दिनभर गैरदलितको बस्तीमा काम गरेपछि बास बस्न अर्काे दलित समुदायकै बस्ती वा घरमा बास माग्न जाने गर्थें । त्यसरी नै मैले त्यहाँ दुई वर्ष काम गरेँ । जब म त्यहाँबाट आफ्नो जागिरको समयावधि सकाएर फर्कँदै थिएँ । ‘दलित र छाउ बसेको हुनाले घर नचोख्याइकन बस्नै हुन्न’ भनेको सुनेँ । त्यो वचन सुनेपछि यो ठाउँ फर्केर आउन नपरोस् भन्ने सोच्दै म त्यहाँबाट हिडेँ ।
ज्योति सुनाम
तीन सन्तानलाई हुर्काउन धौ–धौ परिरहेका बेला म चौथो सन्तानको रूपमा थपिनु बुबाआमाका लागि कम चिन्ताको विषय थिएन । त्यो समय धेरै सन्तान हुनु खुसीकै कुरा भए तापनि भूमिहीन दलित परिवारमा निद्रा नलाग्ने गरी जिम्मेवारी थपिएको थियो । हाम्रो परिवारको अत्यन्तै कमजोर आर्थिक अवस्था थियो । भूमिहीन जीवन चलाइरहेका बुबाआमालाई आफ्ना चार सन्तानलाई खान–लाउन दिन र पढाउन सजिलो थिएन । उहाँहरूले जे–जे काम पाउँछ सबै गर्नुभयो । गाउँमै बालीमा कपडा सिलाउनेदेखि अरूको मेलापातमा काम गर्न कुनै कसर बाँकी राख्नु भएन । तैपनि हामी चार जना भाइबहिनीलाई पेटभरि खान दिन, आङ ढाक्ने कपडा लत्ता दिन र पढाउन लाग्ने खर्च धान्न निकै कठिन थियो ।
विकल्पको खोजीमा २०४४ सालमा बुबाआमाले नवलपरासीबाट बसाइँ सरेर बाँके जिल्लाको कोहलपुरमा ल्याउनुभयो । कोठा भाडामा बस्न सक्ने अवस्था थिएन । निजी जग्गा किन्ने भन्ने त कल्पनाबाहिरकै कुरा थियो । त्यसैले कोहलपुरको ऐलानी टोल सुकुम्बासी बस्ती (अहिले क्याम्पस टोल)मा झुपडी बनाएर बस्न थाल्यौँ ।जीविकोपार्जनका लागि बाबाले कोहलपुरमै एउटा सानो कपडा सिलाउने पसल खोल्नुभयो । प्रायजसो पुराना उध्रेका र नयाँ कपडा सिलाउने भए पनि पुराना कपडाका काम बढी आउँदा धेरै कमाइ हुँदैनथ्यो । आमाले कोहलपुरमै पूर्व–पश्चिम राजमार्गको बस स्टपको एउटा कुनामा मकै पोल्ने र बसहरू रोकिएको बेला यात्रुहरूलाई पोलेका मकै बेच्ने काम थाल्नुभयो ।
खाना बस्नका लागि नै दिनरात मेहनत गर्नुप¥यो । म, दुई दिदी र दाइले आमालाई मकै पोल्न र पोलेका मकै बेच्न सहयोग गथ्र्यौं । विद्यालयबाट फर्केपछि आमाले पोलेको मकै पूर्व–पश्चिम राजमार्गमा गुड्ने गाडीमा चढेर बेच्थ्यौँ । कतिपय समयमा गाडी चल्दै गर्दा हतारहतारमा गाडीमा चढ्नु र ओर्लनुपर्ने हुनाले ज्यान हत्केलामा लिएर हिँडेको भान हुन्थ्यो । पूर्व–पश्चिम यात्रा गर्ने यात्रुले हाम्रो जात थाहा पाउने कुरा भएन । दश–पन्ध्र मिनेटका लागि मात्र रोकिने यात्रुले जातभात सोध्ने कुरा पनि भएन । उनीहरूले जातभात नसोधिकन हामीले बेच्ने मकै, पानी, अण्डाहरू किन्थे । गाउँघरमा भन्ने गरेजस्तो उनीहरूले हामीले छोएको खाए पनि अपसकुन प¥यो भन्न कोही आउँदनैथ्यो ।
यद्यपि, स्थानीय ग्राहक हाम्रोमा कमै आउँथे । निजी सवारीसाधन जस्तै कार र मोटरसाइकलमा यात्रा गर्नेहरू पनि कमै आउँथे । हामीले बसमा यात्रा गर्ने यात्रुलाई लक्षित गरेर व्यवसाय गरेको हुनाले खासै फरक पर्दैनथ्यो । हाम्रा व्यवसायले बिहान–बेलुकाको छाक टार्नसम्म मात्र पुग्दथ्यो । र, दुःख गरेर जोहो गरेको पैसाले विद्यालयको मासिक शुल्क तिर्ने बन्दोबस्त गथ्र्यांै । राजमार्गमा बढी चहलपहल हुने समयमा त विद्यालय नगएर नै गाडीमा मकै, पानी र अण्डा बेच्ने गथ्र्यांै । विद्यालयमा नियमितरूपमा उपस्थित नहुँदा पढाइमा असर त पर्ने नै भयो ।
सर म्याडमहरूले पनि हाम्रो पढाइका बारेमा त्यति धेरै सोधखोज गर्दैनथे । हामी हाम्रो मर्जीका मालिक थियौँ । हाम्रो पढाइ पनि ठिकठिकै थियो ।यसबाट आएको कमाइले व्यवसाय विस्तार गर्ने वा जीवनस्तर उकास्ने काम गर्न सम्भव थिएन । हाम्रो अवस्था दिन प्रतिदिन कष्टकर बन्दै गइरहेको थियो । हाम्रो अवस्थामा कुनै पनि परिवर्तन आउन सकेन । दिनभरि कमाएर बिहान–बेलुकाको छाक टार्न ठिक्क थियो ।
हामी दाजुबहिनीले आमालाई व्यवसायमा सहयोग गर्नुपर्ने भएकाले हाम्रो पढाइ राम्रोसँग अगाडि बढ्न सकेन । दाइको पढाइ कक्षा आठमै टुंगियो । ठूल्दिदीले कक्षा पाँचसम्म मात्र पढिन् । माइली दिदीले एसएलसी पास गरेर पढ्न छाडिन् । मैले जनतन गरेर १२ कक्षासम्म पढेँ । हामी सबैको अध्ययन गर्ने र राम्रा जीवन बाँच्ने रहर अधुरै रह्यो ।
गरिबी तथा जातीय विभेदको चपेटाले पढाइलाई निरन्तरता दिन रोक्यो । म १० कक्षाको सर्टिफिकेट लिएर रोजगारीका लागि भौँतारिएँ । विभिन्न संघसंस्थामा हारगुहार गरेँ । बल्तल्ल एउटा गैरसरकारी संस्थामा रोजगारी पाएँ । त्यसको कार्यालय मुगु जिल्ला सदरमुकाममा थियो । म गाउँमा काम गर्न जानुपर्ने थियो । त्यहाँ पुगेँ तर, म त्यहाँ नपुग्दै मेरो जात पुगिसकेको थियो । एक जना दलित केटी आँउदैछे भन्ने हल्ला गाउँभरि फैलिएको रहेछ । मलाई त्यहाँ बास पाउनै मुस्किल भयो । कोठा भाडामा लिएर बस्न पनि पाइनँ । त्यहाँ एउटा खाली घर थियो । त्यसको मालिक बस्ने आफ्नै घर थियो । त्यो घरको हेरचाह पनि नगरिएकाले छाना चुहिन थालेको थियो ।
म त्यस्तै घरको एउटा कोठामा दुई वर्ष बसेर । निरन्तर झरी परिरहँदा छानो चुहिएर बिस्तारा निथु्रक्कै भिज्थ्यो । त्यस्ता कति रातहरू छाता ओढेरै कटाएँ । बसेको ठाउँदेखि टाढा–टाढा गाउँमा कामको सिलसिलामा पुग्दा रात पथ्र्याे । जातकै कारणले गैरदलितको घरमा बास पाउँदिनथेँ । कि रातभर हिँडेरै आफू बसेकै ठाउँ फर्केर आउनुपथ्र्याे कि भने कुनै दलितकै घर खोजेर बास माग्नुपथ्र्याे । गैरदलित समुदाय र दलित समुदायको बस्ती बेग्लाबेग्लै ठाउँमा हुने गर्थे । दिनभर गैरदलितको बस्तीमा काम गरेपछि बास बस्न अर्काे दलित समुदायकै बस्ती वा घरमा बास माग्न जाने गर्थें । त्यसरी नै मैले त्यहाँ दुई वर्ष काम गरेँ । जब म त्यहाँबाट आफ्नो जागिरको समयावधि सकाएर फर्कँदै थिएँ ।
‘दलित र छाउ बसेको हुनाले घर नचोख्याइकन बस्नै हुन्न’ भनेको सुनेँ । त्यो वचन सुनेपछि यो ठाउँ फर्केर आउन नपरोस् भन्ने सोच्दै म त्यहाँबाट हिडेँ । कोहलपुर आएँ । एकातिर जीवन यापनका लागि गर्नुपर्ने संघर्ष । अर्कातिर आत्मसम्मानको मुद्दा । त्यसमाथि सबै सन्तानले भन्दा धेरै पढेको हुनाले बाबाआमाको मप्रतिको भरोसा । यी बाध्यता र समाजको अपमानजनक व्यवहारले म मानसिक रूपमा विक्षिप्त बन्न पुगेँ । म कोहलपुरमा बेरोजगार बसेँ, केही महिना । त्यसपश्चात, म अछामको मंगलसेनमा अर्काे एउटा गैरसरकारी संस्थामा सामाजिक परिचालकको रूपमा काम गर्न पुगेँ । त्यहाँ कोठा भाडामा बस्ने व्यवस्था त भयो । तर दलित भन्ने थाहा पाएपछि उनीहरूले घरमा रहेको पानी ट्याङकी छुन नहुने सर्त राखे ।
घरभन्दा अलिक पर २–३ मिनेटको दूरीमा रहेको धाराबाट पानी थापेर चलाउन भने । मलाई उनीहरूको सर्त मन परेन । त्यो मप्रति भएको जातीय विभेद थियो । तर नयाँ ठाउँ भएकाले कानुनी प्रक्रियामा जान पनि डर लाग्यो । तर म उनीहरूको सर्त मानेर त्यहाँ बसिनँ । जहाँ पुगे पनि जातीय विभेद तथा छुवाछुतले डामेका डामहरू बोकेर म पुनः कोहलपुर फर्कें । आमासँगै हामीले पहिलेदेखि गर्दै आएको मकै पोलेर बेच्ने काममै म फर्किएँ । मकै पोल्ने, अण्डा, बदाम र पानी बेच्न थालेँ । त्यसबाट कमाएको १५ हजार रूपैयाँले एउटा ठेला किनेँ । ठेलामा फलफूल बेच्ने कामतिर लागेँ । ठेलामा फलफूल व्यवसाय गर्न थालेपछि यो राज्यसँग मेरो साक्षात्कार हुन थाल्यो ।
नगरपालिकाले सडक व्यवसाय र फुटपाथ व्यापारीहरूलाई व्यवस्थित गर्ने योजना ल्यायो । तर त्यो योजना दीर्घकालीन थिएन । हामीले तिरेको करसमेत कुनै व्यक्तिको नाममा संकलन हुन्थ्यो । हामीले तिरेको कर सरकारकै कोषमा जम्मा हुनुप¥यो र हाम्रो व्यवसायका लागि सरकारी तवरमै बन्दोबस्त होस् भनेर हामी संघर्षमा उत्रियौँ । तर हाम्रो संघर्षमार्फत् राखिएको मागको सुनुवाइ भएन । बरू उल्टै हाम्रो व्यवसायलाई नै खुम्च्याइयो । मैले स्थानीय तहमा शक्तिशाली मानिएका व्यवसायी र व्यापार प्रवद्र्धनसँग सम्बन्धित निकाय तथा व्यक्तिहरूको विरोधकर्ताको संज्ञा पाएँ ।
चिनजानकै स्थानीय ग्राहकहरूले समेत प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जातीय विभेद तथा छुवाछुत गर्ने गर्छन् । ठेलामा फलफूल व्यवसाय गर्ने आफ्नै सहकर्मीहरूले पनि दमाईको पसलमा फलफूल किन्नु हुँदैन भनेर ग्राहक भड्काउने गर्छन् । फलफूल व्यवसायमा दलित समुदाय कम मात्रामा छन् । अन्य समुदायका व्यवसायीबाट सहयोगको अपेक्षा गर्ने आधार मसँग छैन ।मेरा ग्राहक प्रायः दलित समुदायका र राजमार्गमा यात्रा गर्ने अपरिचित यात्रु हुन्थे । राजमार्गको छेउछाउमा ठेलामा फलफूल बेचबिखन गर्न रोक लगाइएसँगै मेरा अपरिचित यात्रु ग्राहकसँगको व्यापार कटौती भयो । ग्राहक नहुँदा आम्दानी घट्यो । व्यवसायलाई थप विस्तार गर्ने आर्थिकलगायतका अरू अवस्था अनुकूल छैन ।
म बाँचेको समाजमा जकडिएको जातीय विभेदका कारणले सामान्य लेखपढ गरेका दलित समुदायका म जस्ता युवालाई रोजगारी र व्यवसाय दुवैमा कठिनाइ छन् । रोजगारी पाए पनि कोठा तथा बास पाइँदैन । व्यवसाय गर्दा दलित समुदायको सेवा लिन तथा सामान खरिद गर्न गैरदलित समुदाय हिचकिचाउँछन् । जातीय विभेद तथा छुवाछुतका कारण बृहत समुदायसँगै बसेर काम गर्न सक्ने अवस्था पनि छैन ।
लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पनि दलित समुदायलाई मानव भएर बाँच्ने र रोजगार तथा पेसा–व्यवसाय गर्न पाउने अधिकार छैन ।
अब त यस्तो लाग्न थालेको छ– के साँच्चै यो देश दलित समुदायका लागि पनि हो र ?!
(लेखक दलित रिडरद्वारा सञ्चालित सामाजिक न्यायका लागि लेखन कार्यक्रमका सहभागी हुन् ।)
प्रतिक्रिया दिनुहोस्