बाँके ।
कोहलपुर नगरपालिका–१२ चप्परगौडीबाट प्रहरीले एक सय १६ ग्राम ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेको छ ।
बर्दिया बढैयाताल गाउँपालिका–७ का २१ वर्षीय विशाल सिंह ठकुरी, कोहलपुर नगरपालिका–११ का १८ वर्षीय निर्जन ढकाल र बढैयाताल गाउँपालिका–७ का २८ वर्षीय विक्रम सिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
पश्चिमतर्फबाट चलाई ल्याएको भे१३प २७३ नम्बरको मोटरसाइकल सडक छेउमा फलफूल खरिद गर्न लागिरहेको अवस्थामा उनीहरुलाई खानतलासी गर्दा ब्राउनसुगर भेटिएको थियो । विशालले चलाइ रहेको मोटरसाइकलका पछाडि निर्जल बसेका थिए ।
उनीहरुको साथबाट एक सय १५ ग्राम सात सय ८० मिलिग्राम र निर्जन ढकालले कानमा लुकाइ राखेको दुई सय २० मिलिग्राम लागुऔषध ब्राउनसुगर, तीनवटा मोबाइल, नौ हजार आठ सय रुपैयाँ र एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लागुऔषध भारतको बलई गाउँबाट विक्रमले ओसारपसारमा संलग्न रहेको भन्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्