कल्पना पौडेल।
हो, भोगाइको दोस्रो नाम नै जिन्दगी हो । किनभने, आँसु, हाँसो, दुःख, सुख, पीडालगायत यावत कुराहरूको साथमा मिलन बिछोडका अविरल शृङ्खला भोगाइको अक्षुण्ण अङ्ग बनेर अनन्त यात्रासम्म जोडिएका हुन्छन् । यसैगरी मायाले विश्वास जगाउँछ र यही विश्वासमा सिङ्गै विश्व अडिएको हुन्छ । माया अथवा प्रेम दुई अक्षरको एक शब्द । देख्दा सानो र सरल अर्थ दिने भए पनि दुई आँखा चिम्लिएर मनन गर्दा यही शब्दमा संसारको सारतत्व लुकेको हुन्छ ।
कुनै समय यही माया–प्रेमको सारले जिन्दगीको अनगिन्ती खुसीका सौगातहरू रजनीको जीवनरूपी झोलाभरी हालिदिएको थियो । समय–समयमा तिनै तीता–मीठा विगतले सुटुक्क जिस्काउन आइपुग्छन् रजनीलाई र एकछिन् बिथोलेर जान्छन् । कहिलेकाहीँ अपार खुसीका कुयर थपेर जान्छन् । बादलका आकृति जस्तै बन्दै भत्किँदै जान्छ मन । धन, दौलत आदि भनेका जीवन सुचारु गर्ने माध्यम मात्रै रहेछन् । रजनीले निचोड निकालिन, ‘जीवनको वास्तविक खुसी त माया प्रेमले मात्रै दिने रहेछ ।’
सत्र वर्षको लहलहाउँदो उमेरमा रजनीलाई अनायास असीमित खुसीले दस्तक दिएको थियो । जतिबेला रजनी भर्खर कलेज पढ्न सुरु गरेकी थिइन् । गोरो वर्णकी पातलो कायाकृति भएकी रजनीका ठूलाठूला बदामी आँखा र हिस्सी परेको अनुहार देख्दा धीर तपस्वी पनि निःसृत बन्लान् भनेझैँ हुन्थ्यो । सायद प्रकृतिले पनि निकै फुर्सदमा कुँदेको थियो होला उनको आकृति । झन् सुरिलो र शर्मिलो बोलीले त चलेको आँधी पनि टक्क रोकिएला जस्तो हुने ।
आफूभन्दा गरिब र कमजोरलाई साथी बनाउन रुचाउने रजनीलाई लाग्थ्यो, गरिबको आत्मा निश्छल र निष्कपट हुन्छ । धनी र राम्राहरूले घमण्ड र अहम्ताका कारण मानवीय भाव गुमाइसकेका हुन्छन् । साहित्य र संगीतमा निकै लगाव हुनाले जिन्दगीको हुनाले साहित्य पढ्न मात्रै होइन, सुन्दर बान्की रचना गर्न पनि थालेकी थिइन् उनले । समयले पाइला चाल्दै दिन र महिना गरेर फेरो मारिरह्यो । यसैक्रममा आफ्नो विचार मिल्ने र आफ्नो सोचाइअनुरूपको एउटा मान्छे उनको नजरमा पर्न गयो ।
त्यो मान्छेले गरेका हरेक कुराहरू उनलाई प्रिय लाग्दै जान थाल्यो । त्यो मानिस गरिब परिवारबाट आएको राज नाम गरेको केटो थियो । राजका क्रियाकलापले रजनीको मन जित्दै गयो । रजनी राजप्रति आकर्षित हुँदै जान थालिन् । विपरीत लिंगीसँग आकर्षण हुनु प्रकृतिकै देन हो, सायद । तर रजनी र राजको घनिष्ठता शारीरिक आकर्षणका लागि नभएर अन्तरहृदयको घुलन थियो । मनसँग मन जोडिएको अलौकिक सद्भाव थियो । छुट्टै किसिमको आफ्नोपन थियो । पुरुष र प्रकृतिको साक्षात चित्र थियो ।
उनीहरूको घर पनि सुविधाजनक दूरीमा थियो । चाहेको खण्डमा भेटघाट गर्न नौरङ्गका पापड फुराउन पर्दैन थियो । हरेक भेटमा नूतन उमंग बोकेर भेट्थे उनीहरू । घण्टौँ मीठा–मीठा कुराकानी गरेर समय व्यतीत गर्थे । प्रेमाश्रुका भेलमा सँगसँगै बग्थे । प्रेमको बगैँचामा फूल बनेर सँगै मुस्कुराउँथे । उनीहरू प्रेम वर्षातको रूझानमा यसरी रुझेका थिए कि उनीहरूले आफैंलाई बिर्सिसकेका थिए । तर, उनीहरू स्वतन्त्र थिएनन् । सामाजिक बन्धनको डोरीले कसिएका थिए । अझ भन्नुपर्दा फरक शैलीको फरक जिन्दगी थियो दुवैको । रजनी थारू परिवारकी कन्या थिइन् भने राज पहाडी ब्रह्माण परिवारको । परिवार र समाजको नजरबाट ओझेल पर्दै उनीहरू भेटघाट गर्ने एउटा थलो थियो जहाँ राजले एउटा गोधूलि साँझमा मुक्तकण्ठले रजनीको सुन्दरता वर्णन गरेको थियो ।
उसै त नारी झन् मनपरेको मान्छेको बोलीमा आफ्नो प्रशंसा सुन्न पाउनु कम्तीको स्वर्णिम पल थिएन त्यो ।‘रजनी तिमी त अप्सराभन्दा नि सुन्दर देखिएकी छ्यौँ ।’ ‘ऊ त मजा मनैनके मजा आँखीले ह्यार बेर सक्कु चिज मजा जो लागथ जे ! (त्यो त सुन्दर मान्छेले सुन्दर मनको आखाँले हेर्ने हरेक कुरा सुन्दर नै लाग्छ नि !)’ रजनीले लज्जा मिश्रित भावमा भनेकी थिइन् । संसारमा सबै चिज बाँध्न सकिएला तर मन बाँध्न सकिँदैन । रजनी र राजको मन पनि बिना बन्धनको पन्छी जस्तै भइसकेको थियो । धर्तीका सारा बन्धन नाघेर खुला आकाशमा विचरण गर्न थालिसकेका थिए उनीहरू । न कसैको डर न कसैको बन्धन् । पर पर क्षितिजसम्म कावा खाना पुग्थे उनीहरू । भनौँ भने संसार भुलिसकेका थिए उनीहरूले ।
अलिअलि भएको बन्धनसमेत चुँडालेर उनीहरूले विवाह गरे । त्यसबखत राजको साथमा न आर्थिक भएको लौरो थियो न जागिर नै । पोते र सिन्दूर किन्ने पैसासमेत थिएन राजसँग । मनको राजालाई आफ्नो बनाउने हेतुले रजनीले सबै बन्दोबस्त आफैंले गरेकी थिइन् । त्यसबखत आफू सम्पन्न परिवारकी छोरी भए पनि मेरा कर्तव्य छन्, बा–आमाका सपना छन् भन्ने कुरा चटक्कै भुलेकी थिइन् । पट्टी बाँधिदिएकी थिइन् आफ्ना आँखामा । प्रेम दृष्टिविहीन हुन्छ भन्ने भनाइ साँचो रहेछ । आफ्ना सारा सुखसयल त्यागेर अनिश्चित भविष्यको गर्तमा पसिन् रजनी । तर पनि उनी खुसी थिइन् । किनभने, आफ्नो मनको राजालाई तनको राज्य सुम्पिएर सुखी र सुनौलो भविष्यको रेखा कोर्न निस्किएकी थिइन् । सम्पूर्ण त्याग गरेर नै उनलाई प्राप्तिको आभास भएको थियो ।
गाँस, बास, कपासको ठेगाना नहुँदा पनि आफूलाई संसारकै भाग्यशाली र सुखी मान्छे ठानेकी थिइन् रजनी ले । कारण, उनको साथमा राज थियो । सङ्घर्ष र उतार चढावको बाढीले छल्का हानिरह्यो जिन्दगीमा । तर, रजनी ले दुःख माननिन् , हार खाइनन् । प्रेमका निशानी छोरा र छोरी समेत थपिन पुगे । इष्टमित्र, माइती, समाज आदिले उनीहरूको प्रेमका सामु हार खान बाध्य भएका थिए । साँच्चिकै प्रेमका अगाडि युद्धको कुनै मोल नहुने रहेछ । उनीहरूको जोडी समाजमा उदाहरणीय बन्दै गएको थियो । जता जहाँ जे गरे पनि उनीहरू साथ छाड्दैनथे । रजनी र राजको सम्बन्ध अलौकिक तत्त्वले बनेको भान हुन्थ्यो थियो शायद ।
जीवन चलाउन केही ऋण धन गरेर । एउटा किराना पसल चलाएका थिए । किराना पसलले उनीहरूको गुजारा मात्रै चलेको थिएन, एकअर्कामा टाढा नबनाउन भूमिका पनि खेलेको थियो । समय क्रममा छोरा रोशन र छोरी रोजी शुक्लपक्षको चन्द्रमा झैँ बढ्दै थिए । छोराछोरीको जिम्मेवारी थपिएसँगै छोराछोरीको भविष्यको चिन्ता पनि थपिदै गयो । अब आवश्यकता पूर्ति गर्न पसलको कमाइले पुग्न छाड्यो । अनि रजनी राजलाई विदेश जान आग्रह गरिन् । राजले रजनीको कुरा सुन्दै सुनेन । सल्लाह गर्दैजाँदा राज न रजनीको कुरा मान्थ्यो न कुनै उपाय निकाल्थ्यो । कहिल्यै ठूलो स्वरले नबोल्ने उनीहरू यस विषयले कचिङ्गल गर्न थाले । अन्तत ः हार खाएर रजनी अधि विदेश जाने निर्णयमा पुगिन् । रजनीको निर्णयलाई राजले कुनै प्रतिक्रिया जनाएन ।
राज प्रतिको अगाध प्रेमले सधैँ राजलाई सुखी र खुसी राख्ने अठोट बोकेकी रजनी भने राजको अव्याक्त मनोभाव पढेर मन विग्रन्थ्यो । राज र छोराछोरीलाई छाडेर विदेश जाने निर्णय गर्नु सामान्य कुरा थिएन । बाध्यता र विवशको अगाडि जीतलाई पनि हार स्वीकार गर्नुपर्ने रहेछ । स्वाभिमान जोगाउन हरेक सङ्घर्ष र चुनौतीलाई स्वीकार गर्नुपर्ने रहेछ ।सजिलो थिएन विदेश यात्राको समय । प्राण प्यारो लोग्नेसँगको विछोड सहदै निदाएका छोराछोरी नब्यूँझाइकन घर छोडेर हिँड्नु । कम्ती पीडादायक थिएन । हिँड्ने बेलामा हजार कालीनागले एकैपटक घेरा हालेजस्तो अर्धचेत मनोभाव लिएर हिँडेकी थिइन् रजनी ।
‘छोटी छोटी लर्कापर्का घरम छोडके परदेश चल देनु हजुर दलाल के भरम कहाँ जैना ? का कर्ना ? कुछु पत्ता नै हो, मजबुरी म परिवार से सँग बैठ नही मिलल । (साना साना छोराछोरी छोडेर घरमा विदेश जान हिँडे हजुर दलालको भरमा कहाँ जाने के–के गर्ने केही थाहा छैन बाध्यताले परिवारसँगै बस्न दिएन ।)’ अस्ताउँदो सूर्य सुनौलो बिहानीको आशाले पश्चिम क्षितिजमा पसेजस्तै जिन्दगीको सुनौलो बिहानी कल्पिएर रजनी कोरिया लागिन् । आफ्ना पसिनाका हरेक बूँदमा सन्तानको भविष्य सम्झिएर रजनीले ले दुःख गर्न थालिन् । कामका हरेक पलमा, खाने गाँसमा, हिँड्ने पाइलामा सन्तानको निर्दोष चेहराले हेरिरहेझैँ लाग्थ्यो । दिन जसोतसो बिते पनि रात भने आँसुका ढिकामा साटिन्थ्यो ।
रुँदारुँदै अर्धचेत हुन्थिन रजनी । ऋणको फणा र छोराछोरीको भविष्य सम्झिएर आफूलाई सम्हाल्दै विदेशी भूमिमा पसिना बगाइरहिन् । पसिनाका बूँदमा साटिएको पैसा नेपाल पठाउने गरिन् । ‘तिमीले दुःख गरेर कमाएको पैसा समात्न मेरा हात काँपेका थिएँ’ एकदिन राजले रजनी लाई भनेका थिए । ‘आखिर जे ज्या कर्ल से फे दुख कही परथ, मन छुटी जिन करी ।(आखिर जसले गरे पनि दुःख गर्ने नै हो, मन साँघुरो नबनाउनूस्)’ रजनीले भावुक हुँदै राजलाई भनेकी थिइन् ।
विदेशी भूमि, अरूका सुन्दर जोडी साथसाथ हिँडेको देख्दा थपक्क नेपाल फर्किन मन नलागेको होइन रजनीलाई । तर पापी धनको कहरले उनलाई मन बाँध्नुपर्ने बाध्यता थियो । राज र आफ्नो प्रेमिल छाया मनमा सजाएर एक्लै मनोवाद गर्दै आत्मरतिमा रमाउथिन्, आत्माविनाको शरीर बोकेर । ‘पहिले गरिबीका दिन आधा पेट खाएर पनि कति खुसी थियौँ । भोकै काटेका रातहरू पनि आत्मीय साथी बनेका थिए । बस्ने ठाउँ नभएर दिनभर पार्क र रातभर बस बिसौनीमा गुजारेका थियौँ । बल्लतल्ल बस्ने कोठाको व्यवस्था गरे पनि कागजका कार्टुनमा सुतेर मीठो निद निदाएका थियौँ । केही नभएर पनि संसार थियो हामीसँग । संसारकै खुसी प्राणी थियौँ हामी ।’ रजनीले पुराना दिन सम्झिएर लामो सास तानिन् ।
रजनीले पठाएको पैसाले राजले जग्गा किनेर एउटा घर बनाएका थिए । परिवार त्यसै घरमा बस्न थालेका थिए । प्रवासको चार वर्षे बसाइलाई अल्पविराम लगाएर रजनी पैंतालिस दिनको छुट्टीमा नेपाल फर्किइन् । उनले सोचेकी थिइन् राज छोराछोरीलाई लिएर काठमाडौँ एरपोर्टमा आफ्नो प्रतिक्षा गरिरहेको हुनेछ, अफसोच अन्य यात्रुका अफान्तको गन्जागोल देखिन् तर आफ्नो राज र छोराछोरीलाई देखिनन् । मन अमिलो पार्दै शंकाको कालो बादलले मन छोपेर एउटा भाडाको गाडीमा आफू एक्लै घरतिर लागिन् । सन्तानको परिकल्पना र राजको प्रेमिल स्पर्शको यादले बेलाबेलामा कालो बादल फाटेर झलमल उज्यालोले चिहाउँथ्यो उनको मनमा ।
टक् टक ….।
टक् टक्, टक् टक् रोजीले ढोका खोली र उदेक मान्दै हेरी र बोली, ‘दादा को आयो ?’
‘ए ! ममी आउनुभएछ ।’ रोशनले चिन्यो र नजिक आयो । दाजुको पछिपछि बहिनी पनि आई ।
रजनीले े गम्लङ्ग अँगालो हालेर दुवै छोराछोरीका निधारमा पालैपालो चुमिन् ।
राज पर बसेर मलिन अनुहारले हेरिरहेको थियो । उनको मनले राजको सानिध्यता खोजिरहेको थियो तर राज नजिक आउन त के कस्तो छ भनेर क्षमकुशलता पनि सोधेन । तर रजनीको मन राजसँग टाँसिएर विगतका झै एकअर्कामा लीन हुन अतालिरहेको थियो । यसैक्रममा छिमेकीहरू पनि अलिअलि जम्मा भइसकेका थिए । उमेर पाकेकी एक महिलाले रजनीलाई खुट्टा देखि टाउको सम्म घोरिएर हेरिन र अर्की महिलाको कानमा खासखुस गरिन् मौका छोपेर रजनीले ‘राज’ भन्दै राजको हातमा मायालु स्पर्श गरिन् । तर राजले तुरुन्त आफ्नो हात तानेर रुखो बोली लगायो, ‘मलाई यस्तो मन पर्दैन, विदेशमा चल्छ होला यो सबैका सामु, तर यो नेपाल हो ।’
राज पर सरेर उभियो । यता रजनीले टेकेको जमिन धरमरायो । दिनहरू बित्तै जाँदा राजले आफ्नो सतित्वप्रति शङ्का गरेको आभाष पाएर रजनीलाई धेरै पीडा दियो । यस्तो परिस्थितिको कल्पनासमेत गरेकी थिइनन् रजनीले । नेपाल बसुञ्जेल राज र रजनीको मायाको दरारले अझै दुरी बढाउँदै गयो । चार वर्षसम्म विदेशमा भए गरेका दुःख र वेदनाका चाङ्ग राजलाई सुनाउँदै हात समातेर हिँडौला भन्ने सपना तुहिन पुग्यो । राज र रजनी को सुत्ने कोठा समेत अलग–अलग हुन पुग्यो । विछोड पछिको मिलनमा आ–आफ्ना अनुभव साटासाट गर्ने रहर विलाएर गयो । भनाभनका क्रममा रजनीले थाहा पाइन् , राजले उनलाई प्रेम गरेकै रहेनछ ।
रजनीका मनभरि टम्म कालो वादल भरिए । आँखामा साउन छायो । यसरी मनको………मनको पीडाले चिथोर्दा चिथोर्दै विदाको समय पनि सकियो । यसैक्रममा रजनी बिरामी परिन् । तर राजले कुनै सहानुभूति जनाएन । रजनी को मन एक तमासको भयो । एक मनले त प्रेम विनाको धनले के गर्छ र विदेश नजाऊँ जस्तो लाग्यो । तर छोराछोरीको भविष्य र जिम्मेवारीबोधले उनलाई बाध्य बनायो । रजनी का प्रेमिल शब्दले राजलाई छोएनन् । यो पैतालीस दिनको विदा नीरस नीरस भएर बित्यो । कोरिया फर्किइन् रजनी । तर स्वास्थय समस्याको कारण कम्पनीले कामबाट निकालिदियो । अब उनीसँग बस्ने ठाउँ थिएन, जागिर थिएन । मुस्किलले समय बिताउँदै थिइन् । कहिलेकाहीँ राजसँग मायालु कुराकानी गर्न खाज्थिन्, त्यसले राजलाई छुँदैनथ्यो ।
भाँचिएको मन लिएर आफ्नो सङ्घर्षले ऋण सबै तिरेर पनि निकै पैसा जम्मा भएको थियो । पैसाले मात्रै मान्छे धनी हुन नसक्ने रहेछ । राजसँगको बढेको दुरीले उनले आफूलाई निकै गरिब महसूस गरिन् । कसैको साथ र माया विनाको नीरस र खल्लो अनि रङ्गहीन जीवन भएको ठान्न पुगिन् । शरीरमा प्राण छउञ्जेल जिन्दगी जसोतसो धान्नैपर्ने रहेछ । उता बढ्दै गरेका छोराछोरीलाई मातृवात्सल्य पोख्न नपाउँदाको पीडालवे हृदय जर्जर बनाएको थियो । सन्तानसँगको अमूल्य पल गुमाएकी थिइन् उनले । राज र छोराछोरीलाई सुख सुविधा दिन सकेको सन्तुष्टिले पीडा र वेदना सहेकी थिइन् । एक्लोपनले डसेर धेरैपटक डिप्रेसनको सिकार बन्दाबन्दै पनि सम्हालिएकी थिइन् ।
एकदिन रजनीले नसोचेको खबर पाइन् छिमेकीबाट । राज कुनै केटीको मोहमा फसेको र छिट्टै सँगै बस्ने निर्णयमा पुगेको रहेछ ्र रजनीले े कमाएको पैसा समेत दु?पयोग भएको रहेछ । यो खबरले रजनीको होस् उड्यो । चारैतर्फ अन्धकार छायो । टेकेको जमिन भासियो । बोली रोकियो । शब्दविहीन बनिन् । मुटुले छाती छोडेर बाहिर निस्केला झैँ ग¥यो । अबोध बच्चाहरूको सम्झना पनि धमिलो भयो । इहलीला समाप्त पार्ने सोचिन् । फेरि फोनको घण्टी बज्यो नेपालबाट नै रहेछ फोन । खबर आयो, राज र त्यो केटी भागेछन् । पटकपटकका खबरले उनलाई अन्योल बनाइरहेको थियो । ‘राज साँच्चु भग्लक हो कलसे तै आत्महत्या ना कर, छाई छावनके लाग संघर्ष कर परथ । (राज भागेकै हो भने तैले आत्महत्या गर्नुहुँदैन रजनी, छोराछोरीका लागि सङ्घर्ष गर्नुपर्छ ।)’ मनको एउटा कुनाले भन्यो ।
राजले रजनीसँग गरेका बाचाकसम, प्रेम, विश्वास मात्रै लगेको थिएन, पसिनाको कमाइ समेत लगेको थियो । रजनी फेरि सडकमै आइपुगेकी थिइन् । रजनीको मनले आफैँलाई सोध्छ– ‘का राज पहिल रजनी ह मैया कर्ल रह त ?’ यौवनको क्षणिक प्यास मेटाउन जन्मजन्मान्तरको बाचा कसमलाई लात मार्न सक्ने राजले आफ्ना सन्तानलाई समेत अन्याय गरेको थियो । आफू जीवित छदै टुहुरो बनाएको थियो । आमाको ममताबाट टाढा रहेका अबोध सन्तानले बाबुको मायाबाट पनि विमुख हुनुपरेको थियो । केही दिनको रमझमपछि राजको धन हात पारेकी केटीले राजलाई झुटो आरोप लगाएर फसाइछ र आफू कुलेलम ठोकिछे । जमानत दिने मान्छे समेत नभएर प्रहरी हिरासतमा फसेको राजले अनाहकमा लामै समय चीसो खोरमा बिताउनुप¥यो ।
जेलबाट निस्केपछि अब राज कहाँ जाने ? घरमा कुन मुख लिएर फर्किनु ? बाहिर कतै नोकरी गर्न पनि कि त हातमा सीप हुनुप¥यो, कि अनुभव । राजले अन्ततः मुग्लान भासिने निर्णय ग¥यो र भारत गयो । आमा बाबु हुँदाहुँदै पनि रजनीका छोराछोरी टुहुरा झैँ भए । छोराछोरीलाई रजनीकी साथी गोमाले आश्रय दिएर राखेकी थिइन् । रजनीलाई गोमाले धेरै सम्झाइन् । अन्ततः रजनी कोरियाको काम छाडेर नेपाल फर्किइन । बाबुले बाटो बिराए पनि आमाले सन्तानका लागि सम्पूर्ण त्याग गर्नुपर्ने रहेछ , रजनीले सन्तानको लागि नेपाल फर्कने निधो गरेकी थिइन् ।
भारत बस्ने क्रममा राजलाई एचआइभी एड्स लागेर भौतारिँदै गरेको छ भन्ने खबर आयो । रजनी राजको हर्कत सुनेर शून्यताभित्र हराउन पुगिन् । आजसम्म पनि मनको एउटा कुनामा राजको राज्य बाँकी नै थियो आजबाट त्यो सकियो र राज प्रतिको प्रेममा घृणाको बिरुवा उम्रियो । राजलाई मात्रै होइन राजलाई चिन्न नसकेकोमा रजनीले आफैंलाई पनि घृणा गरिन् ।
कुनै साँझपख पानी परेर भर्खर रोकिएको थियो । रजनी बरण्डामा बसेर ओस्याइला फाँटमा नजर दौडाउँदै थिइन् । अचानक घर अगाडि राज देखियो । रजनीले आफ्नै आँखालाई विश्वास गर्न सकिनन् र आँखा तन्काएर हेरिन्, त्यहाँ राज नै थियो । दुब्लो न दुब्लो शरीर ख्याउटे गाला भएको राज उभिएर रजनीलाई हेरिरहेको थियो । राजको अवस्था निकै दयनीय देखिन्थ्यो । राजको अनुहार पनि कालोपत्रे जमेको भित्ता जस्तै थियो । रजनीका आँखा राजका आँखामा ठोकिए ।
आँसुले डबडब भएका आँखाले राजले हेरिरहन सकेन निहुरियो । रजनीले एकोहोरो राजलाई हेरिरहिन् । एकैछिन पछि हत्केलाले आँसु पुछेर राज गयो ।रजनी राज भएतिर गइन् तर राज त्यहाँबाट निकै पर पुगिसकेको थियो । राज फेरि फर्केर आएन । हरेक साँझ रजनी राजलाई अन्तिम पटक देखेको ठाउँ हेर्छिन् र विगतमा अल्झिँदै मन चुडाउने गर्छिन् ।