अनौपचारिकरूपमा भारु सटही गर्दा नेपालीहरूले एक सय रूपैयाँको एक महिनाअघिसम्म एक सय ६६ रूपैयाँसम्म तिर्नु पर्ने गरेकोमा अहिले यो दर घटेर एक सय ५५ सम्म आइपुगेको छ । सीमावर्ती भारतीय बजारका व्यवसायीले समेत नेपाली रूपैयाँमै जोड दिन थालेका छन् । भारतीय रूपैयाँ लिनेहरूले समेत एक सयको एक सय ५५ नेपाली रूपैयाँ दिन्छन् ।
बीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालगन्ज र सीमावर्ती भारतीय बजार रूपैडिहामा भारतीय रूपैयाँको तुलनामा नेपाली रूपैयाँको माग बढेको छ । नेपाली रूपैयाँ भारुसँग पहिलेको तुलनामा केही बलियो देखिएको हो । एक महिनायता नेपाली रूपैयाँको माग बढ्दै गएर नेपाली रूपैयाँ बट्टादरमा गिरावट आएको व्यवसायीहरू बताउँछन् । अनौपचारिकरूपमा नेपाली र भारतीय रूपैयाँको सट्टादरलाई ‘बट्टा’ भन्ने गरिन्छ ।
सामान्य अवस्थामा भारतीय एक सय रूपैयाँको नेपाली एक सय ६० रूपैयाँ हुन्छ । तर, अनौपचारिकरूपमा भारु सटही गर्दा नेपालीहरूले एक सय रूपैयाँको एक महिनाअघिसम्म एक सय ६६ रूपैयाँसम्म तिर्नु पर्ने गरेकोमा अहिले यो दर घटेर एक सय ५५ सम्म आइपुगेको पाइएको
छ ।
रूपैडिहा निवासी स्थानीय विकास पाण्डे एक महिनायता भारुको मूल्य घटेर अहिले एक सय ६० आसपास पुगेको बताउँछन् । ‘अहिले त कतिपयले ४०, ६० पैसामात्रै बढी लिएर नेपाली पैसा लिइरहेका छन् । हामी पनि अचम्ममा परेका छौँ,’ पाण्डेले मिसन टुडेसँग भने ।
यता नेपालगन्जमा भारु सटहीको कारोबार गर्दै आएका टीकाजंग शाह अहिले नेपालगन्जमा एक सय ५७ रूपैयाँसम्मका भारु सटही भइरहेको आफूले जानकारी पाएको बताउँछन् । ‘कतिले एक सय ५५ मै पनि भारु दिएको भन्ने सुनिन्छ,’ शाहले भने ।
आफूहरूले एक सय ६० भन्दा तल दिन नमिल्ने भएकोले अहिले भारु सहटीको कारोबार ठप्पप्राय रहेको उनले बताए । ‘यस्तो अवस्था १७, १८ वर्षको अनुभवमा पहिलोपल्ट देख्दै छु । भारु रूपैयाँ सटही गर्न कसैले मानिरहेको छैन । नेपाली रूपैयाँको माग धानिनसक्नु छ । हाम्रो त यही कारणले कारोबार पनि छैन जस्तै छ,’ शाहले भने ।
सामान्य अवस्थामा कुनै मुद्रामा समान आयात धेरै गर्नुपर्ने भएमा वा फाइदा हुने समान आयात गर्नुपर्ने भएमा उक्त मुद्रा समान खरिद गर्ने पक्षले महंगोमा किन्न लालायित हुन्छन् । अहिले भारु नेपालीका लागि सस्तो हुँदै जानु र भारतीयका लागि नेपाली रूपैयाँ महंगो हुँदै जानुका पछाडि नेपालबाट कुनै वस्तुको खरिद गर्न भारतीयहरू लालायित छन् भन्ने अर्थमा बुझ्नुपर्ने जानकारहरू बताउँछन् ।
यसका साथै नेपालगन्जमा क्यासिनोका कारण पनि नेपाली रूपैयाँको माग बढेको हुनसक्ने व्यापारीहरू बताउँछन् । एक व्यवसायीले अवैद्यरूपमा चाइनिज सुनको कारोबार हुन थालेकोले नेपाली रूपैयाँको माग बढेको सुन्नमा आएको बताए । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले भने बट्टादर घटेको विषयमा अनभिज्ञता प्रकट गरे ।
उनले यसबारेमा जानकारी पाएपछि आवश्यक सतर्कता भने अपनाइएको बताएका छन् । ‘हामीले बुझ्दा हाम्रो तर्फबाट गर्नुपर्ने त्यस्तो कुनै काम देखेनौँ । यद्धपि नाकामा यसले हुनसक्ने शंकास्पद गतिविधिमा विशेष ध्यान दिन निर्देशन चाहीँ दिएको छु,’ राठौरले भने ।
भारतीय रूपैयाँ सटहीको बट्टादरमा पूर्वका सीमा नाकामा पनि यस्तै स्थिति रहेको पाइएको छ । पूर्वका सीमावर्ती भारतीय बजारमा पनि बट्टादर घटेर एक सय ५५ मा झरेको उल्लेख छ । यसका पछाडि यी नाकाबाट चिनियाँ सुन र गाँजाको तस्करी भइरहेको हुनसक्ने आशंका व्यक्त गरिएको छ ।
नेपालीलाई भारु साट्न सकस
भारतबाट कमाई गरेर फर्किनेहरूले अहिले नेपालगन्जमा भारु साट्न सकस झेलिरहेका छन् । बजारमा भारु कसैले लिन मन नगर्ने हुँदा उनीहरू सहटीका लागि भौतारिने गरेका पाइएको छ । ‘हातमा भारुको मुठा लिएर आएका थिए । हामीसँग पनि त्यति नेपाली रूपैयाँ थिएन । साट्न सकेनौँ । बैंकमा पनि साटिदिएन भन्ने गुनासो गर्दै थिए,’ भारु सटहीको कारोबार गर्दै आएका टीकाजंग शाहले भने ।
नेपालगन्जदेखि भारतसम्म यातायात सेवा दिँदै आएका खगेन्द्र बिसीले पनि पछिल्ला दिनमा भारु नसाटिएपछि धेरै नेपालीहरू समस्यामा रहेको बताए । ‘हामीकहाँ आउँछन्, साटिदिनुप¥यो भन्छन् । हामीसँग पनि भारु थुप्रिएर बसेको छ । नेपाली रूपैयाँ छैन । धेरै समस्या छ अहिले,’ उनले भने ।
भारतीय रूपैयाँका सामू नेपाली रूपैयाँ बलियो भएपछि सीमावर्ती बजार पुग्ने नेपाली उपभोक्तालाई भने फाइदा भइरहेको छ । भारुको दर सस्तो भएपछि भारतीय बजारमा सामान पनि पहिलेको तुलनामा सस्तो पाइन थालेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जिवी ओलीका अनुसार यसको असर व्यवसायीहरूलाई भने त्यति धेरै छैन ।
आयात निर्यातमा यसले कुनै असर नगर्ने भएकोले व्यवसायीहरूलाई यसको असर नपरेको उनले बताए । ‘रूपैडिहाबाटै आयात हुने र नगदमा कारोबार हुने भएको अवस्थामा फरक पर्ला । तर आमरूपमा आयात निर्यात एलसीबाट हुने भएकोले व्यवसायीहरूलाई त्यति असर छैन,’ ओलीले भने । तर यहीबेला भारतीय बजारमा सस्तो सामान पाइने भएपछि नेपाली उपभोक्ताहरू थप बाहिरिने अवस्था रहेको छ ।
‘विदेशीले नेपाली रूपैयाँ होल्ड गर्ने हुनै सक्दैन’
नारायणप्रसाद पोखरेल
सहप्रवक्ता, राष्ट्र बैंक
नेपाल राष्ट्रबैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल भने भारतमा नेपाली रूपैयाँको माग बढ्ने र उनीहरूले नेपाली रूपैयाँ जम्मा गर्ने हुनै नसक्ने बताउँछन् । उनले बरू राष्ट्रबैंकले कहिलेकाँही सीमावर्ती शाखाहरूबाट भारु सहटीको प्रवाह घटबढ गर्नसक्ने र त्यस्तो बेला बजारबाटै सटही बढ्ने बताए ।
अहिले के भइरहेको हो भन्नेबारेमा राष्ट्रबैंकले बुझिरहेको बताउँदै उनले नेपाली रूपैयाँ बलियो भएको हो भनिहाल्न नमिल्ने बताए । ‘अहिलेको अवस्थामा किन सस्तो दरमा भारु पाइन थालेको हो भन्नेकुरा स्थानीय स्तरमै बुझ्नुपर्ने हुन्छ ।
तर सीमाक्षेत्रबाहेक भारतमा नेपाली रूपैयाँका कुनै कारोबार नै नहुने भएकोले उनीहरूले नेपाली मुद्रा होल्ड गरेर राख्दैछन् भन्ने कुरा हुन सक्दैन,’ पोखरेलले भने ।