नेपालगन्ज ।
पश्चिममा धेरै विमानस्थललाई समेत उपयोग हुने गरी नेपालगन्ज विमानस्थलमा मौसमी जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको छ । नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विभागको सहकार्यमा उक्त प्रणाली सञ्चालनमा ल्याइएको हो ।
नेपालगन्जबाट हुँदै आएको विभिन्न गन्तव्यका उडान अघि मौसमी जानकारी दिनका लागि यो डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनका अनुसार यो प्रणालीमार्फत धनगढी, महेन्द्रनगर, सुर्खेत, शान्तिपुर, टीकापुर, सल्ले, लमहीलगायत २० ठाउँको मौसमी जानकारी लिन सकिने उनले जनाए ।
‘इनरुट वेदरको जानकारी लिनका लागि पहिला पनि संयन्त्र थियो । तर यो पाइलट प्रोजेक्टअन्तर्गतको डिस्प्लेमार्फत सर्वसाधारणले थप प्रभावकारीरुपमा जानकारी लिन सक्नेछन्,’ प्रवक्ता निरौलाले भने, ‘अब सुर्खेत, जुम्ला, डोल्पालगायतका गन्तव्यतर्फ उडान अघि मौसमको जानकारी दिन थप सहज हुने भएको छ ।’
कर्णालीको हब विमानस्थलको रुपमा रहेको यो विमानस्थलको क्षमता विस्तार गर्दै प्राधिकरणले अतिरिक्त २५ सय मिटर धावनमार्ग विस्तार गर्न लागेको छ । करिब तीन अर्ब रुपैयाँको लागतमा यो विमानस्थलको टर्मिनल भवनसहित यात्रु सुविधा लक्षित पूर्वाधार विस्तारको काम भइरहेको छ । यसका लागि शर्मा एण्ड कम्पनीले ठेक्का पाएको प्राधिकरणले जनाएको छ ।
हाल १५ सय मिटर लम्बाइ धावनमार्ग रहेको यो विमानस्थलमा विभिन्न वायुसेवा कम्पनीका एटीआर–७२ सिरिज जहाजले नियमित उडान गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्