अगाडि बढाउनेछौँ । उहाँ नेपाल सरकारका उपप्रधानमन्त्री, एक जना प्रभावशाली नेता र प्रभावशाली मन्त्री पनि हुनुहुन्छ । त्यसैले बाँसगढीको विकासमा उहाँले केही योगदान अवश्य गर्नुहुन्छ भन्ने अपेक्षा हामीले गरेका छौँ । अब स्थानीय सरकारका अपेक्षा त धेरै नै हुन्छन्, छन् । तिनलाई सम्बोधन गर्ने क्रममा उहाँले कत्तिको रुचि देखाउनुहुन्छ भन्ने कुरा हो ।

० बाँसगढी उद्योग वाणिज्य संघले यो महोत्सवको आयोजना गरिरहँदा यसले नगरको समृद्धिमा कसरी भूमिका खेलोस् भन्ने नगरपालिकाको अपेक्षा हो ?

मैले यो विषयमा संघसँग पनि विभिन्न चरणमा छलफल गरिराखेको छु । अहिले व्यापार व्यवसाय चलायमान हुन नसकिरहेको अवस्थामा यहाँको व्यापार व्यवसायलाई चलायमान बनाउने र यहाँको कृषि तथा औद्योगिक उत्पादन, पर्यटन प्रवद्र्धन, संस्कृति संरक्षणलगायतमा मेलाले महत्वपूर्ण भूमिका खेलोस् भन्ने हाम्रो अपेक्षा छ । मेलाले बाहिरबाट महँगा कलाकार ल्याएर खर्च गर्नुभन्दा स्थानीय स्तरका कलाकार र यहाँकै कला संस्कृतिको संरक्षणमा जोड देओस् भन्ने हाम्रो चाहना हो ।

० महोत्सवको सहयोगका लागि नगरपालिकाले कस्तो भूमिका निर्वाह गरिरहेको छ ?

हामीले यो पालिकाभित्रका उद्यमी, व्यापारी वा उत्पादनकर्ता जसले मेलामा आफ्ना उत्पादनसहितका स्टल ल्याउनुहुन्छ उहाँहरूलाई ५० प्रतिशत भाडा नगरपालिकाले व्यहोरिदिने व्यवस्था मिलाएका छौँ । अर्को कुरा मेलाको सम्पूर्र्ण इन्स्योरेन्सको जिम्मेवारी नगरपालिकाले लिएको छ । त्यसैगरी, हामीले इलाका प्रहरी कार्यालयसँगको साझेदारीमा बालविवाह नियन्त्र, लागूऔषध दुव्र्यसनी नियन्त्रण, घरेलु हिंसा नियन्त्रण तथा ट्राफिक सचेतना जगाउने खालका प्रचारात्मक कार्यक्रम पनि मेलामार्फत गर्दै छौँ । त्यस्तै, त्यहाँ आवश्यक पर्ने स्वास्थ्य सेवाको प्रबन्ध नगरपालिकाले नै मिलाएको छ । स्टल नै राखेर एम्बुलेन्ससहितको स्वास्थ्य सेवा त्यहाँ प्राप्त हुनेछ । आवश्कयताका आधारमा नगरपालिकाले गर्नसक्ने अन्य सहयोग त रहन्छ नै । मेलाबाट यस क्षेत्रका जनताले लाभ पाउने हरेक कुरामा हाम्रो सहयोग रहन्छ ।

प्रकाशित मितिः आइतवार, पुस २९, २०८०     8:51:33 AM  |