शिवु खनाल । देउखुरी (दाङ) ।
लमही नगरपालिका–५ स्थित अजम्मरी सामुदायिक वन क्षेत्रभित्र डम्पिङ साइडमा लगाइएको आगोबाट निस्किएको धुवाँले बस्ती र जंगलमाथिको आकाश ढाकिएको छ । धुवाँ र दुर्गन्धले स्थानीयबासी पीडित बनेका छन् । दुर्गन्धले गर्दा स्थानीय नाक मुख छोपेर हिँड्न बाध्य भएका छन् ।
आगो लगाउनुअघि खासै दुर्गन्ध नआएको भए पनि जलेपछि दुर्गन्ध बस्तीसम्मै फैलिएपछि स्थानीय पीडित बनेका छन् । जनघनत्व बढी रहेको लमही बजार क्षेत्रबाट दैनिक निस्कने फोहोरलाई लमही नगरपालिकाले नजिकैको अजम्मरी सामुदायिक वनमा फाल्दै आएको छ । करिब दुई दशकदेखि नगरपालिकाले यहाँ फोहोर फाल्दै आएको छ ।
जलेको फोहोर र दुर्गन्धले लमही बजारआसपासका सडकमा सहजै हिँड्न सक्ने अवस्था छैन । प्रदूषणले गर्दा चालक र यात्रुलाई नाक मुख बन्द गरेर डम्पिङ साइट क्षेत्र पार गर्नुपर्ने बाध्यता छ । धुवाँले लमही आसपासका सबै बस्ती प्रदूषित बनेका छन् । बुधबार वन क्षेत्रमा लागेको डढेलो डम्पिङ साइटको अव्यवस्थित ढङ्गले फालिएको फोहोरको थुप्रोमा लगाइएको हो ।
लमही बसपार्क, आसपासका बस्ती, पूर्वपश्चिम राजमार्ग, सार्वजनिक स्थललगायतका विभिन्न क्षेत्रमा धुवाँको मुस्लोसहित दुर्गन्ध फैलिएको छ । दुर्गन्धसहित मानव बस्तीमा फैलिएको पिरो धुवाँले स्थानीय बिरामी पर्न थालेका छन् ।
आँखा पोल्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, बान्ता हुने जस्ता समस्या देखिएको लमहीका स्थानीय प्रमोद गौतमले बताए । फोहोरको डङ्गुरको भित्रसम्म पुगेको आगो अहिले झन् बढेको छ । नगरपालिकाले डम्पिङ साइट व्यवस्थित गर्न नसक्दा दिनानुदिन समस्या बढ्दै गएको प्रभावित क्षेत्रका स्थानीयले बताएका छन् ।
आगो लगाएपछि निस्किएको दुर्गन्धित धुवाँले रातमा बस्तीमा बसी नसक्नुभएको स्थानीय सुर्दशन थापाले बताए । थापाले भने, ‘दुर्गन्ध र धुवाँको मुस्लोले बस्तीलाई ढाकिदिँदा सास फेर्नसमेत अप्ठ्यारो हुने गरेको छ ।’
अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले प्रदूषणले सास्ती भएको जानकारी गराउँदै नगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको जानकारी दिए । नगरपालिकामा समस्या राख्दा छिट्टै व्यवस्थापन हुने आश्वासन पाउने गरेको उनले बताए । ‘आश्वासन पाइन्छ,’ उनले भने, ‘तर नगरपालिकाबाट काम कहिल्यै भएन ।’
चराचुरुंगी र वन्यजन्तुको चहलपहल घट्यो
प्रदूषणले वनमा पस्नेबित्तिकै सुनिने चराचुरुङ्गीको चिरबिर अजम्मरी सामुदायिक वनमा सुनिन छाडेको छ । रंगीबिरंगी चरा र वन्यजन्तुको चहलपहल हुन छाड्दा वनको रमाइलो घटेको वन्यजन्तु अनुसन्धानकर्ता चिरञ्जिवी खनालले बताए ।
अहिले दिनहुँजसो वन क्षेत्रमा आँगो बढ्दै गएपछि चराचुरुंगी र वन्यजन्तुको चहलपहल देखिन छाडेको उनको भनाइ छ । ‘मयूर त जताततै देखिन्थे, यसो खोल्सीतिर पस्नेबित्तिकै थरिथरिका चराको चिरबिर सुनिन्थ्यो,’ उनले भने, ‘केही दिनयता यी चरा देखिँदैनन् । त्यसैगरी वनमा बाक्लै रहने खरायो, दुम्सी, फ्याउरो र स्याल पनि हराएर गएका छन् ।’
डम्पिङ् साइडमा लगाइएको आँगोका कारण आफ्नो बासस्थान वरपर डढेलो बढ्दै गएपछि चराचुरुंगी र वन्यजन्तु कतिपय डढेलाको चपेटामा परी मरेका तथा अरू ज्यान जोगाउन अन्तै गएपछि वन सुनसात भएको उनले बताए ।
फोहोर व्यवस्थापनको प्रतिबद्धता अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले फोहोर व्यवस्थापन गर्न माग गर्दै नगरपालिकाको ध्यानाकर्षण गराएको छ । समूहले लमही नगरपालिका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रप्रसाद श्रेष्ठ तथा वडाध्यक्षहरूलाई ध्यानाकर्षण गराइएको हो ।
ध्यानाकर्षणपश्चात बिहीबार डम्पिङ साइडको स्थलगत अवलोकन गर्दै कार्यबाहक नगर प्रमुख योगीले त्यस क्षेत्रलाई व्यवस्थित गर्नका लागि कार्यपालिका बैठकबाट निर्णय गरेर अगाडि बढ्ने बताए ।
प्रतिक्रिया दिनुहोस्