19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

प्राविधिक धारतर्फ योगदान दिन चाहन्छौँ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस २४, २०८०  

                                                          यम रावत
                             अध्यक्ष, निजी तथा विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)बाँके 

० प्याब्सन बाँकेले आफ्नो ३३औँ स्थापना दिवस भव्य रूपमा मनाउने घोषणा गरेको छ । यसको तयारी कसरी भइरहेको छ ?

हो, नेपालको शिक्षाको एक तिहाइ भार बोकेको निजी क्षेत्रका विद्यालयहरूको छाता संगठन निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को ३३औँ स्थापना दिवस बाँकेले कोहलपुरमा गर्न लागेको छ । यसको सम्पूर्ण तयारी हामीले पूरा गरेका छौँ ।

० कोहलपुरमा नै यो कार्यक्रम किन ?

कोहलपुर एउटा उदीयमान सहर पनि हो । यो मध्य तथा सदूरपश्चिम क्षेत्रको ढोका पनि हो । यहाँ निजी विद्यालयहरूको राम्रो उपस्थिति छ । ११ वटा प्लस टु र ५८ वटा निजी विद्यालय कोहलपुरमा छन् । निकै पहिलादेखि नै निजी विद्यालयहरूले यहाँ शिक्षाका क्षेत्रमा योगदान पनि पु¥याउँदै आएका छन् । त्यसैले पनि यसपटक बाँके प्याब्सनले आफ्नो ३३औँ स्थापना दिवस कोहलपुुरमा मनाउने निर्णय गरेको हो ।

० स्थापना दिवसका विशेष आकर्षण के–के छन् ?

हामीले यो कार्यक्रमलाई अलि फरक र विशेष ढंगबाट मनाउने विचार गरेका छौँ । विभिन्न झाँकी र बाजागाजासहित बिहान हामीले प्रभातफेरीको आयोजना गरेका छौँ । बिहान १० बजेदेखि पिपलचौतारा, रामजानकी स्कुल, न्युरोड हुँदै गोलपार्कसम्म हामीले आआफ्ना विद्यालयका ड्रेस र ब्यानरसहित प्रभातफेरीको आयोजना गरेका छौँ । ११ बजेदेखि हाम्रा औपचारिक कार्यक्रमको सुरुवात हुनेछ । कोहलपुरमा पर्यटक आकर्षित गर्ने हिसाबले निर्मित गोलपार्कलाई कार्यक्रमको भेन्यु बनाएका छौँ । यसको प्रचारप्रसार होस् भन्ने पनि हाम्रो उद्देश्य हो ।

० यो दिवसका अवसरमा शिक्षक सम्मानको कार्यक्रम पनि राख्नुभएको छ क्यारे !

हो, हामीसँग आबद्ध प्रत्येक विद्यालयबाट एक जना शिक्षकलाई सम्मान गर्ने कार्यक्रम पनि राखेका छौँ । यसबाट शिक्षकहरूमा हौसला थपिन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।

० फरक तरिकाले प्याब्सनले आफ्नो स्थापना दिवस मनाउँदै गर्दा विद्यार्थी, शिक्षक, अभिभावक तथा आम सर्वसाधारणमा के सन्देश जाओस् भन्ने छ ?

यो कार्यक्रमको मुख्य उद्देश्य भनेको कोलपुरलाई शिक्षाको हब बनाउनका लागि टेवा पुगोस् भन्ने हो । त्यसैले हामीले कोहलपुर नगरपालिकाका प्रमुखलाई नै प्रमुख अतिथि र वक्ताका रूपमा निम्त्याएका छौँ । कोहलपुरलाई शिक्षाको हब बनाउनका लागि यहाँका निजी विद्यालयले के गर्नुपर्छ र नगरपालिकाको अपेक्षा के छ भनेर मेयरबाट स्पष्ट धारणा आओस् भनेर नै यसो गरिएको हो । कार्यक्रममा हामीले विद्यार्थीका लागि विज्ञान प्रदर्शनी, सांस्कृतिक प्रस्तुतिका प्रतियोगिता पनि आयोजना गरेका छौँ ।

० नगरपालिकाबाट निजी विद्यालयहरूको अपेक्षा के हो ?

हामीले अहिलेसम्म परम्परागतबाहेकका शिक्षा अध्यापन गराउन पाएका छैनौँ । राज्यले जुन पाठ्यक्रम बनाएको छ त्यसै अनुरूप अध्यापन हुँदै आएको छ । यदि हामीलाई नगरपालिकाले अनुमति दिने हो भने हामीले प्राविधिक शिक्षामा पनि योगदान गर्न सक्छौँ भन्ने हाम्रो अपेक्षा हो । कोहलपुरमा प्राविधिक जनशक्ति उत्पादन गर्न निजी विद्यालय तयार छन् ।

० अनौपचारिक भेटमा मेयरको भनाइ के पाउनु भएको छ त ?

उहाँ यसप्रति सकारात्मक भएको पाएका छौँ । कोहलपुरलाई शिक्षाको हब बनाउने कुरामा मेयरसाब चिन्तित हुनुहुन्छ । यसभन्दा अघि पनि हामीले कोहलपुरमा एउटा विज्ञान प्रयोगशाला बनाउने कुरा गरेका थियौँ जसमा उहाँ सकारात्मक हुनुहुन्थ्यो । सायद याये कुरा उहाँले आफ्नो नीति तथा कार्यक्रममा पनि प्रस्तुत गर्नुभएको छ ।

प्रकाशित मितिः मङ्लबार, पुस २४, २०८०     7:28:57 AM  |