बाँके ।
भूकम्पका कारण बझाङमा २ हजार ४ सय ४५ घर क्षतिग्रस्त भएका छन् । जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार क्षतिपछि स्थानीय तहको समन्वयमा संकलन भएको विवरणअनुसार उक्त संख्यामा निजी घरहरूमा क्षति पुगेको हो ।
जिल्लालाई केन्द्रविन्दु बनाएर असोज १६ देखि २५ गतेसम्म पटक–पटक आएको भूकम्पका कारण ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।
भूकम्पका कारण एक जना महिलाको मृत्यु भएको थियो भने २१ जना घाइते बनेका थिए । यस्तै ६ हजार ४ सय ८४ घरमा आंशिक क्षति पुगेको छ । ३ हजार ५ सय २४ घरमा सामान्य क्षति पुगेको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।
उनका अनुसार १ सय २३ सरकारी कार्यालयमा पूर्ण क्षति भएको छ । १ सय ५२ सरकारी कार्यालयमा आंशिक क्षति पुगेको छ । जलविद्युत आयोजनालगायतका अन्य ५० वटा अन्य संरचनामा क्षति पुगेको छ ।
अझै क्षतिको तथ्यांक संकलनको काम जारी रहेको र केही तथ्यांक संकलन भएर प्रशासनका आइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर स्थानीय सरकारका जनप्रतिनिधिको रहोवरमा पहिलो चरणको तत्कालीन राहत वितरणको काम भइरहेको उनले बताए ।
विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले प्रभावितहरूलाई खाद्यान्न सामग्री, त्रिपाल, ओढ्ने ओछ्याउनेलगायतका सामानहरू दिइरहेका हुन् । ‘राहत वितरणको कामलाई प्रभावकारी र गुनासोरहित बनाउन जिल्ला विपद् व्यवस्थापनको बैठक बसेर स्थानीय तहका जनप्रतिनिधिलाई जिम्मेवारी दिएका छौं,’ प्रभावितको तथ्यांक दैनिक बढिरहेको छ, थप भएका विवरणअनुसार बैठक बसेर राहत वितरणको काम अगाडि बढाइने छ,’ पाण्डेयले भने ।
दोस्रो चरणमा दीर्घकालीन राहत वितरणका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली बझाङमा स्थलगत निरीक्षणका लागि पुगेको थियो । दसैंपछि यकिन तथ्यांक संकलन गरेर सोही अनुसार स्थलगत निरीक्षण गरी घर मर्मत र घर बनाउने काम प्राधिकरणको समन्वय हुने प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्