टक्रक्कै दुई दशक भएछ हामीले तराईँमा घर बनाएर बसेको । त्यतिबेला हाम्रो घर भएको टोलमा एकाध अरु घरहरु थिए । हाम्रो घर वरिपरि केही बाँझा र केही खेती गरिएका खुला चौरहरु थिए । घर बनाएर बसेको सुरुको वर्षको भाद्रमा एकराति ठूलो वर्षा भयो । विहान वर्षा रोकिएपछि बाहिर निस्केर हेर्दा त हाम्रो घर महासागरको बीचमा रहेको टापूमा भएजस्तो देखिन्थ्यो । आँगन लगायत वरिपरिको भू–भाग जलमग्न थियो । भर्खर घर बनाएर बसेको । छरछिमेक पनि खासै नभएको । एकछिन् त उक्त परिवेशले अत्यायो पनि । कतै मानव समुदायबाट टाढा भएर बाँच्न बाध्य रविन्स क्रुसोको जस्तो जिन्दगी त हुने होइन भन्ने पनि लाग्यो । तथापि त्यसो भने भएन । आधा दिन जस्तो उक्त समस्याको सामना गर्नुपरेपनि दिउँसो घाम लाग्यो र मैले मेरो घर वरिपरि देखेको पानीको महासागर पनि महासागरतिरै हानियो र मेरो घर पहिलेकै अवस्थामा देखियो ।
अब भने त्यस्तो छैन । घरहरुले टोल भरिएको छ । केही बाँकी बचेखुचेको जमीनमा समेत वर्षेनी घर निर्माण गरेर सकिदैछन् खाली ठाउँहरु । मानिसहरुसँग परिचय पनि हुदैन त्यत्ति । सबै आ–आफ्नो दुनियामा सयर गरिरहेका हुन्छन् । अनुहारहरु हेर्दा सयर भन्दापनि शास्ती खेपिरहेका हुन् की झैँ लाग्छ । मानिसहरु समीपमा भएपनि हार्दिकता र सामिप्यता देखिदैन । सायद घरहरु थपिएपछि मेरो बस्ती पनि शहर भएछ क्यारे । महाकवि देवकोटाले भने झँै अनुभूति हुन्छ – ‘शहर र गाउँमा जम्मा दुइटा फरक छन्, शहरमा घरहरु नजिक हुन्छन्, मन टाढा हुन्छन् । गाउँमा घर टाढा हुन्छन्, मन भने नजिक हुन्छन् ।’ यदाकदा मलाई पनि यस्तै अनुभूति हुने गर्दछ । बस्तीमा घरहरु बाक्लिए पनि मनहरु पातलिएका छन् । यत्तिसम्म कि कसैलाई टोलछिमेकमा असजिलो भयो भने पग्लिने मन र अघि बढ्ने हातहरुको अभाव छ । बरु यस्तै यस्तै बेला घरमा भएका गेटहरु बन्द गरिन्छ र सबै कुरा ध्यान दिएर सुनेको भए तापनि केही नसुनेको र केही बोध नभएको नाटक मञ्चन गरिन्छ । कोरोना कालमा त झन मानिसहरुको यो पाराले चुली नाघ्यो ।
–जीतबहादुर शाह
कतिपय मानिसहरुले भवन र घरलाई एउटै किसिमले बुझ्ने गर्दछन् । शब्दकोशहरुमा समेत भवन र घरलाई तात्विक भिन्नता हुने गरी अथ्र्याइएको पाइदैन । तथापि सारभूत रुपमा यी दुवै शब्दलाई फरक किसिमले बुझ्ने गरिन्छ । भवनलाई अङ्ग्रेजीमा ‘हाउज’ भन्ने गरिन्छ भने घरलाई अङ्ग्रेजीमा ‘होम’ भन्ने गरिन्छ । भनिन्छ –‘भवन इट्टा र बीमले बनेको हुन्छ भने घर आशा, विश्वास र सपनाहरुले बनेको हुन्छ ।’ विद्वानहरुले भनेका छन्– ‘जहाँ हाम्रा कथाहरुको आरम्भ हुन्छ त्यो भनेको घर हो न कि भवन । अर्थात प्रेम, आशा र सपनाहरुको आरम्भ हुने थलोको नाउ भनेको घर हो ।’ यस सम्बन्धमा विलियम हेन्सले भनेका छन् – ‘हामीले यदि कतै वास्तविक स्वतन्त्रतालाई स्टोर गरेका छाँै भने त्यो भनेको घर हो । किन भने घरमा हामी आफूलाई मन लागेका जे–जस्ता कुराको पनि अनुभूति र सम्पादन गर्ने अवसर पाउछौं ।’ यस सम्बन्धमा अष्ट्रेलियन कवियत्री रनता सुजुकिले भनेकी छन् – ‘भवन भनेको त्यो हो जहाँ म श–शरीर बस्छु तर मेरो घर भनेको त तिम्रो आँखा हो ।’ यसरी नै कतिपय मानिसहरुले घर भनेको स्थान होइन यो त एउटा अनुभूति हो भनेर पनि ब्याख्या गरेका छन् ।
भवनको कुरा गर्दा दरबार, महल, बंगला लगायत कति ठूलो वा कति सानो संरचना भन्ने कुरालाई मध्यनजर राखि जिज्ञासाहरु जाग्दा रहेछन् । घरको कुरा उठ्दा भने कति खुशी वा कति दुःखी भन्ने कुराहरु उठ्दा रहेछन् । भनिन्छ – ‘घर त्यो हो जहाँ प्रेमले बास गर्छ, सम्झनाहरुको सिर्जना हुन्छ, मित्रहरुलाई सदैव स्वागत गरिन्छ र हासोखुसीले कहिल्यै साथ छोड्दैन ।’ अनिता बेकरको भनाइ छ – ‘तिमीले आफ्नो भाग्यको खोजीको लागि घर त त्याग्नु पर्छ नै । तर जब तिमी आफ्नो भाग्य भेट्नेछौ तिमी घर फर्किने छौँ र आफ्नो भाग्य आफ्नो परिवारसँग शेयर गर्नेछौं ।’ अनिता बेकरको यो भनाइले यति बेला यो पंक्तिकारलाई गौतम बुद्धको सम्झना आइरहेको छ, जसले आफ्नो भाग्य अर्थात ज्ञानको खोजीका लागि घर छोडेर हिडेँ र उक्त ज्ञान वा भाग्य प्राप्त गरेपछि पुनः घरपरिवार र समाजमा फर्किएर आफूले सिकेर आएको ज्ञानको प्रचारप्रसार गरे । जसलाई हामी अहिले गौतम बुद्धको दर्शन भनेर अध्ययन र आत्मसात गरिरहेका छौं ।
मैले देखिरहेको कटुसत्य भनेको हिजोआज मेरो बस्तीमा मात्र होइन शहरका सबै बस्तीहरुमा भवनहरु धमाधम निर्माण भइरहेका छन् । कहाँबाट आउछ भवन बनाउने उर्जा, स्रोत र सम्पत्ति ? थाहा छैन । तथापि करोडौं रकम खर्च गरेर महलहरु निर्माण भइरहेका छन् । अहिले आर्थिक मन्दी भएको अवस्थामा बाहेक हरेक वर्ष मेरो बस्तीमा मात्रै एकैपटक बारह पन्ध्रवटा भवनहरु निर्माणाधीन अवस्थामा हुन्छन्,सधैं । अरु कुनै बस्ती र टोलमा गयो भने पनि त्यो टोल पहिले जस्तो हुदैन । भवन थपिएकै कारणले आफन्त अर्थात पहिले पुगेको घर पहिचान गर्न समेत मुश्किल मुश्किल पर्छ । यसरी भवन थपिदँै गर्दा पनि विद्धानहरुले व्याख्या गरेका घरहरु भने भत्किेन क्रममा देखिन्छन् । मान्छेको खुशी र प्रेम उत्पादन गर्ने घरहरु, हार्दिकता र मानवताको जग भएका घरहरु र जिउने आशा, सपना र जीजिविषाका सिढि भएका घरहरु अब बस्तीमा घट्ने क्रममा रहेको अनुभूति हुन्छ यो पंक्तिकारलाई ।
मिडिया, पत्रपत्रिका, सामाजिक सञ्जाल र युट्युबहरुमा हिजोआज समाजमा भएका अनगिन्ति फेहेरिस्त हेर्न, पढ्न र सुन्न पाइन्छ । ती मध्ये मलाई लाग्छ, अधिकांश विषय र दृश्यहरु घर भत्किएका घटनाहरुसँग सम्बन्धित हुने गर्दछन् । प्रेम र हार्दिकताका घर भत्किएका घटनाहरु । आशा, सपना र समुन्नतिका घर उजाडिएका घटनाहरु । अनि घरभित्रैपनि विध्वंश, विनास र नरसंहारका कुकर्महरु झाँगिएका घटनाहरु । कतै छोराबुहारीहरु लागेर आफूलाई जन्म दिने एवम् आफू बसेको घरको जग बसाउने बाबुआमालाई नै घरबाट निकालेर बृद्धाश्रमतिर पठाएका सन्दर्भहरु सुन्न पाइन्छ । कतै जन्मदिने बाबुआमाले नै आफूले जन्म दिएका सन्ततीहरुलाई नै हत्या गरेका एवम् जिउदै सडकमा बेवारिसे छोडेका सन्दर्भहरु देख्न पाइन्छ । कतै पतिले पत्नीलाई र पत्नीले पतीलाई धोका मात्र होइन ज्यानै लिएका घटनाहरु सुन्न पाइन्छ । प्रायः यी सबै अधिकांश प्रपञ्चहरु घरमै भइरहेका हुन्छन् । यस अर्थमा सिमेन्टले होइन कि माया, प्रेम र हार्दिकताले जडान गरिएका घरहरु भत्किरहेका छन् र सनातन देखि घरभित्रै ठडिएका मानवताका यमानका पर्खालहरु पनि ढल्दै गरेको अनुभूति भइरहेको छ ।
घर भनेपछि भर मान्थे मानिसहरु र त्यो भर अहिले पनि मान्न छाडेका छैनन् । तथापि अहिले घरको भर मान्नेहरु द्विविधामा छन र एउटा भिन्नै प्रकारका आशंका, सङकट र संशयको सामना गरिरहेका छन् । किन कि घरभित्रैबाट घरभित्रैको मानिसलाई सखाप पार्नका लागि आवश्यकतानुसार घरबाहिरका मानिसहरुको समेत सहयोग लिएर घरभित्रकै मानिसले षडयन्त्र गरिरहेका छन् । ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गा भन्ने उखानलाई अघि सारेर कुनै जमानामा मानिसहरुले एउटाको भर अर्को ठानेर जिउने गर्थे । तर आज समय फेरिएको छ । आज हरेक मानिसअरु सबैलाई सोत्तर बनाएर आफूमात्रै हराभरा हुने चक्करमा छ । त्यसकारण उसले अरुका विरुद्ध षडयन्त्र गर्दछ र उसका विरुद्ध पनि स्वाभाविक रुपमा अरुले षडयन्त्र गर्दछन् । यस प्रकारका षडयन्त्रहरु घरभित्रैबाट सुरु हुने गरेका छन् । त्यसकारण कुनै समयमा माया, स्नेह र विश्वासको भरमा चलेका घरहरु अहिले भरबिनाका भएका छन् । यसरी भर बिनाका शहरका घरहरुमा माया, सहयोग र सद्भावको अभाव छ । त्यसैले भवनहरु निर्माणहरु भइरहँदा पनि हाम्रा भावनात्मक घरहरु भत्किने क्रममा छन् ।
अहिलेका मानिसहरु सोच्छन् कि धन भनेको सबै थोक हो । हरेक समस्याको समाधान धन अर्थात रुपैया पैसालाई ठान्दछन् । यत्ति सम्मकी पत्नीको माया पनि धनपैसामा देख्दछन् । हुन्छ पनि त्यस्तै । पत्नीले पतिलाई होइन कि पतिले कमाउने धनसम्पतिलाई प्राथमिकता दिन्छन् । यत्तिसम्म कि पतिलाई छोडेर पतिले कमाएको सम्पत्तिलाई मात्र बोकेर अर्कैलाई पति बनाएर हिड्छन् । पति पनि त्यस्तै छन् । सिस्नोपानीका हास्य कलाकार अर्जुन पराजुलीले भने झैँ आफ्नी पत्नीले भनेको मान्दैनन्, अरुकी पत्नीले भनेको भने रिठ्ठो नविराइ खुरुखुरु मान्दछन् । यो सबैको कारण यो पंक्तिकारले माथि उल्लेख गरे झैँ भौतिक बिलासिता र धनसम्पत्तिको थुप्रोमा मानिस रमाउन चाहनु हो । सत्य भने त्यो होइन । जीवनमा सही आनन्द लिनका लागि आर्थिक स्थिति होइन कि मानसिक स्थिति राम्रो हुनुपर्दछ । दुःख र खसी त हाम्रा मानसिक सन्तान हुन् । मानसिक स्थिति मात्रै राम्रो र सकारात्मक भइदियो भने धेरै मानिसहरुले आफूसँग उपलब्ध साधन र स्रोतहरुबाटै असीमित खुसी पाउन सक्छन् ।
आज कतै पनि चयन छैन । महाशक्ति राष्ट्रका राष्ट्राध्यक्षहरु समेत खुसी र आनन्द छैनन् । उनीहरुले नै आफूलाई केही–केही नपुगेभंmै गरी अरुमाथि गिद्धेदृष्टि लगाइरहेको अवस्था देखिन्छ । आनन्द र खुसी सम्पत्तिका निम्ति रुने कराउनेलाई होइन कि सम्पत्तिलाई उचित किसिमले सदुपयोग गर्नेलाई हुन्छ । खुसी सम्पत्तिलाई लक्ष्य एवम् मालिक बनाउनेलाई होइन कि सम्पत्तिलाई साधन अर्थात दास बनाउनेहरुलाई हुन्छ । खुसी भनेको यत्ति धेरै र उत्ति धेरै भनेर जनाउने अंकसँग होइन कि अनुभूतिसँग गाँसिएको हुन्छ । आज मानिस अंकको पछि दौडिएको छ । त्यसैले त खुसी विभाजित र विखण्डित भएको छ । त्यसैले त आज घरमा खुसी छैन । किन भने त्यो घर नै प्रेम र आशाका इट्टाहरुले बनेको हुदँैन ।
आज एउटै आस्था र राजनीतिक दलभित्र पनि काटाकाटको स्थिति छ । आफ्नै दलको एउटा नेताले त्यही दलको अर्को नेतालाई सिध्याउनका लागि षडयन्त्रका तानाबाना बुन्छ र अन्ततः सिध्याउछ पनि । मलाई त लाग्छ, हामी यदि शान्ति र समुन्नति चाहन्छौ भने प्रथमतः हाम्रो घरका पर्खाल र बीमहरु विश्वास र सद्भावले बनेका हुनुपर्दछ र त्यसको प्लाष्टर माया र स्नेहले गरिनुपर्दछ । घर भनेको घरमात्र होइन । टोल र गाउँ भनेको पनि घर हो । समाज र देश भनेको पनि घर हो । राजनीति दल त झन् आजकौ राजनैतिक पद्धतिमा एउटा ठूलो घर हो । त्यसैले यी सबै घरहरु भत्किनु हुदैन, बरु समुन्नत हुदै जानुपर्दछ । यसैमा हाम्रो शान्ति, समृद्धि र समुन्नति निर्भर छ न कि निर्माण भइरहेका इट्टा र सिमेन्टहरुका भवनहरुमा ।
प्रतिक्रिया दिनुहोस्